२०८१ मंसिर २० गते बिहिवार / Dec 05 , 2024 , Thursday
२०८१ मंसिर २० गते बिहिवार

बढ्दो त्रास

ADV
२०८१ मंसिर १८ गते ०६:१५
बढ्दो त्रास

–युवराज संग्रौला

कार्यकालको अन्तिम समयमा, बाइडेनले युक्रेनलाई आणविक मिसाइल प्रयोग गर्ने अधिकार दिए । यसलाई हेर्दा, अमेरिकी हतियार व्यापारीको तेस्रो विश्वयुद्ध सुरु गर्ने लालसा पूरा हुने सम्भावना बढेको छ । ट्रम्पका छोराले ट्वीटबाट युद्ध व्यापारीहरूको आलोचना गर्दै भनेका छन्, ‘ट्रम्पलाई सत्तामा पुग्न नदिन बाइडेन र उनका मान्छे तेस्रो विश्वयुद्ध सुरु गर्न चाहन्छन् ।’

अमेरिकालाई उसको भूगोलको सहयोग छ । २ वटा महासागरको बीचमा ऊ सुरक्षित छ भन्ने उसको सोच छ । उसको प्रभुत्ववादको एउटा कारण यो पनि हो । यही कारणले हो ऊ जेलेन्स्की बोकेर तेस्रो विश्वयुद्धको खेलमा छ किनकि उसलाई युरोप र रसिया दुवै ध्वस्त पार्नु छ ।

युरोपेली पूर्वउपनेवशवादीहरू मूर्ख छन्, उनीहरू ‘कुहिरे छाला’लाई आफ्नो मान्छन् । यी आरोपहरू संसारभरिका मानिसले लयाइरहेका छन् । यो युद्ध सुरु भयो भने दक्षिण कोरिया, अरब, इजरायल र युरोपमा बसेका नेपालीको हालत के होला ? के नेपालको परराष्ट्र मन्त्रालयलाई यस्ता कुरा सोच्ने पनि ज्ञान छ ?
अमेरिका छिमेकी र विश्वका अन्य देशहरूचाहिँ अभागी भएजस्तो छ । मेक्सिको अमेरिकाको नाकमुनि छ तर उसले सन् १८४६ मा आफ्नो भूमि मात्र गुमाएन, आज पनि अनेक पीडा भोग्नुपर्छ । क्यालिफोर्निया एक जमानामा मेक्सिको थियो तर उसबाट खोसियो ।

भनिन्छ, बिचरा ! मेक्सिको भगवान्बाट अतिटाढा छ तर दुर्भाग्य ! अमेरिकाको अतिनजिक छ । शीतयुद्धताका अमेरिकाले दक्षिण अमेरिकामा राज्य विप्लवका अनेक घटना गरायो । निर्वाचित सरकार लडाएर निरंकुश सत्ता स्थापना ग¥यो । बोलेर कसैको केही लागेन । 

ठूला प्रभुत्ववादी देशको छिमेकी भएपछि कमजोर छिमेकीको स्वतन्त्रता जहिले पनि खुम्चिँदो रहेछ । हामीले भन्दा बढी अरूले के भोगेका होलान् र ! हिजोअस्ति मेक्सिकोका एक सांसदले भनेका थिए, ‘मेक्सिकोले ब्रिक्सको सदस्य कहिल्यै हुन पाउने छैन ।’ यता, नेपालको हालत हामीलाई थाहा नै छ । के देखियो दोस्रो विश्वयुद्धपछि भने, संसारको नियम प्रभुत्ववादी राष्ट्रले लेख्ने कुरा रहेछ किनभने उनीहरू जबर्जस्ती गर्न सक्छन् । त्यसैले अहिले तेस्रो विश्वयुद्धको बादल लागेको छ जगत्मा ।

एउटा प्रश्न हाम्रो अगाडि छ । अमेरिकालाई लाग्यो, मेक्सिकोले ब्रिक्सको सदस्य बन्नु हुन्न, तब मेक्सिकोले बन्नु हुन्न । अमेरिकालाई मेक्सिकोमाथि दबाब दिने अधिकार छ भने रसियालाई युक्रेनले नेटोको सदस्य बन्नु हुन्न भन्न किन नपाउने हो ? के मेक्सिकोले ब्रिक्सको सदस्य बन्न पाउनुपर्छ भनेर रसियाको सेना मेक्सिको आउन दिन्छ ? दिँदैन । अनि, अमेरिका किन युक्रेन गएको होला ? यस्तो कुरा सोच्न विवेक चाहिन्छ ।

रसियाको मिलिटरी बेस अमेरिकाले सहँदैन भने युक्रेनलाई अमेरिकाको मिलिटरी बेस बनाउने अमेरिकी चाहनाको आधार के हो त ? किन बाइडेन मिसाइल हान्न उक्साइरहेका होलान् त ? 

यो युद्ध सुरु हुनु हुने थिएन । तर, युक्रेनलाई नेटो गठबन्धनभित्र राख्ने पश्चिमी दबाबले युद्ध सुरु भयो । अब आणविक युद्धको संघारमा विश्व पुगेको छ । शक्तिशाली देशहरूलाई उनीहरूले चाहेझैं आफ्नो ताकत प्रयोग गर्न सजिलो छ । बाइडेनलाई लाग्छ, रसियाले युक्रेनमा अमेरिकी बेस स्वीकार गर्नै पर्छ । अन्यथा, रसियाले नेटोसँग लडाइँ गर्नै पर्छ ।

बाइडेन र उनका सहयोगीलाई लाग्छ, नेटो देशहरूको व्यापक सहयोगमा युक्रेनले रसियालाई हराउने छ । र, जित्नेको इतिहास लेख्न सकिन्छ । त्यसैले बाइडेनको शिथिल दिमाग ठान्छ, उनको विजेताको इतिहास लेखिने छ । अतः बाइडेन अन्तिम महिनामा इतिहास रच्न चाहन्छन्– लाखौं मानिसको ज्यानको मूल्यमा ।

तर, यस्तो होला जस्तो छैन । कुनामा पुर्‍याएर कुटिएको रसिया आफ्नो अस्तित्वका लागि ‘मरता क्या नहीं करता’को अवस्थामा छ । ४० वटा देशका हतियार र पैसा उसको विरुद्धमा खन्याइको छ । यस्तो अवस्थामा रसियालाई हराउन उनले सक्छन् जस्तो लाग्छ । तर, कति निर्दोष मानिसले ज्यान दिनुपर्ने हो ! विश्वयुद्धको यो अवस्थाको खुलेर विरोध गरौं ।

ADVADV

सम्बन्धित खबर

Advertise