–नारायण शर्मा
यस वर्षको ९ डिसेम्बरका दिन पनि विश्वभर भ्रष्टाचारविरुद्ध विभिन्न कार्यक्रम गरिए । संयुक्त राष्ट्रसंघको महासभाले तय गरेअनुसार यस दिनलाई ‘अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवस’को रूपमा मनाउने गरिन्छ । राष्ट्रसंघको महासभाले भ्रष्टाचारको भयावहताको बोध र विरोधका लागि यस दिनलाई दिवसको रूपमा मनाउने तय गरेको थियो, जसको विशेष अर्थ र महत्त्व छ । यद्यपि, दिवस मनाउँदैमा र कार्यक्रम गर्दैमा भने भ्रष्टाचार रोकिन्छ भन्ने हुँदैन ।
यस सन्दर्भमा सर्वप्रथम भ्रष्टाचार के हो भनेर चिन्नु जरुरी छ । कुनै चिजलाई के हो, कस्तो हो, किन हो र कसरी हो भन्ने कुरा त्यसको अर्थ, परिभाषा र परीक्षण गरेर स्पष्ट रूपमा चिनिसकेपछि मात्र त्यसबारे के–कस्तो धारणा बनाउने र त्यसप्रति के–कस्तो व्यवहार किन गर्ने भन्ने निष्कर्षमा पुग्नुपर्छ । सचेत मानिसले अवलम्बन गर्ने सही विचार, बाटो, विधि र व्यवहार पनि यही हो ।
भ्रष्टाचारको सन्दर्भलाई केलाउँदा, सबैभन्दा पहिलो विषय हाम्रो चिन्तनसँग जोडिएर आउँछ । जब हाम्रो चिन्तन भ्रष्ट हुन्छ, तब भ्रष्टाचार संस्थागत हुने अवस्थाको विकास हुन्छ । भ्रष्टाचार भ्रष्ट व्यवहार, आचरण र क्रियाकलापको फल हो । भ्रष्टाचार गलत व्यवस्था, विधि विधान, नीति नियमको नियति पनि हो । यो नीच नेता र स्वार्थी शासकहरूको कुविचार, कुनियत र कुकार्यजन्य शासन प्रशासनको उपज हो ।
भ्रष्टाचार जनता र जनतन्त्रविरोधी, राष्ट्र र राष्ट्रियताविरोधी, विकास र समृद्धिविरोधी गतिविधि हो । भ्रष्टाचार एउटा सर्वाधिक संदिग्ध सोच, शैली, संस्कार र संस्कृतिको सिर्जना हो भन्दा अत्युक्ति हुँदैन । भ्रष्टाचार एक अनैतिक, अनियमित, अवाञ्छित, असभ्य, अपारदर्शी र असह्य अपराध हो ।
अझ गहिरिएर भन्दा, भ्रष्टाचार एक महाकुकृत्य हो, महाअपराध हो र महापाप हो । तसर्थ, यो अनिवार्यतः नीच, तुच्छ र निन्दनीय मात्र होइन, त्याज्य र दण्डनीयसमेत छ । अब प्रश्न छ कि यसलाई कसरी निगरानी, निरूपण, नियन्त्रण, निवारण र निर्मूल गर्न सकिन्छ त ?
भ्रष्टाचार निर्मूल गर्न सबैभन्दा पहिला सबै व्यक्ति सचेत हुन आवश्यक छ । सबैमा सद्विचार र सदाचार, सही सिद्धान्त र सही व्यवहार, सादा शैली र सरल संस्कार तथा सर्वोच्च सभ्यता र समृद्ध संस्कृति अवलम्बन र अनुशीलन गर्न आवश्यक छ । नैसर्गिक नीति, नियम, न्याय, नैतिकता र निर्देशनको प्राप्ति र पालना गर्नु पनि आवश्यक छ । शास्त्र र सिद्धान्तहरूको अध्ययन, समाज र संस्कारको अनुगमन, साहित्य र संस्कृतिको अनुसन्धान तथा सभ्यता र स्वच्छताको अवलम्बन गरिनुपर्छ ।
भ्रष्टाचार निर्मूल पार्न उन्नत समाज, उत्कृष्ट संस्कार, उत्तम सभ्यता र उपयुक्त सिस्टमको स्थापना अनिवार्य शर्त हो । शिक्षा–दीक्षा, शासन–प्रशासन, नीति–नियम, ऐन–कानुन, विधि–विधान, संहिता–संविधान, आचार–संस्कार र पद्धति–प्रणालीको अनुकरण, अनुसरण र अनुशासन अवलम्बन गरेर अगाडि बढ्नुपर्छ । निष्ठा–आस्था, लक्ष्य–उद्देश्य, ध्येय–आदर्श, नीति–नैतिकता जस्ता अमूल्य मूल्य–मान्यता र विचार–सिद्धान्तको अवलम्बन, संरक्षण र संवर्छनको औचित्य, महत्त्व र आवश्यकता बोध हुनुपर्छ । सुशिक्षा र श्लील साहित्य र सही सिद्धान्त स्वच्छ राजनीतिको माध्यमबाट सुन्दर समाज र सर्वोत्कृष्ट संस्कृति स्थापना गर्नका लागि दुःख, कष्ट, त्याग, तपस्या र बलिदानका कीर्तिमानहरू कायम गरिनुपर्छ ।
समाजमा भ्रष्टलाई बाईबाई र स्वच्छलाई हाइहाइ गर्ने संस्कार बसाउनु आवश्यक छ । समाज र राज्यले भ्रष्टाचारप्रति शून्य सहनशीलताको र भ्रष्टाचारीलाई निर्मम कारबाहीको नीति लागू गरिनुपर्छ ।