नेपालबाट निर्यात हुने मध्ये एक प्रमुख बालीमा अलौँची पर्छ । वर्षको ८ अर्ब भन्दा बढीको अलैँची नेपालबाट निर्यात हुने गरेको छ । नेपालका ५६ वटा जिल्लामा अलैँचीको सम्भावना भएको क्षेत्र भएपनि १६ जिल्लामा मात्र अलैँचीको व्यावसायिक रूपमा खेती भइरहेको छ । ओसिलो स्थानमा फल्ने अलैँचीलाई वेवास्ता गर्दा अलैँची फल्ने भू–भाग बाँझिएका छन् । प्रस्तुत छ अलैँची खेती तथा व्यवसायको सन्दर्भमा यसै सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं नेपाल अलैँची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष राजकुमार कार्कीसँग मध्यान्हका छबि सापकोटाले गरेको कुराकानी ।
नेपालमा अलैँची व्यवसायको अवस्था कस्तो छ ?
अहिले अलैँचीको व्यवसाय सन्तोषजनक छ । ०७२ सालमा उचाइमा पुगेको नेपालको अलैँची व्यवसाय निरन्तर ओरालो लाग्यो । तर, पछिल्लो ३ वर्ष यता भने उच्च दरमा कारोबार भएको छ । यो वर्ष अलैँची खेती गर्ने किसानले राम्रो मूूल्य पाएका छन् । यो मूूल्य अझै बढ्ने देखिन्छ । तर, उत्पादन कम भएको छ । अहिले पाएको अलैँचीको मूल्य कायम हुने हो भने अलैँची खेतीबाट समृद्ध बन्न सकिन्छ । नेपाल अलैँची उत्पादनको लागि उर्वर भूमि नै हो । नेपालमा हुने उत्पादनलाई अन्तर्राष्ट्रियकरण गर्ने हो भने अझै राम्रो मूल्य प्राप्त गर्न सकिन्छ ।
अलैँचीको उत्पादन घटिरहेको सन्दर्भमा अब के गर्नुपर्छ ?
नेपालको भौगोलिक हिसाबले हेर्दा ५३ वटा जिल्लामा अलैँची खेती हुन्छ । अलैँची हिउँ नपर्ने तर, ओसिलो स्थानमा बढी उत्पादन हुन्छ । अहिले अलैँची देशभरका १६ जिल्ला मध्ये पूूर्वका ९ वटा जिल्ला र पश्चिमका ७ वटा जिल्लामा व्यावसायिक रूपमा विस्तार भइरहको छ । अन्य जिल्लामा विस्तार गर्न सकिएको खण्डमा उत्पादन थप बढ्ने देखिन्छ । नेपालबाट वार्षिक करिब ९ अर्बको अलैँची निर्यात भएको छ । त्यसलाई दोब्बर बनाउन सकिन्छ । त्यसको लागि अलैँचीलाई राष्ट्रिय गौरवको बाली नै घोषणा गरे हुन्छ । किनभने यो भन्दा महँगो बाली नेपालमा छैन भन्दा हुन्छ । अलैँचीको सम्भावना हुँदाहुँदै पनि यसको प्रचार–प्रसार गर्न नसक्दा किसानहरू आकर्षित हुन सकेका छैनन् । अन्तर्राष्ट्रिय बजारीकरण गर्न नसक्दा समेत नेपाली उत्पादन बढ्न सकेको छैन । संघ, प्रदेश र स्थानीय सरकारले आफ्नो भूभागमा अलैँची उत्पादन हुने क्षेत्रको पहिचान गरी प्रवद्र्धनको कार्यक्रम बनाउनुपर्छ । यसका लागि अलैँची उत्पादन गर्ने इच्छुक किसानहरूलाई सहज कर्जाको व्यवस्था गर्ने हो भने उत्पादन ह्वात्तै बढ्ने देखिन्छ । अलैँची लगाएपछि ३ वर्ष उत्पादन हुँदैन । त्यो समयलाई कर्जाको ब्याजमा सहुलियत दिने हो भने किसानहरूमा यसको खेती गर्नमा उत्साह पैदा हुन्छ । त्यसले उत्पादन बढाउन निकै नै सहज बनाउँछ ।
अलैँची निर्यातको संम्भावना कति देख्नु छ ?
अलैँची नेपालमा आन्तरिक खपत निकै नै कम छ । अहिले अलैँची हामीले निर्यात मात्र गरेका छौं । हामीले अलैँचीको महत्व नै बुझाउन सकेका छैनौं आन्तरिक खपत नहुनुको पछाडि यसलाई प्रयोगमा ल्याउन सकिएको छैन भन्ने लाग्छ ।
अलैँची जस्तै काम गर्ने सुकमेल हामीले आयात गरिरेका छौं । सुकमेलको स्थानमा अलैँची प्रयोग गर्न सकिन्छ । हाम्रोमा स्टार होटलदेखि रेष्टुरेन्टहरूका अलैँचीका परिकारलाई प्रवद्र्धन गर्न सकिन्छ । आन्तरिक रूपमा मसलाको खपत गर्ने हो भने नेपालमा मसला उद्योग खोलेर मसला निर्यात गर्न सकिन्छ । नेपालको अलैँची अधिकांश भारत नै निर्यात हुन्छ । भारतमा उत्पादन बढ्ने बित्तिकै हामीले मूल्य नपाउने समस्या छ । त्यसैले अलैँचीको व्यवसाय विस्तारको लागि भारतमात्र होइन तेस्रो मुलुकमा लैजाने वातावरण बनाउनु आवश्यक छ । त्यसको लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ल्याबको आवश्यक देखिन्छ ।
पहाडी भूभागलाई अलैँची जोन बनाउन के गर्न सकिन्छ ?
नेपालमा अहिले पनि पूर्वी जिल्लाहरूमा अलैँची जोन बनेका छन् । तर, अन्य स्थानमा अलैँचीलाई प्रवद्र्धन गर्न सकिएको छैन । अहिले बसाइसराइँको कारण पहाडका जमिन बाँझो हुन पुुगेको छ । युवा जनशक्ति विदेश पलायन हुँदा अलैँची फल्ने भू–भाग बाँझिएका छन् । त्यतिमात्रै नभएर अहिले खेती गर्ने जनसंख्याको समेत अभाव छ । तर, हामीले विदेश जानेलाई अलैँचीको सम्भावना मात्र बुझाउन सक्ने हो भने पहाडमा जग्गा हुने कोही विदेश जान पर्दैन । अब हामीले कृषि र माटोसँग जोड्ने कार्यक्रम ल्याउन आवश्यक छ । अहिले अलैँची, अदुवा, कुचो, चिया लगायतको खेतीबाट सहज रूपमा आम्दानी गर्न सकिन्छ । विदेश जानेलाई रोकेर नेपालमै अवसर छ भन्ने हो भने नेपालबाट निर्यात हुने कृषिजन्य उत्पादन धेरै नै छन् । नेपालमा सुन नै फल्छ तर, नेपालमा केही हुदैन भन्ने भाष्यले गर्दा पलायनवादी सोच बढ्दो छ ।
अलैँची खेतीको सम्भावना धेरै छ भन्नु हुन्छ, हामीले किन चिन्न नसकिएको होला ?
नेपालमा अलैँचीको लामो इतिहास छ । अध्ययन गर्दा भारतको सिक्किमबाट ल्याएर इलाम हुँदै देशको विभिन्न भागमा लगाईएको पाइन्छ । सरकारी तवरबाट अलैँचीलाई प्रवद्र्धन गर्नका लागि प्रयास निकै कम भएको देखिन्छ । अब अलैँचीको हबको रूपमा नेपाललाई विकास गर्ने हो भने किसानलाई अलैँची उत्पादन गरे राज्यले उत्पादनको आधारमा अनुदान दिने नीति निर्माण गर्न आवश्यक छ । तर, नेपालमा कृषि जहाँबाट सुरु हुन्छ त्यहाँबाट कर लिने र त्यहाँबाट राजस्व असुल गर्ने नियम बनेको छ ।
हाम्रो छिमकी राष्ट्र भारतमा किसानहरूलाई मल, बिउ देखि राज्यको सहयोग निरन्तर रहन्छ । हामी भने अझैपनि पुरानो प्रणालीबाट चलिरहेका छौं । अब हामीले आयात गर्ने भन्दा उत्पादन जोड दिन आवश्यक छ । हामीले रेलको कुरा गरिरहेका छौं तर, रेलमा के पठाउने भन्ने सोच बनाउन सकेका छैनौं । अलैँचीको उत्पादन गर्न निकै नै सहज छ । अलैँची फल्ले स्थानमा राम्रो बिरुवा मात्र लगाइदिने हो भने धेरै मेहनत नै गर्न पर्दैन । ओसिलो र चिस्यान क्षेत्रमा यसको अलैँची रोपे मात्र पनि उत्पादन हुन्छ । रोपेको ३ वर्ष उत्पादन हुन समय लाग्छ, त्यसपछि १५ वर्ष भन्दा धेरै समय यसले निरन्तर उत्पादन दिन्छ । त्यसैले हामीले अलैँचीलाई चिन्न नसक्दा हामी विदेशी भूमिमा रोजगारीको लागि जान बाध्य भएका छौं ।