
काठमाडौँ : नेपाली कांग्रेसको संस्थापन पक्षले पूर्वसभापति शेरबहादुर देउवा समूहलाई पार्टी एकताको प्रक्रियामा सहभागी हुन आग्रह गर्दै शीर्ष नेताहरूको सम्मानजनक व्यवस्थापनका लागि तयार रहेको जनाएको छ ।
निर्वाचन आयोगले १५ औँ महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति अद्यावधिक गरेपछि संस्थापन पक्षका नेताहरूले असन्तुष्ट समूहलाई पार्टीभित्रै रहेर मतभेद समाधान गर्न आग्रह गरेका हुन् । देउवा समूह भने मङ्सिर २१ गतेदेखि समानान्तर महाधिवेशन गर्ने तयारीमा छ ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टी एकताका लागि पूर्वसभापति देउवालगायत शीर्ष नेताहरूलाई उपयुक्त जिम्मेवारी दिन सकिने भए पनि वर्तमान नेतृत्व परिवर्तन गर्न नसकिने स्पष्ट पारेका छन् ।
आज धादिङ पुगेका महामन्त्री पौडेलले भने, ‘एकताका लागि गगन थापालाई हटाएर शेरबहादुर देउवालाई सभापति बनाउन सकिँदैन । त्यो बाहेक के उपाय छ ? त्यो लागु गर्न तयार छौँ। शेरबहादुर दाइलाई सम्मान पुग्ने अभिभावकीय पद दिन तयार छौँ ।’
अन्य शीर्ष नेताहरूलाई पनि सभापतिभन्दा तल र आफूहरूभन्दा माथिको हैसियतमा व्यवस्थापन गर्न तयार रहेको उनले बताए ।
‘कुनै नेतालाई सभापति हुने इच्छा थियो भने आएर प्रतिस्पर्धा गर्नुभएको भए हुन्थ्यो । वैधानिक प्रश्न उठाएर मात्रै बाहिर बस्नुभन्दा त्यो वैधानिक प्रश्न भित्रै आएर उठाएको भए हुन्थ्यो नि !’ पौडेलले भने । पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पाँच पटक आफ्नो पक्षमा निर्णय गरिसकेको उनको भनाइ छ ।
‘विधिको शासनभित्र एउटै पार्टीको दुइटा सभापति हुन सक्छ ? एउटै पार्टीको दुइटा जिल्ला समिति हुन सक्छ ? एउटै मतलब दुइटा पार्टीले एउटा झन्डा बोकेर हिँड्न सक्छ ? यो विधिको शासनभित्र पर्छ ? त्यसैले अदालतले नेपाली कांग्रेसको बारेमा पाँचचोटि फैसला गरिसकेको छ’ उनले भने ।
अदालतले छैटौँ पटक फरक निर्णय गरे पनि त्यसलाई स्वीकार गर्ने बताउँदै पौडेलले सरकार नै कांग्रेसलाई दुई वटा पार्टी बनाउन लागिपरेको आरोप लगाए ।
कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पनि विगतका असहमति र कमजोरीको समीक्षा पार्टीभित्रै गरेर एकताबद्ध हुन आग्रह गरेका छन् ।
‘प्रतिक्रियापछि प्रतिक्रिया र फेरि पनि प्रतिक्रिया मात्रैले कहीँ पुगिन्न मूल प्रश्न विधि, विधान, पद्धति, प्रवृत्ति, प्रक्रिया, परिस्थिति, मनस्थिति र समयको हो अतः सबैमा नम्र आग्रह छ, आउनोस् , अब कोही नअल्मलिउँ, सबै जुटौँ मूल बाटोमा !’ शर्माले भनेका छन् ।
पार्टीको आन्तरिक मतभेद समाधान गर्दै मुलुकका समस्यामा केन्द्रित हुनुपर्ने उनको धारणा छ ।
उनले भनेका छन्, ‘हामी जसको जे कमजोरी भयो, त्यसको गम्भीर समीक्षा घरभित्रै गरौँ मन माझौँ घर भित्रै, मन जोडौँ-घर भित्रै आखिर हामी सबै जान्दछौँ प्रश्न यहाँ कांग्रेसको होइन, प्रश्न देशको छ ।’
महामन्त्री डा. डिला संग्रौलाले निर्वाचन आयोगबाट १५ औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय कार्यसमिति र संशोधित विधान अद्यावधिक भएसँगै पार्टीले पूर्ण वैधानिकता प्राप्त गरेको बताएकी छन् ।
उनले भनिन्, ‘विगतका सबै तिक्तता र मतभेदहरूलाई बिर्सेर पार्टीको मूल प्रवाहमा गोलबद्ध हुन तथा सङ्गठन सुदृढीकरणको अभियानमा एकजुट भई अघि बढ्न बाहिर रहनुभएका सम्पूर्ण साथीहरूमा हार्दिक आह्वान गर्दछु ।’