कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिकामा विभिन्न कार्यक्रम गर्दै लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन गरिएको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख मंगलबारसम्म सञ्चालित अभियानको समापन कार्यक्रममा बोल्दै नगर उपप्रमुख शिवकुमारी थारुले लैंगिक हिंसाको अन्त्यका लागि समुदायको सक्रिय भूमिका र सचेतना आवश्यक रहेको बताइन् ।
महिला तथा बालबालिकाको हक र अधिकार सुनिश्चित गर्न सबै क्षेत्रबाट सहकार्य हुनुपर्ने बताइने लैंगिक हिंसाविरुद्धको अभियान नियन्त्रण गर्नेको दायित्व केवल महिलाको मात्र नभएर समाजका सबै वर्गले उत्तिकै चासो राख्नुपर्ने बताइन् । हिंसामुक्त समाज निर्माणका लागि सबै क्षेत्रबाट सशक्त पहल गर्न आवश्यक रहेको उनले बताइन् । शिवराज नगरपालिकाले आगामी दिनमा हामी अझ प्रभावकारी कदम चाल्दै नागरिकको सुरक्षाका लागि प्रतिबद्ध रहेको बताइन् ।
कार्यक्रममा शिवराज नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष नेत्र प्रसाद बेल्बासेले हिंसाको उन्मूलनका लागि सामाजिक र सांस्कृतिक सोच परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनले स्थानीय सरकार हिंसाका घटनाहरूलाई न्यूनीकरण गर्न प्रतिबद्ध रहेको बताए ।
महिला मानव अधिकारकर्मी मिना परियारले पीडितलाई न्याय दिलाउन कानूनी उपचारका साथसाथै सामाजिक पुनर्स्थापनामा पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन्। पछिल्लो समय महिलामाथि हुने सबै प्रकारका हिंसा न्यूनीकरणका लागि महिला आफैँ सचेत र सक्षम हुनुपर्नेमा जोड दिइन् ।
राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णु प्रसाद खतिवडाले मानव अधिकार संरक्षण र प्रवर्द्धनमा सबै तहका सरकारको भूमिकामा सुधार आवश्यक रहेको बताए ।
लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानलाई प्रभावकारी बनाउन सिद्धार्थ सामाजिक विकास केन्द्रले नगरसँग सहकार्य गरेर शिवराजका ८ वटै वडामा लैंगिक हिंसाका घटनाहरूलाई न्यून गर्न विभिन्न कार्यक्रम संस्थागत रुपमा अभियान सञ्चालन गरेको सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक अजय चौधरीले बताए ।
कार्यक्रममा ब्यापार संघ कपिलवस्तुका महासचिव गोपनल बन्जाडे, चन्द्रौटा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पारशमणि पाण्डे, शान्ति पुनस्र्थापना गृह कपिलवस्तुका भूमिराज भट्टराईसहित विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
शिवराज नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शारदा गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखाकी जीवा केसीले गरेकी थिइन् ।
लैंगिक हिंसाविरुद्धको अभियान अन्तर्गत १६ दिनसम्म विभिन्न कार्यक्रम गरेर गैरसरकारी सस्थाहरु सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तु, छन्दकाले बाबू नारायणी आँखा अस्पताल बहादुरगन्ज, किर्डाक नेपाललगायतका संघ सस्थाको सहकार्यमा अभियानको समापन गरेको हो ।
अभियानको क्रममा जनचेतनामुलक, दीप प्रज्वलन,सडक नाटक, बजार सरसफाई अभियान लैंगिक हिंसाविरुद्ध सन्देशमूलक गोष्ठी र छलफल, लैंगिक हिंसाका कारण, प्रभाव, र समाधानबारे स्थानीय नेताहरू, अधिकारकर्मी, र युवासँग अन्तरक्रिया, मिडियामार्फत जनचेतना मुलक जानकारी प्रसारणलगायतका कार्यक्रम गरेको थियो । समापन समारोहमा लैंगिक हिंसाविरुद्ध योगदान पुर्याउने दर्जन बढी संघ संस्थाहरुलाई कदर पत्रले सम्मान समेत गरेको थियो ।