–सरस्वती महरा
भनिन्छ, वैज्ञानिक युगको सुरुवात कहिलेदेखि भयो भन्न सकिन्नँ । तथापि, इतिहासमा पहिलो वैज्ञानिक भनेर थेल्सको नाम उल्लेख भएको पाइन्छ । थेल्स प्राचीन ग्रिकको समृद्ध शहर मिलेटस्मा २५ सय वर्षअघि जन्मिएका थिए । थेल्सको योगदानलाई वैज्ञानिक र दार्शनिक रूपमा मान्ने गरिन्छ । सम्भवतः उनी नै पहिलो दार्शनिक पनि थिए । थेल्स व्यापारी थिए तर उनी राजनीतिज्ञ, गणितज्ञ र ज्योतिर्विद् पनि थिए । थेल्सबारे भन्ने गरिन्छ, प्राचीन ग्रिसको कुनै एक ठाउँमा सूर्य ग्रहण हुनुभन्दा अघि नै त्यसको मिति र समय उनले गणना गरिसकेका थिए रे ! स्थानीय मानिसहरूलाई सूर्य ग्रहणदेखि भयभीत नहुन र ग्रहणपछि फेरि पहिलेकै अवस्थामा सूर्य देखिने छ भन्ने कुरामा पनि उनले आश्वस्त गराएका थिए रे ! नभन्दै उनको कुरा सही साबित भएको भनिन्छ । थेल्स ईश्वरबिनाको विश्वको अवधारणालाई मान्थे । उनी पृथ्वीमा भएका सबै चिजहरू पानीद्वारा बनेका हुन् भन्ने कुरामा विश्वास गर्थे । उनी आफूले अवलोकन र निरीक्षण गरेर पत्तो लगाइएका चिजहरूको मात्र कुरा गर्थे । यसरी जीवन, जगत् र प्रकृतिलाई हेर्ने, बुझ्ने कुरामा थेल्स भौतिकवादी थिए भन्ने बुझिन्छ ।
थेल्सको करिब २०० वर्षपछि ग्रिक एथेन्समै सुकरात जन्मेका थिए । ग्रिसमा एक महान शिक्षकका रूपमा स्थापित सुकरात कुनै स्कुल, महाविद्यालय र विश्वविद्यालयका शिक्षक वा प्राध्यापक भने थिएनन् । तथापि, उनले पश्चिममा जगत्को बौद्धिक जीवन एवं वैचारिक क्षेत्रमा हलचल मच्चाइदिए । भनिन्छ, सुकरात खालि खुट्टै हिँड्थे रे ! बाटा, गल्ली, चोक र सडकहरूमा भेटेजति मानिसहरूसित दर्शन र ज्ञानका कुराहरू गरी हिँड्थे रे ! सत्यको खोजी गर्ने र सत्यसित साक्षात्कार गर्ने र गराउने कुरालाई सुकरात जीवनको आनन्द ठान्थे । विद्वान्हरू सुकरातलाई घुमन्ते दार्शनिक भन्न रुचाउँछन् । प्लेटोले आफू सुकरातको शिष्य भएको र विशेष ‘सुकरातको युगमा आफू जन्मिएकामा आफ्नो जीवनको सर्वाधिक सुख र गौरवपूर्ण विषय’ भएको (सुकरातः अब बायोग्राफी, पुण्यप्रसाद प्रसाईं, पृष्ठ : १८) उल्लेख गरेका छन् । सुकरात एथेन्सका महान दार्शनिक एनेक्सागोरसका शिष्य थिए । एनेक्सागोरस नास्तिक थिए ।
ग्रिक दर्शनको इतिहासमा एनेक्सागोरसको भूमिका वस्तुको गतिसम्बन्धी अवधारणालाई लिएर महत्त्वपूर्ण मान्ने गरिएको छ । एनेक्सागोरस संसारको मूल के हो भन्ने कुरा खोज्थे । प्लेटोका शिष्य प्रतिभाशाली अरस्तु एनेक्सागोरसको बौद्धिकताबाट असाध्यै प्रभावित थिए । अरस्तु सुकरातको चरित्र र व्यक्तित्वलाई आदर्श रूप मान्छन् । सुकरात जीवनको निरीक्षण र परीक्षण गरिनुपर्ने कुरामा जोड दिन्छन् । उनी जुन जीवन समीक्षाको कसीमा खरो उत्रन सक्दैन, त्यो जीवन जिउनयोग्य छैन भन्छन् । तथापि, प्रसव कष्टकर भएजस्तै सत्यसित साक्षात्कार गर्ने विषय पनि निकै कष्टकर हुने भन्छन् । जीवनको मूल सार अनि मर्म उनी आफूलाई चिन्ने कुरालाई मान्छन् । उनी भन्छन्, ‘मैले आफ्नो सारा जीवनमा आफूलाई चिन्ने प्रयत्न गरेँ ।’ (ऐजन, पृष्ठ : २७) ।
सुकरात मानव जीवन र मानव जीवनको मूल्य–सार्थकता र औचित्यमा नै दर्शन, ज्ञान र सत्यको औचित्य निहीत छ भन्ने कुरा मान्थे । आफूभन्दा अघिका प्रकृतिलाई जीवनको मूल ठान्ने प्रकृतिवादी दार्शनिक एवं भौतिक तत्त्व र प्रकृतिलाई नै मूल मान्ने आफ्ना गुरु एनेक्सागोरसभन्दा छुट्टै सुकरात, ‘मानवता’लाई जीवनको मूल ठान्ने मानवतावादी दार्शनिक थिए । उनको दर्शनका मूल सार र आदर्श, मानवता र सत्यमा निहीत थिए । उनी त्यसैमा नै सौन्दर्य देख्थे । त्यही आदर्शका लागि सुकरातले निरंकुश सत्ताको विरुद्ध संघर्षमा स्वेच्छाले नै आफ्नो जीवनको आहुति दिए । सुकरातको मानव जीवनभित्रबाट सत्य, ज्ञान एवं दर्शनको साक्षात्कार गर्ने र उद्घाटन गर्ने अन्तरसंवाद वार्तालापीय, वाद–विवाद–संवादको पद्धति द्वन्द्वात्मक रहेको बुझिन्छ । माक्र्सवादी दर्शनको कुरा गर्दा ह्गेलको द्वन्द्ववादी पद्धतिभन्दा अघि जानुपरे अरस्तु र सुकरातसम्म पुग्नुपर्ने छ । त्यस्तै, साहित्य, कलाको क्षेत्रमा होमरका कविताहरू र विशेष ‘इलियड’ (महाकाव्य)मा बर्बर युगको उन्नत अवस्थाले आफ्नो विकासको चरम शिखरमा पुगेको र उक्त बर्बर अवस्थामा उत्पादनको के, कसरी विकास भएको थियो भन्ने कुरालाई बुझ्न होमरका काव्यहरू महत्त्वपूर्ण ऐतिहासिक साक्ष्य/प्रमाणको रूपमा रहेका एंगेल्सले भनेका छन् ।
उनले ‘होमरका महाकाव्यहरू र सम्पूर्ण पुराणको विरासतलाई लिएर युनानीहरूले बर्बर युगदेखि सभ्यताको युगमा प्रवेश गरेको कुरा बताएका छन् (एंगेल्स ः परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति, पृष्ठ ः ३३) । यस प्रकार दर्शन, ज्ञान, विज्ञानको विकासको सापेक्षतामा कला, साहित्यले पनि विकास गरेको बुझिन्छ । सभ्यताको प्रारम्भिक इतिहासमा मानवका सरल, सहज, स्वाभाविक भावोद्गारहरू मौखिक एवं श्रुति परम्पराका रूपमा विकास भएका बुझिन्छ । पश्चिमी लोकजीवनका आख्यान एवं गीतहरूको संयोजनको फलस्वरूप लोकगाथा अथवा ‘ब्यालेड’बाट इलियड, ओडिसी जस्ता महान कृतिहरूको रचना भएको हो भन्ने पश्चिमा विद्वान्हरूको भनाइ छ । यी दुवै महाकाव्यहरू ग्रिसेली लोकगीत र पुराणका भण्डार तथा पश्चिमा साहित्यका र विश्वकै उत्कृष्ट रचनाहरू भएका विद्वान्हरू मान्छन् ।
संसारलाई यति विशिष्ट महान् रचनाहरू दिने र आफ्नो उत्कृष्ट कलाको माध्यमबाट एउटा सिंगो युगको बयान गर्न सक्ने महाकवि होमर तारानाथ शर्मा र कतिपय विद्वान्हरूको अनुमानमा घुमी हिँड्ने गाइने थिए रे ! यसरी भनौं, प्रकृति र जीवनबाट प्रेरित, उत्साहित, सरल साधारण जीवन व्यतीत गर्ने तत्कालीन बुद्धिजीवी, दार्शनिक, कलाकारहरू सामाजिक जीवनमा महान, असाधारण र भव्य थिए । विज्ञान, दर्शन र कला, साहित्य मानव जीवन, व्यवहार अनि प्रकृतिको काखमा स्वाभाविक अनि सहज ढंगमा हुर्किएको बुझिन्छ । असलमा जीवनसँगको संघर्षको क्रममा, प्रकृतिसितको संघर्षको क्रममा अथवा जीवन व्यवहार अनि सत्यको खोज गर्ने आवश्यकतामा विज्ञान, दर्शन, इतिहास एवं कला, साहित्यको प्रादुर्भाव भएको बुझिन्छ । त्यसैको सार अनि संश्लेषित रूपको छुट्टै व्यावहारिक अभिव्यक्ति संस्कृति र राजनीति भएको बुझ्न सकिन्छ ।
निश्चय पनि ती सबैको आधार एवं कारक रूप भने तत्कालीन समाजको अर्थनीति वा आर्थिक उत्पादन सम्बन्ध नै मूल र प्रमुख रहेको बुझ्न सकिन्छ नै । अतः तत्कालीन उत्पादन सम्बन्धमा आधारित त्यही रूपको सामाजिक चेतनाका विविध रूपहरू विज्ञान, दर्शन, इतिहास, कला, साहित्य, राजनीति एवं संस्कृतिलाई बुझ्न सकिन्छ । इतिहासलाई त्यही अनेक विविध रूपहरूको एकमुष्ट, एकगठ सार, संश्लेषित अभिव्यक्ति बुझिन्छ । सो विज्ञान, दर्शन, साहित्य, कला, राजनीति र संस्कृतिका साथै इतिहासको ज्ञानको आवश्यकता पनि मानव जीवनलाई अपरिहार्य हुँदै छ । मानव इतिहासलाई हेर्दा प्रकृतिको सर्वश्रेष्ठ उपज मानव, आरम्भमा पनि पशु जीवनको तुलनामा धेरै गुणा अगाडि देखिन्छ । आगोको आविष्कार गर्ने आदिम जंगली मानव यो धर्तीमा पहिलो वैज्ञानिक र आविष्कारक थिए । घमाइलो घामको न्यानो, उष्ण र शुभ्र स्पर्शलाई सबैभन्दा पहिला अनुभूत गर्ने, बिहानीको रिमरिमे उषा किरणमा रमाउने, आकाशबाट पानी खस्दा आकाश, अन्तरिक्ष र पानीको मूल खोज्ने पहिलो दार्शनिक आदिम जंगली मानव नै थिए ।
सौन्दर्यबोधी चेतनाको सम्पूर्ण रूपले विकास नभएको अवस्थामा पनि, सुनसान शून्य आकाशमा ताराहरू झिल्मलाएको देख्दा व्यग्र उत्कण्ठा आवेगसहित उल्लासित र रोमाञ्चित हुनु, जुनेली आकाशमा उदाएको जूनको स्निग्ध सुन्दरतासित, उजेलिएको धर्तीको सुन्दरता र चहकलाई देखेर जीवन अनि जीवनको सुन्दरताबारे बोध गर्ने सबैभन्दा पहिलो सौन्दर्यबोधी सौन्दर्य चिन्तक ती आदिम जंगली मानिस नै थिए । त्यसो र जीवनबोधी सौन्दर्यको अनुपम उद्गार र अभिव्यक्ति स्वरूप ती जंगली मानिसले नै सर्वप्रथम सुस्तरीसँग गीत जस्तो केही गुनगुनाए र कविता जस्तो केही बोले होला र यो धर्तीमा पहिलो ‘आदिम कवि’ जन्मिए होलान् । यसरी साहित्य, कला, सौन्दर्य दर्शनका पहिलो पारखी पनि ती जंगली मानिस नै भए होलान् । यसरी सभ्यताको युगको सुरुवात हुनुभन्दा धेरै अघि नै मानव जीवनको प्रथम प्रहरमा आदिम जंगली मानवको उपस्थिति कुनै दुर्भाग्यपूर्ण दुर्घटना वा संयोग मात्र नभएर त्यो जीवन र प्रकृतिकै लागि आधारभूत पहिलो अप्रतिम शर्त अनि आवश्यकता भएको बुझिन्छ । त्यति मात्र होइन, आजपर्यन्त सर्वशक्तिमान् कहल्याइएका, देवता र ईश्वरलाई जन्माउने पनि तिनै आदिम जंगली मानिस नै थिए । ती आदिम मानिसहरूले भयमुक्त गरेर आफैंलाई अभयदान दिन देवता र ईश्वरलाई जन्माएका थिए । देवता र ईश्वर यसरी आदिम मानवका आदिम चेतनाका उपज, ती तर आदिम जंगली मानवले आफ्नो समस्याको हल आफैंद्वारा गरेका महती उदाहरण र आदिम इतिहासका बालसुलभ सुन्दर प्रमाणहरू हुन् ।
आधुनिक मानवले आफ्ना आदिम जंगली पुर्खाहरूले आफूलाई भयमुक्त गराउन जन्माएका देवता र ईश्वरहरू, आफ्ना पुर्खाहरूले इतिहासलाई दिएको आदिम धरोहरका विरासत र प्रमाणहरू हुन् भन्ने कुरालाई अझै विश्वास गर्न सकिरहेका छैनन् । इतिहासमा भौतिक मानवले जन्माएको पराभौतिक सामग्रीलाई इतिहासमा उचित र सम्मानित ठाउँ दिनुपर्ने कुरामा आधुनिक मानव अझै विश्वस्त बन्न सकिरहेका छैनन् । यद्यपि, संसार जहिले पनि परिवर्तनको अवस्थामा छ । त्यसैको सापेक्षतामा मानव विवेक पनि प्रगतिशील परिवर्तनको पक्षमा छ । मानवका ज्ञान, चेतना उत्पादन सम्बन्ध सोहीअनुसार नै हुने देखिन्छ । यद्यपि, जुनसुकै समाजको विकासलाई गति दिने, उत्पादन सम्बन्ध परिवर्तनशील र गतिशील विकासको प्रक्रियामा हुनुले मानवीय ज्ञान चेतना पनि परिवर्तनशील विकासको गतिशील अवस्थामा भएको बुझ्न सकिन्छ । आदिम जंगली मानिसकै परिवर्तनशील स्वरूप आधुनिक मानव भएको पनि बुझ्न सकिन्छ । प्रकृतिको उषाकालदेखिकै प्रकृतिको दुर्लभ उपज मानिस, जंगली आदिमकालदेखि नै निरन्तर जीवनसंघर्ष र जीवन व्यवहारको क्रममा, सामाजिक विकासको निरन्तर गतिशील प्रकियामा खारिँदै गइरहेको छ । यस रूपमा मानव ज्ञान, चेतना र विवेक उत्तरोत्तर अझै परिवर्तन, विकास, प्रगति अपेक्षित र अग्रसर रहेको छ÷बुझिन्छ ।