सिरहा : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको राजनीतिक परिपाटीलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
सिरहाको गोलबजारमा आयोजित “जनतासँग जसपा नेपाल: आधारभूत संगठन निर्माण अभियान” अन्तर्गत प्रशिक्षण कार्यक्रममा अध्यक्ष यादवले पार्टीको संगठनलाई जनस्तरसम्म मजबुत बनाउँदै मुलुकको राजनीतिक परिपाटीलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको औंल्याएका हुन् ।
उनले आधारभूत संगठन निर्माण अभियानले पार्टीलाई थप सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
सिरहा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ र ४ अन्तर्गत जनता समाजवादी पार्टी (जसपा) नेपालको अभिमुखीकरण कार्यक्रम गोलबजारबाट प्रारम्भ भएको हो ।
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता र शुभेच्छुकहरूको उत्साहजनक सहभागिता रहेको थियो । उपस्थितहरूले अभियानलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गर्दै संगठनलाई बलियो बनाउन पहल गर्ने दृढता व्यक्त गरेका छन् ।