–रत्नप्रसाद अनामणि
महादेवका ५ अवतारमध्ये भैरवलाई एक अवतारका रूपमा मानिन्छ । भैरवका यी विभिन्न अवतारमध्ये श्वेत भैरव पनि एक हुन् । नेवारी भाषामा श्वेत भैरवलाई ‘हाथु द्यो’ भनिन्छ ।
काठमाडौं उपत्यकाको वसन्तपुरमा श्वेत भैरव मूर्ति रहेको छ । टाउको मात्र रहेको यो कलात्मक मूर्ति राजा रणबहादुर शाहले बनाउन लगाएका थिए भनेर इतिहासमा उल्लेख छ । उक्त स्थानमा रहेको मूर्तिलाई आँखीझ्यालले बन्द गरी राखिएको पाइन्छ ।
यो मूर्ति वर्षमा ३ पटक बडादसैं, इन्द्रजात्रा, चैते दसैंमा खुला रहन्छ । वास्तवमा श्वेत भैरवलाई तान्त्रिक पद्धतिअनुसार पूजाआजा गर्नुपर्ने हुनाले खुला राख्नु हुँदैन पनि भनिन्छ ।
श्वेत भैरवलाई काठमाडौं उपत्यकाका अष्ट भैरवहरूमध्ये एक मानिन्छ । इन्द्रजात्रा काठमाडौंको हो । यो जात्रामा श्वेत भैरवको मुखबाट एउटा सानो पाइपबाट जाँड निरन्तर बाहिर धारा जस्तै निकालिन्छ । उक्त जाँडलाई प्रसादको रूपमा खाने अथवा पिउने गरिन्छ । श्वेत भैरवको मुखबाट जाँड बाहिर निकाल्ने प्रक्रियालाई नेपाल भाषामा हाथु हाइकेगु भनिन्छ । यही शब्दबाट ‘हाथु द्यो’ भएको मानिन्छ ।
मुखबाट आएको उक्त जाँडको प्रसाद ग्रहण गरिन्छ । यसो गर्दा शौभाग्यशाली, निरोगी हुनुका साथै सन्तान प्राप्ति र परिवार सुखमय हुन्छ भन्ने जनविश्वास छ । झण्डै १५ फिटको श्वेत भैरवको मूर्ति सुन्दर र कलात्मक हुनुका साथै झट्ट हेर्दा डरलाग्दो आकृतिको देखिन्छ । टाउको मात्र आकृति भएको यो मूर्ति रणबहादुर शाहले विक्रम सम्बत् १८५२ मा बनाउन लगाएका थिए ।
राजा रणबहादुर शाहलाई एक समय मानसिक समस्या देखापर्यो । त्यो समयमा देवी देवताका मूर्तिहरू तोडफोडसमेत गरेका प्रसंगहरू पढ्न र सुन्न पाइन्छ । शाह तोडफोड भएका मूर्तिभित्र केके छन् भनी हेर्न चाहन्थे ।
एक पटक श्वेत भैरवको मूर्ति तोडफोड गर्दा राजा मूर्छा परे । त्यसपछि उनलाई दैवी शक्ति रहेछ भन्ने ज्ञात भयो । उनले हनुमान ध्वका (नेवारी भाषा)मा देगु तलेजुको मन्दिरमुनि श्वेत भैरवको मूर्ति बनाउन लगाए भनिन्छ । श्वेत भैरव पूरा शरीरको मूर्ति पचली भैरवमा छ ।
नेवारी समुदायमा भैरवलाई ‘आजु द्यो’ पनि भनिन्छ । ‘आजु द्यो’ भनेको पुर्खा देवता हुन् । वास्तवमा नेवारी परम्परामा आफ्ना बितेका सम्पूर्ण पुर्खाहरूलाई देवता मानिन्छ । श्वेत भैरवलाई नवदुर्गा गणभित्र पनि राखेको पाइन्छ । साँच्चिकै भन्ने हो भने, नवदुर्गाभित्र श्वेत भैरव पर्दैनन् भन्ने मान्यता पनि छ । तर, श्वेत भैरवलाई अतिथि देवताको रूपमा लिने गरेको पाइन्छ ।
काठमाडौंमा बनाइने नचाइने खड्ग सिद्धि जात्रामा पनि श्वेत भैरव छन् । उक्त नाचमा श्वेत भैरवलाई ब्रह्मु टोलका राजोपाध्यायले निकाल्छन् । नेवार जातिमा राजोपाध्यायहरूलाई ब्राह्मण मानिन्छ । यसैले स्वेत भैरवलाई ब्राह्मण देवता पनि भनिन्छ । अझ ब्राह्मणहरूका पुर्खा पनि मानिन्छ ।
नेवारी समुदायको आफ्नै खालको विचित्रको परम्परा छ । सबैजसो देवी देवताहरूलाई आफ्नै टोल छिमेकीका रूपमा लिने गरिन्छ । आफूले जे उत्पादन गर्यो, त्यो वस्तु अर्पण गर्ने, आफूले जे खाने, त्यही चढाउने गरिन्छ । जे होस्, काठमाडौंको बसन्तपुरमा रहेको श्वेत भैरवको धार्मिक एवं साँस्कृतिक महत्त्व धेरै छ ।
यहाँ रहेको कलात्मक, आकर्षक मौलिक भैरव देवताको ऐतिहासिक महत्त्व पनि छ । साथमा यस्ता ऐतिहासिक सम्पदाको दार्शनिक पक्ष अध्ययन गरी सम्पूर्ण मानिसमा प्रस्तुत गर्नु आजको आवश्यकता हो ।