–लोकनारायण सुवेदी
प्रत्येक परिवर्तनकारी मोडमा युवाहरूको नै नेतृत्वकारी भूमिका हुने गर्छ । इतिहासलाई केलायौं भने समाजलाई नयाँ दिशातिर लैजान, नयाँ विचार र दृष्टिकोण युवाहरूले नै दिएका पाइन्छ । वास्तवमा कुनै पनि समाजमा बृहत्तर र सूक्ष्मतम् परिवर्तनको बिँडो उठाउने र जोखिम मोल्ने काम युवा पिँढीबाट नै भएको छ ।
हुन पनि युवामा विशेषगरी २ किसिमका महत्त्वपूर्ण गुणहरू हुन्छन्, पहिलो– युवामा यस्तो ऊर्जा हुन्छ कि उसले कुनै नयाँ कुरा गरेर देखाउने उत्साह र उत्सुकता राख्छ । दोस्रो– कुनै मानिस युवा पिँढीमा प्रवेश गर्दै गर्दा अपवादलाई छाडेर, सामान्यतः जीवनमा त्यतिका धेरै हन्डर, ठक्कर उसले खाएको हुँदैन । त्यतिका बढी निराश बनेको पनि हुँदैन कि कुनै नयाँ काम गर्ने जाँगरै मरेको होस् र प्रयास नै नगरोस् । यी २ गुणले विशेषतः युवालाई परिवर्तनको संवाहक बनाएको हुन्छ ।
विश्वमा कुनै क्रान्ति या आमूल परिवर्तनको आवश्यकता महसुस हुँदा त्यतिबेला युवाहरूले नै मोर्चाको नेतृत्व लिन्छन् । गन्तव्यसम्म पुर्याउँछन् । चाहे त्यो राजनीतिक मोर्चा होस्, चाहे आर्थिक मोर्चा होस्, चाहे सामाजिक या सांस्कृतिक मोर्चा नै किन नहोस् ।
युवा पिँढीको उत्साहप्रद स्फुर्ति, कार्य गर्ने शौर्य र सदिच्छालाई यदि सही दिशा निर्देश र अवसर मिल्छ भने त्यतिबेला परिवर्तन र अग्रगमनका लागि यो पिँढीले धेरै अभूतपूर्व कार्यसम्पादन गरेर समाजको नेतृत्व गर्न सक्छ । इतिहासलाई केलाउँदा यसका थुप्रै उदाहरण भेटिन्छ । यद्यपि, युवा पिँढीलाई गलत दिशातिर धकेल्ने अवस्था बन्यो भने त्यसले ठूलो विनाश पनि ल्याउन सक्छ ।
नेपालको सन्दर्भमा इतिहासलाई केलायौं भने विगतदेखि अहिलेसम्म विशेषतः युवा पिँढीले मुलुकको अस्तित्व कायम राख्न र परिवर्तनको आन्दोलनलाई अघि बढाउन अत्यन्तै महत्त्वपूर्ण भूमिका खेलेको पाउँछौं । मध्ययुगिन राणाशाहीविरुद्ध सामाजिक विभेद र बिषमताको अन्त्य तथा सामाजिक मुक्ति र प्रगतिको निमित्त जुन सुन्दर सपना साँचेर हाम्रो युवा पिँढी विगतदेखि सतत् संघर्ष गर्दै आयो, त्याग, साहस, समर्पण र बलिदानको बाटो समात्यो, त्यो अविस्मरणीय छ । चाहे लखन थापाको कुरा गरौं, योगमायाको कुरा गरौं, गोर्खाको कुरा गरौं या नेपाल प्रजापरिषद्को कुरा गरौं ।
पछिल्लो २००७ सँगैका संघर्षलाई केलाउँदा नेपाली कांग्रेस या नेपाल कम्युनिस्ट पार्टीको गठन र संघर्षको कुरा गरौं, जसको नेतृत्व युवा पंक्तिबाटै भएको पाइन्छ । युवा शक्तिले इतिहासलाई सही बाटोमा डोहोर्याएको बेला नेपालमा परिवर्तनको सपना साँचो र जीवन्त बनेर खडा भएको छ भने युवा पिँढीले बाटो बिराउँदा या गलत दिशामा धकेलिँदा नेपाल पछि धकेलिएको पाइन्छ । त्यस कारण युवा पिँढी र यसको ऊर्जालाई सही बाटो देखाउनु अत्यावश्यक छ । अन्यथा, समाजले सुनौलो भविष्य गुमाउने छ ।
यसमा निश्चय नै कुनै २ मत छैन कि नेपालको युवा शक्ति सकारात्मक सोच राख्ने परिवर्तनकामी शक्ति मात्र होइन, मिहिनेती र इमानदार शक्ति पनि हो । अनवरत काममा लागिरहने, जीवन्त कुरामा विश्वास गर्ने शक्ति पनि हो । सामाजिक कार्यमा पनि सक्रियतापूर्वक सहभागी हुने र हुँदै आएको शक्ति पनि हो । तर, दुर्भाग्य ! हामीले देशमा हुँदै आएका राजनीतिक परिवर्तनपछि युवा शक्तिलाई देशको विभिन्न क्षेत्रमा सही नीति, योजना र कार्यक्रमका साथ समावेश गर्न सकेनौं । युवालाई पलायन गराउने नीतिलाई प्रोत्साहन गर्यौं, जसको फलस्वरूप आज हाम्रा युवाहरू अधिकाशतः खाडी, मलेसिया, कोरियालगायत विश्वका विभिन्न देशमा छरिएर रहेका छन् । उनीहरूको जीवनको एउटा महत्त्वपूर्ण उद्देश्य कामको खोजीमा अर्थात् रोजगारीका लागि विदेश जानु नै हुन्छ ।
आज हाम्रो राष्ट्रिय आम्दानीको एउटा महत्त्वपूर्ण हिस्सा विदेशबाट प्राप्त विप्रेषण हुन्छ र हामी त्यसमा ठूलो गर्व पनि गर्छौं । भलै, त्यो विप्रेषण पुनः अरू कुनै देशमा त्योभन्दा बढी परिमाणमा प्रवाहित नै किन भइरहेको नहोस् । वास्तवमा हामीले युवा शक्तिलाई देश र जनताप्रति सत्य निष्ठाका साथ समर्पित भएर सुझबुझतापूर्वक लाग्ने वातावरण बनाएनौं बरु उत्ताउलो, हाहा हुहु गरेर सत्ता वा त्यसको वरिपरि घुम्ने खालको बनाउने काम गर्यौं र गरिरहेका छौं । त्यसको दुष्परिणाम आज हामी राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक हरक्षेत्रमा देखिरहेका छौं ।
सुन्दर भविष्य निर्माण गर्ने, दिगो आधार तयार गर्ने भन्दा पनि ‘जो हात सो साथ’को बाटो लाग्न प्रेरित गरिरहेका छौं । उनीहरूलाई धैर्यवान्, शौर्यवान् र सच्चरित्रवान् बनाउनेतिर हामी लागेनौं र लाग्ने कुनै संकेत पनि देखाइरहेका छैनौं ।
‘सत्य केही होइन, सत्ता सबै थोक हो’ भन्ने कुरा आजको नेतृत्वले स्थापित गराएको छ, जसको प्रभाव आमरूपमा युवामा परेको छ । एकातिर हाम्रो व्यवस्था निकै भ्रष्ट प्रकृतिको बनाएका छौं भने अर्कोतिर युवा वर्गलाई निषेध गर्ने शैलीको बनाएका छौं ।
३ तहको संरचनामा युवाहरू सहज ढंगले प्रवेश गर्ने अवस्था छैन । चुनावी प्रणाली निकै खर्चिलो मात्र छैन, इमानदार र समाजका बारेमा सोच्ने युवा सहभागी हुने अवस्था छैन । अहिलेको परिपाटीले भ्रष्ट व्यवस्थालाई मात्र जगेर्ना गरिरहेको छ, जसको प्रभाव आमरूपमा समाज दिशाविहीन बन्दै छ ।
अहिलेको युग सूचना प्रविधिको युग हो । निश्चय नै इ–ज्ञान, इ–काम र इ–आर्जनको आजको यो २१औं शताब्दीको आधार हो । यद्यपि, हामीले युवा समुदायलाई कस्तो बनाउने भन्नेतर्फ गम्भीर भएर सोचेनौं । सिक्न पनि चाहेनौं । यो आजको ज्वलन्त र तीतो सत्य हो । यद्यपि, वर्षौंं वर्षदेखि नेपाली समाजमा भए रहेका अर्थ–राजनीतिक तथा सांस्कृतिक–सामाजिक विकृति र विसंगतिहरूलाई रातारात ‘छु मन्तर’ गरेर हटाउन सकिन्छ भन्ने होइन ।
तर, जागरुक, अनुशासित, संगठित र संघर्षशील युवाहरूले यस्तो विसंगतिहरूको अन्त्य गर्ने बिँडो उठाउनुपर्ने आवश्यकता छ । निश्चय नै इन्टरनेटको जमानाको युवा पिँढी हरेक काम ‘कम्प्युटर’ले जस्तै वैज्ञानिक ढंगले छिटो, छरितो र किफायती किसिमले गर्न चाहन्छ । यसो गर्नु÷गराउनु आजको युगीन आवश्यकता, दायित्व र सही पनि हो । तर, जबसम्म आजको ‘इन्टरनेट’ र ‘कम्प्युटर’लाई देशको कृषि, उद्योग, विद्युतीकरण र पर्यावरणसँग अर्थात् आमजनताका साझा सरोकारसँग गाँसेर त्यसलाई बहुसंख्यक जनताको हितमा लैजाने वैज्ञानिक, सामयिक र परिणामदायी ढंगले प्रयोग गरिँदैन, तबसम्म समाजमा व्याप्त विभेद, बिषमता, विभाजनकारी प्रवृत्तिको अन्त्य गर्न सकिने छैन ।
विज्ञान र प्रविधिलाई युवा पिँढीसँग र युवा पिँढीलाई कृषि, उद्योग, विद्युतीकरण, पर्यावरणसहितको शिक्षा र स्वास्थ्यसँग, नयाँ उचाइका साथ अघि बढाउन पुराना सन्दर्भहीन उत्पादन सम्बन्ध र उत्पादन पद्धतिबाट मुक्त गर्नै पर्छ । अन्यथा, अहिलेको युगले हामीलाई धेरै पछि छाड्ने छ । हामी, अघि बढिरहेको विश्वमा अर्थहीन हुने छौं ।
अहिले जुन अवस्थामा हामी छौं, यसबाट अघि बढ्ने सम्भावना हुने छैन बरु थप अधोगतितर्फ जाने कुरा निश्चित छ । त्यस कारण नेतृत्वबाटै समयमै सोच्नुपर्छ । समयको मागअनुसार हामीलाई परिवर्तन गर्नुपर्छ । युवाहरूलाई सही दिशा दिँदै उनीहरूलाई समाज परिवर्तनको अग्रभागमा समेट्ने वातावरण बनाउनुपर्छ, तब मात्र हामी पनि आधुनिक विश्वसँगै अगाडि बढ्न सक्छौं ।