-डा. आर. सी. लामिछाने
आगामी १६ देखि १९ माघसम्म इस्टर्न रिसर्च इन्स्टिच्युट अफ पोजिटिभ साइन्स (इरिप्स)ले सकारात्मक संचार र नेतृत्व विकासका लागि प्रसंसनीय खोज तालिमको आयोजना गरेको छ ।
प्रसंशनीय खोज एक यस्तो सकारात्मक दृष्टिकोण हो, जसले व्यक्ति, परिवार, समूहहरू, संस्थाहरू, समुदाय तथा देशमा भएका सबल पक्षहरू, सफलताहरू एवं संभावनाहरूको पहिचान गरी त्यसको अधिकतम उपयोगद्वारा सकारात्मक रूपान्तरण र दिगो विकासको मार्ग प्रशस्त गर्छ ।
यो विधि समस्या सामाधान विधिको ठीकविपरीत सबलतामा आधारित विधि हो । यस विधिले व्यक्तिको सोचलाई सकारात्मक तरिकाले उत्प्रेरित गरी सकारात्मक प्रश्नहरूको माध्यमवाट व्यक्ति, परिवार, संघसंस्था, समूह, समुदाय र देशकै नयाँ भविष्य निर्माणका लागि सकारात्मक दृष्टिकोण निर्माण गर्छ ।
नेपालमा विभिन्न संघसंस्थाहरूले यस विधिको प्रयोग गरी क्षमता अभिवृद्धिका कार्यक्रमहरू संचालन गरेका छन् भने इस्टर्न रिसर्च अफ पोजिटिभ साइन्ससँगको सहकार्यमा विभिन्न महानगरपालिका, नगरपालिका र गाउँपालिकाहरूको आवधिक योजना, दूर दृष्टि दस्तावेज, क्षमता अभिवृद्धि कार्यक्रमहरू संचालन गरिएका छन् ।
विभिन्न मन्त्रालयअन्तर्गतका कार्यालयहरू, गैरसरकारी संघसंस्थाहरू, व्यापारिक संघ संगठनहरू, विद्यालयहरू, कलेजहरू, अस्पतालहरू, मेडिकल कलेजहरू आदिले पनि आफ्ना कर्मचारीहरू, पदाधिकारीहरू तथा सदस्यहरूका लागि क्षमता अभिवृद्धि कार्यक्रमहरू संचालन गरेका छन् ।
इरिप्सले समग्र समाजको सकारात्मक रूपान्तरणमा सहजीकरण गर्ने उद्देश्यका साथ नियमित रूपमा प्रसंशनीय खोज विधिमा तालिमहरू संचालन गर्दै आएको छ । ‘सकारात्मक संचार तथा नेतृत्व विकासका लागि प्रसंशनीय खोज तालिम’ पनि त्यसै शृंखलाको एक तालिम हो ।
सकारात्मक संचार किन जरुरी हुन्छ ?
संचार भनेको विचार, भावना र जानकारी आदानप्रदान गर्ने प्रक्रिया हो । व्यक्तिगत तथा व्यावसायिक जीवन र नेतृत्वलाई प्रभावकारी र सफल बनाउन संचारको भूमिका महत्त्वपुर्ण हुन्छ ।
सकारात्मक संचार भन्नाले व्यक्तिहरूबीच हुने संवाद र संचार प्रक्रियामा आशावादी, सामाधानमुखी सोच र सहयोगी दृष्टिकोण निर्माण गर्नुलाई बुझाउँछ । सकारात्मक संचार प्रक्रियामा अत्यन्तै प्रतिकूल अवस्थामा पनि सकारात्मक एवं जीवनदायी ऊर्जाहरूको खोज, सिर्जनात्मक विचार, सम्मानजनक व्यवहारलाई प्राथमिकता दिइन्छ ।
सकारात्मक र स्पष्ट संचारले पारिवारिक, सामाजिक र पेसागत सम्बन्धलाई सुदृढ बनाउँछ भने एकआपसमा विश्वास र आत्मीयता बढाउँछ । सकारात्मक र स्पष्ट संचारले आत्मविश्वास बढाउनुका साथै नयाँ ज्ञान सिक्न र सिकाउन अभिप्रेरित गर्छ ।
यसले असमझदारीहरूलाई हटाएर समस्याहरूको सामाधानका लागि नयाँनयाँ अवसरहरू सिर्जना गराउँछ भने व्यक्तिहरूलाई उत्प्रेरित गरी मानसिक रूपमा बलियो बनाउँछ । सकारात्मक संचार प्रक्रियामा कमजोरी, आलोचना, दोषारोपणको बदलामा सकारात्मक सुझाव, प्रशंसा एवं उत्प्रेरणादायी भाषाको प्रयोग गरिन्छ ।
सकारात्मक नेतृत्व कस्तो हो ?
व्यक्ति स्वयं तथा आफ्ना अनुयायीहरू र सदस्यहरूमा सकारात्मक दृष्टिकोण, सृजनशीलता, सहकार्यको भावना र प्रेरणादायी अवस्थाको सेजना गरी सकारात्मक रूपान्तरणका लागि मानसिक तथा भौतिक रूपमा उत्प्रेरित गर्ने क्षमता, सीप र कला नै सकारात्मक नेतृत्व हो ।
यस प्रकारको नेतृत्वले प्रेरणा, सहकार्य, आशावादको माध्यमबाट लक्ष्य प्राप्त गर्न सदस्यहरूको व्यक्तिगत, सामूहिक तथा संस्थागत क्षमताको अधिकतम उपयोग गर्छ । सकारात्मक नेतृत्वले सदस्यहरू, समूह तथा संस्थाको कमजोरी, नकारात्मक र असफलताको बदलामा सबल पक्षहरू, सफलता र सफलताका कारणहरू, क्षमता, भविष्यको चाहना र संभावनाहरूको खोजबिन तथा लेखाजोखा गरेर सदस्यहरूको वा भनौं, नागरिकहरूको मनोबल र आत्मविश्वास बढाउँछ र साझा लक्ष्य प्राप्तिका लागि विपक्षीलगायत सबैलाई एकजुट बनाउँछ ।
सकारात्मक नेतृत्व किन फरक छ ?
नेतृत्व भनेको समूह, सदस्यहरू वा अनुयायीहरूलाई लक्ष्यप्राप्तिका लागि मार्गनिर्देशन गर्ने कला हो । सामान्य प्रकारको नेतृत्वले केवल निर्देशन र अधिकारको आधारमा काम गर्छ भने सकारात्मक नेतृत्वले अनुयायीहरू वा सदस्यहरूका क्षमता, सबल पक्षहरू, संभावना र चाहनाहरू पहिचान गरेर सोकै आधारमा उत्प्रेरणा, सहकार्य र समन्वयात्मक तरिकाले काम गर्छ र सकारात्मक परिणामको सुनिश्चित गर्छ ।
–साझा दृष्टिकोण निर्माण : सामन्य प्रकारका नेतृत्वले आफनो दृष्टिकोणलाई नै समूह वा संस्थाको दृष्टिकोणको रूपमा परिभाषित गर्छन् तथा पद र शक्तिको दुरुपयोग गरेर संस्थाको स्रोत, साधन तथा कर्मचारीहरू, सदस्यहरू सबैलाई आफ्नै दृष्टिकोणअनुसार काम गर्न आदेश दिन्छन् । वा, त्यस्तै वातावरण निर्माण गर्छन् भने सकरात्मक नेतृत्वले संस्थाका सबै कर्मचारीहरू वा समूहका सबै सदस्यहरूको संयुक्त सहभागितामा साझा दृष्टिकोण निर्माण गर्छन् र सो दृष्टिकोणअनुसार काम गर्न सबैलाई उत्प्रेरित गर्छन् र सकारात्मक परिणाम प्राप्तिका लागि अगुवाइ गर्छन् ।
–संचार र संवादको तरिका : सामान्य प्रकारको नेतृत्वले आदेशात्मक वा निर्देशनात्मक तरिकाले संचार प्रवाह गर्छन् भने सकारात्मक नेतृत्वले हरेक सदस्यको विचार बुझ्ने र सबैको आत्मसम्मानको रक्षा हुनेगरी सकारात्मक तरिकाले उत्प्रेरणा जगाउनेगरी संचार गर्छन् ।
–समस्यासँगको व्यवहार : सामान्य प्रकारको नेतृत्वले सानातिना समस्यामा पनि आफू मातहतका कर्मचारीहरू, सदस्यहरू वा सहयोगीहरूलाई दोष लगाउँछन् र जमेर आलोचना गर्छन्, जसले गर्दा पूरा संस्थाभित्र नै नकारात्मक र दोषारोपणको वातावरण निर्माण हुन्छ ।
सकारात्मक नेतृत्वले समस्याले सिर्जना गरेको अवस्थामा र त्यो अवस्थामा निर्माण हुन सक्ने अवसरहरू र कसको दक्षता र क्षमताको प्रयोग गर्दा ती अवसरहरूको सदुपयोग गरेर समस्या सामाधान गर्दै नयाँ अवसरहरू सिर्जना गर्न सकिन्छ भन्ने खोज गर्छ र सोहीअनुसार सबैसँग सद्भाव पूर्ण व्यवहार गर्दै सहकार्य गरेर एकअर्कालाई प्रशंसा गर्दै सकारात्मक परिणाम निकाल्ने वातावरण निर्माण गर्छ ।
–प्रेरणाको शैली : सामान्य प्रकारका नेतृत्वले पद र शक्तिको आडमा निर्देशनात्मक शैलीमा सदस्यहरू वा कर्मचारीहरूलाई काम गर्न आदेश दिन्छन् भने सकारात्मक नेतृत्वले कर्मचारीहरू वा सदस्यहरूको क्षमता र दक्षताको पहिचान गर्छन् र उनीहरूको भावनालाई लक्ष्यसँग जोडेर लक्ष्य प्राप्तिका लागि उत्प्रेरित गर्छन् ।
–परिणाममा ध्यान : सामान्य प्रकारका नेतृत्वले प्रक्रियागत कुराहरू, जस्तै : कानुन, मानवअधिकार, कर्मचारी तथा सदस्यहरूको आत्मसम्मान आदिलाई ध्यान नदिई परिणाम मात्र प्राप्त गर्ने कुरामा ध्यान दिन्छ र सफलताको श्रेय आफैंले मात्र लिन्छ भने सकारात्मक नेतृत्वले कर्मचारीहरू तथा सदस्यहरूको आत्मसम्मान, ऐन, नियम, कानुनलगायत सबै प्रक्रियाहरूलाई समेत ध्यान दिई परिणाम प्राप्ति गर्न उत्प्रेरित गर्छ, सफलताको श्रेय सबैलाई दिन्छ र परिणाम प्राप्तिको यात्रा नै सिकाइ र विकासको अवसर हो भन्ने मान्यता राख्छ ।
–व्यक्तित्व विकास : सामन्य नेतृत्वले कर्मचारीहरू तथा सदस्यहरूलाई लक्ष्य प्राप्ति गर्ने साधनको रूपमा मात्र हेर्छ भने सेवा र सुविधा पनि आफ्ना नजिकका, आफ्नै पार्टीका, जातका, इष्टमित्र आदि हेरेर निर्णय गर्छ तर सकारात्मक नेतृत्वले कर्मचारीहरू तथा सदस्यहरूको व्यक्तिगत र व्यावसायिक दक्षता तथा क्षमता अभिवृद्धि गर्दै सबैलाई समन्यायिक तरिकाले अवसरहरू वितरण गर्छ र सामाजिक विविधतालाई शक्तिको रूपमा प्रवद्र्धन गर्छ ।
सकारात्मक संचार र नेतृत्वको आवश्यकता
नेपाल जस्तो बहुजातीय, बहुभाषिक, बहुसँस्कृतिले भरिपूर्ण, सामाजिक, प्राकृतिक तथा व्यावसायिक विविधताले भरिपूर्ण देशमा सकारात्मक नेतृत्वले सबै तह र तप्काका सबल पक्षहरू, सफल अभ्यासहरू, सिकाइहरू, संभावना र सपनाहरूको खोजविन गरेर सबैलाई मान्य हुने साझा दृष्टिकोण निर्माण गर्न अभिप्रेरित गर्छ ।
हाल नेपालमा चारैतिर नकारात्मक सोच, दोषारोपण, निराशा र अविश्वास व्याप्त छ । एकले अर्काको कमजोरी खोतल्ने र आलोचना तथा दोषारोपण गर्ने राष्ट्रिय संस्कृति नै भएको छ । यस्तो अवस्थामा नकारात्मकतालाई सकारात्मकतामा बदलेर सकारात्मक सँस्कृतिको निर्माण गर्न घर परिवारदेखि सबै प्रकारका संघसंस्थाहरू र सबै तहको नेतृत्वलाई सकारात्मक नेतृत्वको रूपमा विकास गरेर समग्र देशको सकारात्मक रूपान्तरण गर्ने आधार निर्माण गर्न सकिन्छ ।
सकारात्मक नेतृत्वले नेपालको सबै स्थानमा सामाजिक एकता निर्माण गर्न, सहकार्य र विश्वासको वातावरण निर्माण गर्न, युवाहरूलाई उत्प्रेरणा गर्न, आर्थिक विकासलाई गति दिन र दिगो विकासलाई सुनिश्चित गर्न चामत्कारिक भूमिका खेल्छ । नेपालमा निम्न कारणले गर्दा सकारात्मक संचार र नेतृत्व अतिआवश्यक छ ।
–सहकार्य र सहअस्तित्वको विकास : नेपाल जस्तो विविधतायुक्त देशमा सहकार्य र सहअस्तित्वको प्रवद्धन अतिआवश्यक छ । सकारात्मक संचार र नेतृत्वले विभिन्न जात, धर्म र क्षेत्रका मानिसहरूका सकारात्मक कुराहरू उजागर गरेर सबैलाई एक ठाउँमा ल्याएर साझा दृष्टिकोण निर्माण गर्न, सामूहिक लक्ष्य निर्माण र प्राप्त गर्न अभिप्रेरित गर्छ ।
–समस्या सामाधान र नयाँ अवसरहरू सिर्जना गर्न : नकारात्मक र आलोचनात्मक संचार शैलीले विवाद र विभाजन ल्याउँछ भने सकारात्मक संचार र नेतृत्वले सामाधानमुखी सोच ल्याएर समस्या सामाधानका लागि प्रभावकारी उपायहरू खोज्न अभिप्रेरित गर्छ । यस प्रक्रियाले शान्ति निर्माण, सहकार्य र सद्भाव अभिवृद्धिमा विशेष योगदान दिन्छ ।
–आर्थिक विकासका लागि उत्प्रेरणा : सकारात्मक संचार र नेतृत्वले उद्यमशीलता, नवप्रवर्तन, र सहकार्यको वातावरण सिर्जना गरेर आर्थिक विकासलाई गति दिन्छ । यसले संस्थाका कर्मचारीहरू र समूहका सदस्यहरूबीच सद्भाव र सहकार्य अभिवृद्धि गरी सिर्जनशीलता, उत्पादनशीलता र प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्छ ।
–राजनीतिक स्थायित्व र विश्वास निर्माण : नेपालको राजनीतिमा व्याप्त नकारात्मकताको प्रभाव घरघर र व्यक्तिव्यक्तिमा परेको छ भने सकारात्मक संचारको अभावले नागरिकहरू र नेताहरूबीच दुरी बढाएको यथार्थ हाम्रो सामु छ ।
सकारात्मक संचार र नेतृत्वले सकारात्मक कुराहरू, विगतका सफलताहरू र भविष्यका अवसरहरू खोजेर सकारात्मक सवालहरू प्रस्तुत गर्छ र सकारात्मक तथा विश्वासको वातावरण निर्माण गरी नेतृत्वलाई जबाफदेही र जिम्मेवार बनाउँछ भने नागरिकहरूलाई सशक्त बनाउँछ ।
–सामाजिक एकता, मेलमिलाप र युवा सशक्तीकरण : सकारात्मक संचार र नेतृत्वले सबै प्रकारका गलतफहमीहरूलाई हटाई आपसी विश्वास र एकता निर्माण गर्न मद्धत गर्छ । यसले सामाजिक सम्वन्ध सुधार गर्न, मेलमिलाप ल्याउन र विवाद कम गर्न प्रभावकारी भूमिका खेल्नुका साथै युवाहरूलाई उत्प्रेरित गरी सही मार्गनिर्देशन प्रदान गरेर आत्मविश्वास वढाउन र सिर्जनशील हुन उत्प्रेरित गर्छ ।