–सन्दीप पनेरु
विप्रेषण (रेमिट्यान्स)ले नेपालको अर्थतन्त्रको सन्दर्भमा महत्त्वपूर्ण भूमिका खेलेको छ । मुलुकको अर्थतन्त्रलाई केलायौं भने अर्थतन्त्रको आधार नै विप्रेषण बनेको छ । यद्यपि, विप्रेषणले केही समयका लागि राहत प्रदान गर्न सक्छ तर यसमा पूर्ण निर्भरता हुनु दीर्घकालीन रूपमा भने हानिकारक हुन सक्छ । दीर्घकालीन निर्भरताले आर्थिक विकासमा चुनौती दिन्छ ।
विप्रेषण विदेशी रोजगारीमा आधारित हुने भएकाले वैदेशिक श्रमिकहरूको जागिर गुमाउने वा कमाइ घट्ने अवस्था आएमा अर्थतन्त्र तत्कालै अप्ठ्यारोमा पर्ने अवस्था हुन सक्छ । विप्रेषणले विदेशी मुद्राको आपूर्ति त सुनिश्चित गर्छ तर यसको अत्यधिक निर्भरता रहेमा कुनै आर्थिक संकट (जस्तै : खाडी देशहरूमा तेलको मूल्य घट्दा) नेपालमा ठूलो प्रभाव पर्न सक्छ । सँगै, श्रम गर्न सक्ने प्रमुख जनशक्ति विदेश जाने प्रवृत्तिका कारण स्वदेशमा कृषि, निर्माण र उद्योग क्षेत्रमा श्रमिकहरूको अभाव हुन्छ ।
उत्पादन क्षेत्रको विकास र लगानी गर्ने सट्टा विप्रेषणले व्यक्तिगत उपभोग बढाउँछ । यसले दीर्घकालीन रूपमा औद्योगिक विकासलाई अवरुद्ध गर्छ ।
रोजगारीका लागि विदेश जानुपर्दा आज धेरै नेपालीका परिवार विखण्डित भएका छन् । बालबालिकाहरू अभिभावकको माया र निर्देशनबाट बञ्चित छन् । आज गाउँ शून्य हुनुका पछाडि वैदेशिक रोजगार हो भन्दा अन्यथा हुँदैन । सँगै, विप्रेषणले समाजलाई पनि विभाजित बनाएको छ ।
अर्कातर्फ विप्रेषण आउने परिवार र नआउने परिवारबीच ठूलो खाडल सिर्जना भएको छ । आय र जीवनस्तरको असमानता गहिरिँदो छ । समाज शास्त्रीय कोणबाट हेर्दा, वैदेशिक रोजगारले हाम्रो समाज निकै भाँडिएको छ ।
आज हाम्रा गाउँघरमा राम्रो उत्पादन हुने खेतबारी बाँझिएका छन् । गाउँमै पनि कृषिजन्य उत्पादन बाह्य बजारबाट आयात गर्नुपर्ने बाध्यता बनेको छ । सँगै, विदेश जाने प्रचलन बढ्दै गएपछि स्वदेशमै व्यवसाय वा उद्योग खोल्ने उत्साह छैन । विशेषगरी साना तथा मझौला उद्योगहरू बन्द भएको अवस्था छ ।
मानिसहरू आफूसँग भएको सीपलाई पनि प्रयोग गरिरहेका छैनन् । समग्रमा हेर्दा, विप्रेषणले उपभोग क्षमता बढाएको छ भने आन्तरिक उत्पादन घटाएको छ, जसले समग्रमा अर्थतन्त्रलाई नै खलबल्याएको छ ।
जब मानिस विप्रेषणको पछि लाग्न थाल्यो, तब मानिसमा नवप्रवर्तन र दीर्घकालीन सोच पनि सेलाउन थाल्यो । विप्रेषणले सजिलै पैसा आउने मनोवृत्ति बढाउँछ, जसले दीर्घकालीन सोच र नवप्रवर्तनलाई हतोत्साहित गर्छ ।
विप्रेषणले तत्काल राहत प्रदान गरे पनि यसमा निर्भरता रहिरहे दीर्घकालीन रूपमा नेपालको अर्थतन्त्र, समाज, र उत्पादन प्रणालीलाई कमजोर बनाउँछ । यसको विकल्पका रूपमा स्वदेशमै रोजगारी सिर्जना गर्ने, उत्पादनमूलक उद्योग प्रवद्र्धन गर्ने र विप्रेषणलाई दीर्घकालीन लगानीमा रूपान्तरण गर्ने रणनीति आवश्यक छ । यदि समयमै यो निर्भरतालाई घटाउन सकिएन भने नेपालले आर्थिक अस्थिरता र विकासको गतिमा ठूलो अवरोध भोग्नुपर्छ ।
विप्रेषणले निम्त्याएको समस्यालाई चर्चा गरिरहँदा यसको चक्रबाट मुक्त हुने उपायहरूमाथि छलफल गरिनु पनि निकै आवश्यक छ । यदि विप्रेषणको यो चक्रबाट मुक्त हुन सकेनौं भने हाम्रो मुलुकको अर्थतन्त्र यही अवस्थामा रहन सक्दैन । हामी जुनसुकै बेला दुर्घटनामा पर्न सक्छौं, जुन दुर्घटना असामान्य प्रकृतिको समेत हुन सक्छ ।
समाधानका उपाय
नेपालबाट श्रमिकहरू विदेश जानुको मुख्य कारण रोजगारीको अभाव हो । यदि यसलाई सम्बोधन गर्न सकिएमा युवा शक्ति पलायनलाई रोक्न सकिन्छ, जसले हाम्रै गाउँ ठाउँलाई विकास गर्नमा मद्दत मिल्ने छ ।
यद्यपि, रोजगारी सिर्जनाका लागि तत्कालीन र दीर्घकालीन मोडलमा काम हुनुपर्छ । अहिलेको सन्दर्भमा साना र मझौला उद्योगको विकास गर्नु आवश्यक छ । औद्योगिक क्षेत्रहरू निर्माण गरी उत्पादनमूलक उद्योगहरू स्थापना गर्नुपर्छ । यसले रोजगारी सिर्जना मात्र गर्दैन, निर्यात पनि बढाउँछ ।
सँगै, कृषिलाई व्यावसायिक बनाउनु र आधुनिक प्रविधिको प्रयोग गरी उत्पादनशीलता बढाउनुपर्छ । कृषिमा आधारित उद्योग स्थापना गरी किसानलाई उत्पादनसँग प्रत्यक्ष जोड्न सकिन्छ । कृषि उत्पादनलाई व्यवस्थित गराउन सकेमा आयात प्रतिस्थापन गर्न त सकिन्छ नै सँगै हाम्रा उत्पादनलाई दिगो मोडलमा पनि विकास गर्न सकिन्छ ।
यसो भनिरहँदा हामीले श्रमिकहरूलाई रोजगारी बजारमा आवश्यक सीप (जस्तै : प्राविधिक सीप, सूचना प्रविधि, निर्माणसम्बन्धी सीप) प्रदान गर्न तालिम कार्यक्रमहरू सुरु गरिनुपर्छ । आज नेपालको सन्दर्भमा दक्ष जनशक्ति नहुनु पनि अर्को समस्या हो ।
हामीले विप्रेषणलाई गणना गरिरहँदा विप्रेषणलाई सही परिचालन गर्ने नीति पनि लिनुपर्छ । जबसम्म हामीले विप्रेषणलाई प्रयोग गर्न सक्दैनौं, तबसम्म हाम्रो अर्थतन्त्रलाई आत्मनिर्भर प्रकृतिको बनाउन सक्दैनौं । आज नेपालमा विद्युत् उत्पादनको ठूलो सम्भावना छ ।
जलविद्युत् उत्पादन गरी ऊर्जा निर्यात गर्न सकिन्छ । यसले ठूलो मात्रामा रोजगारी सिर्जना गर्न सक्छ । साथै, नेपालमा धार्मिक, सांस्कृतिक र साहसिक पर्यटनको ठूलो सम्भावना छ । यस क्षेत्रलाई प्रोत्साहन गरी ग्रामीण क्षेत्रमा पर्यटन व्यवसाय सुरु गर्न सकिन्छ । राज्यले आयोजनाहरूमा विप्रेषण लगानी गर्ने कार्यक्रम बनाउन आवश्यक छ ।
आज विदेशबाट फर्किएका युवाहरू नेपालमा केही गर्न नसकेर फेरि विदेश जाने अवस्था पनि छ । न उनीहरूको मनोविज्ञानलाई परिवर्तन गर्न सकिएको छ, न त उनीहरूको सीपलाई प्रयोग गर्न सकिएको छ । यस्तो सन्दर्भमा विदेशबाट फर्किएका श्रमिकहरूलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराई उनीहरूको अनुभव र पुँजीलाई व्यवसायमा लगानी गर्न उत्प्रेरित गर्ने नीति ल्याउनुपर्छ । राज्यले क्रमबद्ध रूपमा त्यस्ता कार्यक्रम बनाउन आवश्यक देखिन्छ ।
विदेश गएका युवालाई नेपालमै फर्काउने योजनाका लागि सामाजिक सुरक्षा कोष पनि महत्त्वपूर्ण अंश हो, जुन राज्यलाई दीर्घकालीन हिसाबले बलियो बनाउने कार्यक्रम पनि हो । विप्रेषणमा आधारित सामाजिक सुरक्षा कोष स्थापना गरी श्रमिकहरूले जम्मा गरेको रकमलाई दीर्घकालीन परियोजनामा लगानी गर्ने कार्यक्रम बनाउनु अहिलेको आवश्यकता हो ।
निष्कर्ष
नेपालमा रोजगारीमूलक शिक्षाको चरम अभाव छ । प्राविधिक र व्यावसायिक शिक्षा प्रणालीलाई प्रवद्र्धन अहिलेको आवश्यकता हो । विद्यार्थीहरूले पढाइ सकेपछि सजिलै रोजगारी पाउने खालका कार्यक्रम ल्याउनुपर्छ । विदेशबाट फर्केका व्यक्तिहरूले प्राविधिक ज्ञान र अनुभवसँगै पुँजी पनि ल्याएका हुन्छन् । उनीहरूलाई स्थानीय क्षेत्रमा रोजगारी सिर्जना गर्ने योजनामा संलग्न गराउनुपर्छ ।
वैदेशिक रोजगारीमा जानेहरूको संख्या घटाउन दीर्घकालीन रणनीतिहरू लागू गर्नुपर्छ । सरकारी निकायहरू सक्रिय भएर वैकल्पिक रोजगारीका अवसरहरू सिर्जना गर्न लाग्नुपर्छ, जसमा सहकारी प्रणालीमार्फत साना किसान र उद्यमीहरूलाई वित्तीय सहायताको पहुँचमा ल्याउन सकिन्छ ।
नेपालमै विदेशी लगानी आकर्षित गरेर रोजगारी सिर्जना गर्न सकिन्छ । विप्रेषणको ठूलो हिस्सा ग्रामीण क्षेत्रमै प्रयोग हुन्छ । तर, यो मुख्यतः व्यक्तिगत खपतमा सीमित छ । यसलाई सुधार गर्न आवश्यक छ ।
सडक, बिजुली र संचारको पहुँच सुधार गरी ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउनुपर्छ । सरकार, गैरसरकारी संस्था, र निजी क्षेत्रबीच सहकार्य गरी स्थानीय स्तरमा रोजगारीमूलक परियोजना संचालन गर्नुपर्छ ।
विप्रेषणले नेपालको आर्थिक चक्रलाई तत्काल राहत दिएको छ तर दीर्घकालीन रूपमा यो आत्मनिर्भर अर्थतन्त्रको विकल्प बन्न सक्दैन । दीर्घकालीन योजना, उद्यमशीलता प्रवद्र्धन, शिक्षा प्रणालीमा सुधार र रोजगारीमूलक नीति लागू गरेर मात्र नेपाल विप्रेषण निर्भरता घटाउँदै आर्थिक रूपमा आत्मनिर्भर हुन सक्छ । यसमा सरकार, निजी क्षेत्र र समाजको सहकार्य अत्यन्त आवश्यक छ ।