
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । मंगलबारदेखि जारी बैठकमा एजेन्डामाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम बिहीबार पनि जारी रहेको पार्टीका केन्द्रीय सदस्य सुशील भट्टले बताए ।
उनकाअनुसार बैठकमा पार्टीले यही मंसिर १५ गतेदेखि सञ्चालन गर्न लागेको ‘हामी तयार छौं’ अभियानको तयारी, सुकुम्वासी व्यवस्थापन तथा रसुवाको भोटेकोशी बाढीको विषयमा केन्द्रित रहेर केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् । उनले पार्टीको १५औं महाधिवेशनबाट पारित दस्तावेजअनुसार समाजका मुद्दालाई कसरी पार्टीको एजेन्डा बनाउने भन्ने विषयमा समेत नेताहरूले धारणा व्यक्त गरिरहेको बताए ।
उनले बैठक शुक्रबार पनि निरन्तर चल्ने जानकारी दिए । शुक्रबार बैठकले पार्टीको अगामी कार्यदिशा, मुलुकको वर्तमान राजनीतिक अवस्था र सरकारका कामकारबाहीबारे उचित निर्णय लिने समेत बताए ।
उनले सानेपास्थित पार्टी कार्यालय नै पार्टीभित्रका विवादमाथि छलफल गर्न पर्याप्त ठाउँ रहेको भन्दै कांग्रेस फुट्नुभन्दा जुट्न आवश्यक रहेको समेत बताए ।