नेपाल कृषि प्रधान देश भनेपनि कृषि क्षेत्रको अपेक्षित विकास हुन सकेको छैन । कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकीरणमा सरकारको प्राथमिकता नहुँदा कृषि क्षेत्र फस्टाउन सकेको छैन । कृषि क्षेत्रको विकासको लागि यान्त्रिकीरण गर्ने रणनीति नबनाउने हो भने कृषि क्षेत्रबाट जनशक्ति अझै पलायन हुने अवस्था सृजना हुन सक्छ । कृषिमा व्यावसायीकरण कति आवश्यक भन्ने विषयमा नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष कृष्ण शर्मासँग मध्यान्हका छबि सापकोटाले गरेको कुराकानी ।
नेपालमा कृषि मेसिनरीको प्रयोगको अवस्था कस्तो छ ?
नेपालका कृषिमा यान्त्रिकीकरणको विकास निरन्तर बढिरहेको छ । युवा जनशक्ति पलायन हुँदै गर्दा काम गर्ने साधनको रूपमा मेसिनरी उपकरणको माग बढ्दो गतिमा छ । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाले नेपालको कृषि यान्त्रिकीकरणलाई केही भएपनि बढाउने काम गरेको छ । कृषिमा यान्त्रिकीकरण आवश्यकता भन्दा पनि बाध्यता बनेको छ । काम गर्न सक्ने जनशक्ति पलाउन भइरहेको अवस्था यन्त्रको प्रयोग गर्नेको संख्या देशभर नै बढेको हो । जमिन तयार गर्ने मेसिनको प्रयोगमा हामी धेरै नै माथि पुगेका छौं ।
जोत्ने र दाउनेका लागि मेसिनको प्रयोग बढ्दो छ । तर, पोष्ट हार्भेष्ट र प्लान्टीङमा अतिकति पछाडि छौं । हाम्रो नीतिलाई अलि सहज बनाइदिने र नयाँ प्रविधि भित्र्याउनका लागि सरकारले सहजिकरण गरिदिने हो भने हामीले नेपालको कृषि आधुनिकरणलाई धेरै नै अगाडि बढाउन सकिन्छ । कृषि प्रधान देशमा ग्रामीण अर्थतन्त्रको सुधारको लागि कृषि यान्त्रिकीरण प्रवद्र्धनका कार्यक्रम अझै धेरै आवश्यक छ ।
कृषि क्षेत्रमा उत्पादन बढाउन कृषि मेसिनरी उपकरणको आवश्यकता कति छ ?
हाम्रोमा अझै महँगा खालका कृषि उपकरण आउन सकेका छैनन् । हार्भेष्ट र प्लान्टिङ गर्ने टेक्नेलोजीको किन्न धेरै पर्ने र काम लाग्ने समय समेत निकै कम हुँदा ठूला मेसिनमा लगानी हुन सकिरहेको छैन । प्रविधि नै महँगो, टेक्निकल रूपमा समेत काम गर्न कठिन हुने भएकोले ल्याउन सकिएको छैन । यस्तै सरकारले समेत यस्ता महँगा उपकरण ल्याउनका लागि प्रोत्साहन गर्ने नीति नै छैन । कृषि मेसिनरीको आवश्यक बढ्दो भएपनि नेपालको प्राथमिकतामा पर्न सकेको छैन ।
कस्ता मेसिनको प्रयोग कृषि क्षेत्रमा भइरहको छ ?
विशेषगरी धानबाली, गहुँ बालीको खेती गर्ने बेलामा जमिन तयार गर्नका लागि प्रयोग हुने मेसिन धेरै प्रयोग भइरहेको छ । यस्तै अन्नवाली दाउनका लागि प्रयोग हुने मेसिन पछिल्ला वर्षमा भित्रिरहेका छन् । केही वर्ष अघि भारतका भाडाको मेसिनरी प्रविधि आउने गरेका थिए तर, अहिले रोकिएको छ । नेपालीले नै चलाउने कृषि उपकरणहरू प्रयोग भइरहेका छन् । अहिले तराईमा ट्रयाक्टर र पहाडमा हाते ट्रयाक्करको प्रयोग बढ्दो छ । यस्तै दाइँका लागि थे्रसरको प्रयोग तराईमा मात्र हुने गरेकोमा अहिले पहाडी क्षेत्रमा समेत बढ्दो छ । देशभरी कृषि मेसिनरी उपकरणको पहुँच छ । ट्रक्याटरमा जोडिने रोडाभेटर, कल्टिभेटर, पहाड भू–भागमा हलुका र कम कार्य क्षमता भएका मेसिनरी औजारहरूको प्रयोग अहिले बढ्दै गएको छ ।
कृषि क्षेत्रमा विकासको लागि मेसिनरी समानहरूको आवश्यकता कति छ ?
नेपालको कृषि क्षेत्र मेसिनरी प्रविधिको प्रयोग निकै नै कम छ भन्दा पनि हुन्छ । पहिला हरेक घरमा एक जोडी हल गोरु पाल्ने चलन थियो । अहिले हलगोरुको काम प्रविधिले गरिरहेको छ । अहिले हरेक घरमा कृषिको लागि प्रयोग हुने साना साना कृषि उपकरण माग बढ्दो छ । अब कृषि गर्ने घरलाई सानो हाते ट्क्यार मात्र हुने व्यवस्था गर्ने हो भने हाम्रा खेतवारी बाँझो हुनबाट रोक्न सकिन्छ । अहिले देशमा काम भएन बनेर विदेश जानलाई समेत रोक्न सक्ने क्षेत्र नै कृषि हो । त्यसैले कृषि क्षेत्रको विकासमा सरकारको पहिलो प्राथमिकता हुन आवश्यक छ ।
कृषिमा यान्त्रिकीकरण लागि सरकारको तर्फबाट कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?
कृषि यान्त्रिकीरण भनेको कृषि क्षेत्रको मेरुदण्ड हो । यन्त्रिकीरणमा जुन हिसाबले राज्यको उपस्थिति हुनुपर्ने थियो त्यो छैन । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको २४ प्रतिशत योगदान छ । कृषि औजार र प्रविधि विना अब कृषि सम्भव छैन । जुन हिसाबले राज्यले काम गर्नुपर्ने हो त्यो अपुग नै छ । कृषि मन्त्रालयमा यान्त्रिकीकरणमा छुट्याउने बजेट नै छैन भन्दा हुन्छ ।
अब कम यान्त्रिकीकरण भएका जिल्लाहरूका विशेष फोकस गर्ने कार्यक्रम लैजान आवश्यक छ । यान्त्रिकीकरण बढाउने हो भने देशको जिडिपीमा कृषिको योगदान थप बढाउन सकिन्छ । यन्त्रिकीकरणले उत्पादकत्व बढ्छ लागत घट्छ । विश्व बजारमा नेपाली उत्पादनले स्थान नपाउनु मूल्य नपाउनु भनेको लागत नै धेरै हुनु हो । यान्त्रिक प्रविधिको प्रयोग बढाउनुपर्छ, त्यसले लागत घटाउन मद्दत गर्छ । लागत घटेपछि बजारमा प्रतिस्पर्धा गर्न सकिन्छ त्यसका लागि सरकारले यान्त्रिकीकरणको सहजिकरणमा नीतिगत रूपमै व्यवस्था गर्नुपर्छ ।
देशमा उत्पादन गर्न सकिने उपजलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने र कृषिलाई यान्त्रिकीकरणमा जोड्नु नै आजको आवश्यकता हो । नेपाली उत्पादनले बजार नपाउनु भनेको छिमेकी राष्ट्रबाट आउने कृषि उपज प्रमुख कारण हो । भारतबाट आउने कृषि उपज सस्तो हुँदा नेपालीले उत्पादन गरेका वस्तुको मूल्य पाउँदैन । एक पटक मूल्य नपाएपछि अर्काे पटक कृषिबाट किसान नै पलायन भएको उदाहरण धेरै छ । त्यसैले कृषिमा आत्मनिर्भरको बाटोमा लाग्ने हो भने अब विदेशबाट आयात हुने कृषि उत्पादनमा भन्सारमा राजस्वको दर बढाउने देखि नेपालमा कृषिमा लगानी गर्नेलाई सहुलियत कर्जा र बजारीकरणमा ध्यान दिन आवश्यक छ ।