–लेखराज रेग्मी
हामी साँस्कृतिक विरासतमा छौं या साँस्कृतिक प्रतिगमनकालमा ? यसको छिनोफानो कसरी गर्ने ? कालक्रम कसरी टुंग्याउने ? ब्राह्मणहरूले हलो जोत्ने, धोती पाटा नफेरेर भान्सा चलाउने, छुवाछूतको विरोध गर्ने काम राजनीतिक रूपमा नेपाली कांग्रेसका नेताहरूले २००७ सालको क्रान्तिको समयमा र आसपासमा प्रयोग गरे ।
आज पिँढी बदलिएको छ, आधुनिकता हाबी छ तर संस्कार जोगाउने नाममा भौतिकवादी चेतनाविरुद्ध उभिँदा नेपाली कांग्रेसका नेता, कार्यकर्ता राणाकालीन प्रतिबन्ध लागू गर्न गइरहेका छन् ।
२००७ सालको क्रान्तिपश्चात् यो भारी ‘कम्युनिस्ट’हरूले बोकेका देखिन्छ । तर, २०४७ सालपछि जनताको नाममा उनीहरूले यो अडान व्यवहार बदल्न सुरु गरे । यो समय चीनमा माओको मृत्यु र साँस्कृतिक क्रान्तिविरोधीहरू पार्टी र सरकारमा हाबी भएको समय थियो ।
यता, नेपालमा भने पपुलर भोटसहित बढोत्तरीमा थिए । उनीहरू पनि नेपाली कांग्रेसकै बाटोमा लजाउँदैलजाउँदै लाग्न थालेका थिए । यो समयमा यसको भार नेपालका आफूलाई ‘र्याडिकल’ ठान्ने ‘कम्युनिस्ट’हरूको जिम्मामा आयो तर २०६२/०६३ सालको आन्दोलनपश्चात् यस सवालमा त्यहाँ पनि मत विभाजन व्यवहारमा देखिँदै छ ।
केही समाज सुधारक आन्दोलनमा लागेकाहरूको समर्थन प्राप्त गर्न र उनीहरूको दबाबमा राजा महेन्द्र शाहले भूमि सुधार, रजौटा उन्मूलन, जमिन्दारी प्रथा उन्मूलन, बिर्ता जग्गा रैकर गर्ने, पुनर्वास व्यवस्थापन र छुवाछूत उन्मूलन जस्ता राजकीय घोषणा गरे ।
धार्मिक अनुष्ठान र सामाजिक पर्व समारोहहरूमा संख्यात्मक प्रतिबन्ध लागू गर्ने घोषणा गरे । त्यसपछि व्यक्तिगत स्वतन्त्रताको रूपमा भान्सा र पूजापाठसँगै आभिजात्य कायम राख्ने कुरामा भने राज्य उदार नै रह्यो, कर्मकाण्डसँग जोडिएर अस्पृश्यता कायमै रह्यो । यसलाई अलिक फरक ढंगले नेपाली कांग्रेस र कम्युनिस्ट समूहहरूले पनि छुट दिई नै रहे । उनीहरूको परिवारमा मूल रूपमा कायम नै रह्यो ।
विवाह र मृत्यु संस्कारमा पुरानो कट्टरता त केही खुकुलो भएको देखिन्छ तर यथावत् नै छ । यसले व्यक्तिगत आचरणमा परिवर्तन गर्ने प्रयत्नहरूलाई पारिवारिक सामाजिक घेराबन्दीले कमजोर बनाउने तथा सामाजिक पारिवारिक विद्रोहमा जान रोक्ने गर्दो रहेछ ।
मृत्यु संस्कार आफैंले अभ्यास गर्ने हुँदा र मृत व्यक्ति स्वयं उपस्थित नहुँदा, थोरै सुगम हुने तर विवाहमा वर–बधू वा दुवै परिवारको सम्बन्ध हुने, रुचि, रहर र सामाजिक बराबरी देखाउने चाहनाहरू प्रबल हुँदा तथा आफन्तहरूका दाबीसँगै उपभोक्तावाद हाबी रहेको आजको स्थितिको प्रतिकूलताले यसमा केही परम्परागत जटिलता हटे पनि यसमा सामाजिक सुधार निकै जटिल हुँदो रहेछ ।
राजनीतिक आन्दोलन र जनताको संलग्नता बढेको समय र राजनीतिक नैराश्यले गाँजेको समय स्वयं पनि अनुकूलता वा प्रतिकूलताको स्थिति निर्धारणमा महत्त्वपूर्ण हुँदो रहेछ । यसै प्रतिकूलतालाई मध्यनजर गरी हामी यसलाई साँस्कृतिक प्रतिगमन भन्न सक्छौं वा सक्दैनौं ? जो स्थापित थिएन, मापक बन्छ वा बन्दैन ?
जुन दिशामा समाजलाई एक हदसम्म उत्प्रेरित गरियो, पछि हट्नु सामाजिक साँस्कृतिक प्रतिगमन हो वा होइन ? सामाजिक सम्झौता, पराजय वा भित्री चाहनाको प्रस्फुटन, यसलाई कसरी बुझ्ने भन्ने सवालमा तथ्यपरकता कति आवश्यक छ ? अन्योललाई हटाउन सकारात्मक छलफल आवश्यक महसुस भइरहेको छ । यसले आन्दोलनको स्तर मापनमा पनि सहयोग गर्ने छ भन्ने लागेको छ ।