२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बेरोजगारी समस्या समाधान गर्न उद्यम विकासमा जोड

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असार ७ गते १९:२६
बेरोजगारी समस्या समाधान गर्न उद्यम विकासमा जोड

अर्घाखाँची : वनमा आधारित उद्यम विकासबाट आम्दानी र रोजगारीमा वृद्धि गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । डिभिजन वन कार्यालय अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको वनमा आधारित उद्यम विकासका लागि सरोकारवालाहरुसँगको अन्तरक्रियामा सहभागीहरुले देशमा वनमा आधारित उद्यम विकास गर्न सकिने प्रशस्त सम्भावना भएपनि सरकारको प्राथमिकतामा नपरेको गुनासो गरे । 

वनलाई उद्यमसँग जोडेर लैजान सके वन क्षेत्रको स्रोतको प्रयोग भइ रोजगारी वृद्धि हुने, वनजन्य बस्तुको सदुपयोग हुने, निर्यात प्रवद्र्धन तथा आयतलाई प्रतिस्थापन गर्दै देशको आर्थिक तथा सामाजिक विकासमा योगदान गर्न सकिने सम्भावना रहेको सरोकारवालाहरुले बताए । 

कार्यक्रममा डिभिजन वन कार्यालय अर्घाखाँचीका  सिनियर डिभिजन वन अधिकृत ईश्वरीप्रसाद पौडेलले  देशको करिब ४५ प्रतिशत वन क्षेत्र रहेको र त्यसमध्ये करिब १५ प्रतिशत वन क्षेत्र लुम्बिनी प्रदेशमा रहेकाले त्यसको समुचित प्रयोग गरी उद्यम गर्न सकिने प्रशस्तै सम्भावना रहेकोले अहिले समृद्र्धिका लागि वन कार्यक्रम अगाडि बढेको बताए । 

लुम्बिनी प्रदेशमा ३ हजार २ सय ५९ वटा वनजन्य उद्योग दर्ता भएकोमा त्यसमध्ये ८२ प्रतिशत अर्थात् २ हजार ६ सय ८१ वटा उद्योग सञ्चालनमा रहेको  अधिकृत  पौडेलले बताए ।

अर्घाखाँचीमा पछिल्लो दुई वर्षको तथ्यांक हेर्दा टिमुर दालचिनी  १ लाख २४  हजार ६ सय ४७  किलो संकलन भएको र त्यसबाट करिव ७० लाख रुपैयाँ किसानले आम्दानी गरेको तथ्यांक प्रस्तुत गर्दै डिभिजन वन अधिकृत पौडेलले त्यसलाई व्यवस्थित गर्न सकेमा यो आम्दानी  र उत्पादनलाई ६ गुणासम्म वृद्धि गर्न सकिने पौडेलले बताए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कृषि विकास बैंक अर्घाखाँचीका प्रवन्धक दुर्गा प्रसाद खनालले समृद्धिका लागि वन परियोजना अन्तर्गत वनमा आधारित उद्योग सञ्चालनका लागि सरकारले सहुलियत ऋणको व्यवस्था गरिएको बताए । 

उनले सरकारले लुम्बिनी र मधेश प्रदेशमा २५ करोड ऋण छुट्टाएकोमा अर्घाखाँचीमा कर्जा प्रवाह प्रक्रिया अगाडि बढेको बताए । उक्त ऋण बढीमा १५ वर्षका लागि हरेक तीन÷तीन महिनामा व्याज किस्ता हाल्ने गरी ९ प्रतिशत व्याजदर कायम गरी वनमा आधारित उद्योग सञ्चालन गर्नेहरुलाई लगानी गर्ने व्यवस्था रहेको खनालले जानकारी दिए ।

कार्यक्रममा वरिष्ठ वन अधिकृत मदन प्रसाद ढुङ्गानाले  वनजन्य उद्योगको मूल्य श्रृंखला, बजार व्यवस्थापन, नविन प्रविधि, वातावरणमैत्री प्रविधिको प्रयोग र वन क्षेत्रमा कार्यरत कामदारहरुको पेशागत सुरक्षा र स्वास्थ्यको विद्यमान अवस्थाबारे कार्यपत्र पेस गरेका थिए ।  

कार्यक्रमका वन पैदावार  उद्योग संघका केन्द्रीय सदस्य बाबुराम श्रेष्ठले वनजन्य उद्योग सञ्चालनका लागि आएको सहुलियतपूर्ण ऋणलाई व्यवस्थित गर्नुपर्ने बताए । विश्व बैकले प्रदान गरेको सहुलियत ऋण ओभरहेड र बैंकको नाफाका नाममा घुमाउरो तरिकाले लक्षित वर्गमा पुग्दा अन्य ऋण जस्तै महंगा व्याजदरको भएको भनि त्यसलाई परिमार्जन गरी सहुलियत व्याजदरमा दिने व्यवस्था मिलाउनुपर्ने व्यवसायिको माग रहेको उनले जिकिर गरे ।

कार्यक्रममा  घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख सन्तोष खनालले उद्योगीहरुलाई घरेलु कार्यालय अर्घाखाँचीले दिने सुविधा उद्योग दर्ता प्रक्रियाबारे जानकारी गराएका थिए ।

कार्यक्रममा वरिष्ठ वन अधिकृतहरु मदन प्रसाद ढुंगाना, उमेश शाह मोहन मिश्र, यादव सापकोटा शाखा अधिकृत अरुण आचार्य, डोहोटे सामुदायिक वनका  अध्यक्ष रेशम राज बन्जाडे, उद्योगीहरु तिलक काउछा, लक्ष्मण खड्का, हरि प्रसाद भुसाल, बसन्ता आचार्य, बलु पाण्डे, त्रिभुवन पाण्डे, मोती न्यौपाने, दिपक पराजुली, काजिमान रायमाझी लगायतले सुझाव दिएका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise