–डा. बच्चुकैलाश कैनी
जहाँ स्वास्थ्यकर्मी हुन्छन्, त्यहाँ स्वास्थ्य संस्था हुन्छ र बिरामी वा सेवाग्राही उपचारका लागि जान्छन् । रोगको परीक्षण, पहिचान, निदान र स्वास्थ्य उपचारका लागि एक अनिवार्य शर्त स्वास्थ्यकर्मीको उपस्थिति हुनु हो । त्यसैले स्वास्थ्यकर्मीहरू स्वास्थ्य संस्थाको मेरुदण्ड मात्र होइनन्, मुख्य पात्र र अभिन्न अंग नै हुन् ।
स्वास्थ्यकर्मीहरू हाम्रो समाज, सेवाग्राही, बिरामी, उनीहरूका परिवार र स्वास्थ्य संस्थाहरूका लागि धेरै अर्थमा नायकहरू हुन् । तर, हाम्रो समाजका यिनै नायक स्वास्थ्यकर्मीहरू बिरामी वा बिरामीका आफन्तहरूबाट हिंसाको सिकार हुनुपरेको कुरा तथ्यांकले देखाएको छ । यो हाम्रो आजको समाजको तीतो यथार्थ हो ।
विश्व स्वास्थ्य संगठनको एक प्रतिवेदनअनुसार स्वास्थ्यकर्मीमाथि हुने हिंसाको दर पेसा, समूह र मुलुकअनुसार कम्तीमा समग्रमा ८ प्रतिशतदेखि बढीमा ३८ प्रतिशतसम्म छ । यसमध्येमा स्वास्थ्यकर्मीमाथिको अधिकांश हिंसा बिरामी र बिरामीको आफन्त वा कुरुवाबाट नै हुने गरेको छ ।
विश्वव्यापी रूपमा गरिएको अर्को एक अध्ययनअनुसार कुनै देशमा ६२ प्रतिशतसम्म स्वास्थ्यकर्मीहरूले कार्यस्थलमा हिंसाको अनुभव गरेका कुरा उल्लेख गरिएको छ । यसमध्ये सबैभन्दा बढी गैरशारीरिक हिंसाको रूपमा ५८ प्रतिशतले मौखिक दुव्र्यवहार, ३३ प्रतिशतले धम्की र १२ प्रतिशतले यौन उत्पीडनसम्बन्धी हिंसा भोगेका कुरा प्रतिवेदनमा उल्लेख छ ।
नेपालमा पनि कार्यस्थलमा स्वास्थ्यकर्मीविरुद्ध हुने हिंसा एक गम्भीर समस्या बनेको छ । यो समस्या विशेषगरी चिकित्सक र नर्सहरूमा बढी देखिएको छ । सन् २०२३ मा प्रकाशित एक अनुसन्धानका अनुसार काठमाडौंमा ३६९ स्वास्थ्यकर्मीहरूमा गरिएको एक सर्वेक्षण अध्ययनमा ५४ प्रतिशत नर्स र ४५ दशमलव ५ प्रतिशत चिकित्सकले आफ्नो कार्यस्थलमा कुनै न कुनै प्रकारको हिंसा भोगेको कुरा उल्लेख गरेका छन् ।
स्वास्थ्यकर्मीमाथि कार्यस्थलमा हुने हिंसाका धेरै कारणहरू छन् । यसमध्ये प्रमुख कारण भनेको सेवाग्राही, बिरामी वा उनीहरूका आफन्तहरू स्वास्थ्य सेवाप्रति असन्तुष्ट हुनु हो । बिरामी वा उनीहरूका आफन्तहरूलाई कहिलेकाहीँ स्वास्थ्य सेवा प्राप्त गर्न ढिलाइ भएको हुन सक्छ । त्यस्तै, कुनै कारणवश स्वास्थ्यकर्मीबाट उपचारमा त्रुटि हुन सक्छ । यसैको कारण वा अन्य कुनै कारणले बिरामीको अप्रत्याशित मृत्युपछि बिरामी वा उनीहरूका आफन्तमा आक्रोश उत्पन्न हुन्छ । फलस्वरूप यी घटनाहरूले वा प्रतिक्रियाहरूले हिंसाको रूप लिन सक्छन् ।
यसैगरी स्वास्थ्यकर्मीहरूमा उच्च कार्यभार, स्वास्थ्य संस्थाहरूमा अपर्याप्त स्रोत, साधन र बिरामीको चापका कारण पनि स्वास्थ्य संस्थाहरूमा तनावको अवस्था सिर्जना हुन सक्छ । यसले हिंसात्मक घटनालाई बढावा दिन सक्छ ।
स्वास्थ्यकर्मीहरूले कार्यस्थलमा भोग्ने हिंसाले उनीहरूको मानसिक र शारीरिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । हिंसाका कारण उनीहरूको कामप्रतिको लगाव घट्न सक्छ । यसको प्रत्यक्ष प्रभाव सेवाग्राही वा बिरामीको सेवाको गुणस्तरमा पुग्छ ।
साथै, स्वास्थ्यकर्मीहरूले कार्यस्थलमा भोग्ने हिंसाकै कारण स्वास्थ्यकर्मीहरूमा उच्च तनाव, डिप्रेसन र बर्न आउटको समस्या पनि देखिन सक्छ । यस्ता समस्याले स्वास्थ्यकर्मीहरूलाई नकारात्मक प्रभाव पार्ने नै भयो, त्यसको असरले हाम्रो समाज, स्वास्थ्य प्रणाली र बिरामीहरूमा समेत प्रतिकूल प्रभाव पर्न सक्छ ।
धेरैजसो स्वास्थ्यकर्मीहरूले हिंसाका घटनाहरूलाई सम्बन्धित निकाय र आफ्नै स्वास्थ्य संस्थामा समेत जानकारी गराउँदैनन् । यसका मुख्य कारणहरूमा आफूले हिंसा भोगेको अवस्थामा स्वास्थ्यकर्मीहरूमा आफ्नै स्वास्थ्य संस्थाको व्यवस्थापनले आवश्यक सहयोग गर्छ भन्ने आभास नमिलेको हुन सक्छ ।
त्यसैगरी प्रहरी प्रशासन वा न्याय प्रणालीप्रति अविश्वास हुनु र उनीहरूलाई आफ्नै पेसागत प्रतिष्ठामा असर पर्न सक्ने डर हुनु अरू कारणहरू हुन् । यसका साथै कतिपय स्वास्थ्य संस्थाहरूले आफ्नो आन्तरिक सुरक्षा प्रणालीलाई भौतिक वा प्राविधिक रूपमा मजबुत बनाउन सकेका छैनन् । यिनै कारणहरूले गर्दा नेपालमा स्वास्थ्यकर्मीहरूको सुरक्षामा बढ्दो चुनौती थपिएको छ ।
नेपालमा स्वास्थ्यकर्मीहरूमाथि हुने हिंसासम्बन्धी स्पष्ट कानुनी व्यवस्था गरिएको छ । तर, त्यसको प्रभावकारी कार्यान्वयन भएको देखिँदैन । स्वास्थ्य संस्थाहरूमा खटिएका स्वास्थ्यकर्मी र अन्य कर्मचारी उपर हुन सक्ने आक्रमण रोक्न, स्वास्थ्य संस्थाको भौतिक सम्पत्तिको तोडफोड वा अन्य कुनै कार्य गरी स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई हानि नोक्सानी पु¥याउने व्यक्तिलाई सजाय दिलाउन स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरूको सुरक्षासम्बन्धी ऐन, २०६६ ल्याइएको छ तर पनि व्यवहारमा यो ऐन पर्याप्त रूपमा लागू भएको देखिँदैन ।
स्वास्थ्यकर्मीहरूमाथि कार्यस्थलमा हुने विभिन्न प्रकारका हिंसालाई कम गर्न सम्बन्धित सबै सरकारी, स्वास्थ्य संस्था, नियमनकारी निकाय र अन्य सबै पक्षहरू मिलेर बहुआयमिक रूपमा काम गर्नु आवश्यक देखिन्छ । यसमध्ये पहिलो र तत्काल गर्न सकिने काम भनेको हाल विद्यमान नियम र कानुनको तत्काल अक्षरशः कार्यान्वयन गर्ने हो ।
स्वास्थ्यकर्मीको सुरक्षाका लागि बनेको कानुनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित सबै पक्षले उचित ध्यान दिने हो भने यसलाई तत्काल कम गर्न सकिन्छ । यसका लागि स्थानीय प्रशासन, प्रहरी र स्वास्थ्य संस्थाबीच हातेमालो, समन्वय र सहयोगको आवश्यकता छ ।
स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई प्रशिक्षण दिएर तथा उनीहरूमा जनचेतना अभिवृद्धि गरेर पनि स्वास्थ्यकर्मीहरूमाथि कार्यस्थलमा हुने विभिन्न प्रकारका हिंसालाई कम गर्न सकिन्छ । यसका लागि स्वास्थ्यकर्मीहरूलाई तनाव व्यवस्थापन, संचार सीप र आत्मरक्षासम्बन्धी प्रशिक्षण प्रदान गर्न सकिन्छ । साथै, बिरामी र उनीहरूका आफन्तहरूमा पनि स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवा र सुविधा, त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीहरू र स्वास्थ्य सेवाको प्रक्रियाबारे उचित जानकारी दिन सक्ने हो भने यो समस्या कम गर्न केही हदसम्म सहयोग पुग्छ ।
बिरामी र उनीहरूका आफन्तहरू आफैं तनावमा हुन्छन् । आफैं आर्थिक, मानसिक र स्वास्थ्य समस्याहरूसँग जुधेका हुन्छन् । कतिपय अवस्थामा स्वास्थ्यकर्मीहरूले बिरामीसँग नम्र बोल्ने, सहानुभूतिपूर्वक शालीन व्यवहार देखाउने र बिरामीलाई पर्याप्त समय दिएर रोग, औषधि, उपचार, यसको प्रभाव आदिबारेमा सबै आवश्यक जानकारी दिने हो भने पनि बिरामी र स्वास्थ्यकर्मीहरूबीचको सम्बन्ध सुमधुर बनाउन सकिन्छ । यसले अवश्य पनि हिंसा रोक्न सहयोग गर्छ ।
नेपालका स्वास्थ्य संस्थाहरूमा सुरक्षा व्यवस्थाको सुदृढीकरण गर्नु जरुरी देखिन्छ । कतिपय केन्द्रीय र विशिष्ट प्रकारका सेवा उपलब्ध गराउने निजी एवं अन्य सरकारी स्वास्थ्य संस्थाहरूमा नेपाल प्रहरीले सुरक्षाकर्मी उपलब्ध गराए पनि स्वास्थ्यकर्मीहरूमाथि कार्यस्थलमा हुने हिंसा रोक्न पर्याप्त छैन ।
यसैले हरेक अस्पताल र स्वास्थ्य संस्थाहरूमा आफैंले पर्याप्त सुरक्षा कर्मचारीको व्यवस्था गर्नुपर्छ । हरेक अस्पताल र स्वास्थ्य संस्थाहरू आधुनिक प्रविधिहरू, जस्तै ः सीसीटीभी क्यामेरा र आपत्कालीन उद्धार प्रणाली वा आपत्कालीन प्रतिक्रिया प्रणालीको स्थापना गर्नु, त्यसको प्रभावकारी निरीक्षण, अनुगमन र कार्यान्वयन गराउनु पनि आवश्यक छ ।
स्वास्थ्यकर्मीहरूमाथि कार्यस्थलमा हुने विभिन्न प्रकारका हिंसाको भौतिक, शारीरिक र मनोवैज्ञानिक पक्ष पनि छ । हरेक अस्पताल र स्वास्थ्य संस्थाहरूले हिंसाका घटनामा परेका स्वास्थ्यकर्मीलाई परामर्श र मनोवैज्ञानिक सहयोग उपलब्ध गराउनुपर्छ ताकि उनीहरूले मानसिक रूपमा पुनः सक्रियता हासिल गर्न सक्ने बनून् र पूर्ण रूपमा शारीरिक र मानसिक रूपमा स्वस्थ बनून् । यी सबै कुराहरूका साथसाथै नेपालमा स्वास्थ्यकर्मीहरूमाथि कार्यस्थलमा हुने विभिन्न प्रकारका हिंसा कम गर्न नीतिगत सुधार पनि गर्नु जरुरी छ ।
स्वास्थ्यकर्मीहरूको सुरक्षाका लागि अहिले भएका नीति नियम र कानुनहरू परिमार्जन गर्दै थप कडा नियमहरू बनाउनु आवश्यक छ । यस्ता नयाँ नियममा हिंसामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्ने प्रावधान राख्नु जरुरी छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ मा आवश्यक संशोधन गरी स्वास्थ्यकर्मीमाथि हातपात भएमा तत्काल गैरजमानती गिरफ्तार (जेल विदाउट बेल) गर्ने व्यवस्था प्रभावकारी बनाई लागू गर्नुपर्छ ।
नेपालमा कार्यस्थलमा स्वास्थ्यकर्मीहरूमाथि हुने हिंसा एक गम्भीर समस्या हो, जसले स्वास्थ्य सेवाको उपलब्धता, पहुँच र गुणस्तरमा प्रतिकूल प्रभाव पार्न सक्छ । यस समस्याको समाधानका लागि कानुनी, संस्थागत र मनोवैज्ञानिक पक्षमा तत्काल सुधार गर्नु आवश्यक छ । त्यसैगरी नेपालमा स्वास्थ्यकर्मीहरूविरुद्ध कार्यस्थलमा हुने हिंसा रोक्नका लागि सबै सरोकारवालाहरूले मिलेर काम गर्नुपर्ने देखिन्छ ।
स्वास्थ्यकर्मीहरूको सुरक्षामा ध्यान नदिए स्वास्थ्य सेवा प्रणालीलाई स्थायित्व दिन, स्वास्थ्यकर्मीहरूको मनोबल उठाउन र समग्र स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्न कठिन हुने छ ।
(लेखक स्वास्थ्य सेवा व्यवस्थापनका प्राध्यापक हुन् ।)