२०८१ पुष ७ गते आइतवार / Dec 22 , 2024 , Sunday
२०८१ पुष ७ गते आइतवार

पाणिनीका किसानमा सुन्तला खेतीमा आकर्षण, वडाध्यक्ष पौडेलले बेचे १० लाखको सुन्तला

ADV
सुर्य प्रसाद भुसाल
२०८१ पुष १ गते २१:२२
पाणिनीका किसानमा सुन्तला खेतीमा आकर्षण, वडाध्यक्ष पौडेलले बेचे १० लाखको सुन्तला

अर्घाखाँची : अर्घाखाँचीको पाणिनी गाउँपालिकामा परम्परागत खेती छोडेर सुन्तलाखेती तर्फ आकर्षण बढेको छ । पालिकाका ६ सय ५० भन्दा बढी घरपरिवारले अहिले सुन्तलाखेतीबाट राम्रो आम्दानी गरिरहेका छन् । धान, गहुँ, कोदो, मकै भन्दा सुन्लताखेतीबाट राम्रो आम्दानी हुन थालेपछि अरु खेती गर्ने छोडेर सुन्तला खेती गर्नेको संख्या हरेक वर्ष बढ्दो छ ।

पाणिनीका किसानले गत वर्ष सुन्तला बिक्री गरेर १ करोड भन्दा बढी आम्दानी समेत गरेका थिए । यस वर्ष पनि सुन्तलाको उत्पादन राम्रो हुँदा किसानहरू मख्ख छन् । पालिकाको वडा नम्बर १ देखि ५ सम्म व्यावसायिक सुन्तला खेती गर्ने किसानको संख्या धेरै देखिएको छ । पणेना पोखराथोक पटौटी मैदान खिदिमका किसानहरूले व्यावसायिक रूपमा सुन्तला खेती गरेर जीवनस्तरमै सुधार ल्याएको स्थानीय किसान प्रमोद गौतम बताउँछन् ।

पालिकामा किसानमात्र होइन जनप्रतिनिधिले समेत सुन्तलाखेती गरिहरेका छन् । पाणिनि गाँउपालिका–२ का वडाध्यक्ष चन्द्रकान्त पौडेलले समेत व्यावसायिक सुन्तलाखेती गरेका छन् । उनी बिहान र बेलुकाको समय आफ्नो सुन्तलाबारीमा व्यस्त हुन्छन भने दिउँसो जनताको काम गर्न वडा कार्यालयमा जान्छन् । काठमाडौं, पोखरा, पाल्पा, बुटवल, चितवनबाट आएका व्यापारीले बोटैबाट सुन्तला लैजाने गरेको अध्यक्ष पौडेलले बताए । अहिले सुन्तलाबारीबाटै प्रतिकिलो ठूलो सुन्तला ७५, मध्यम खालको सुन्तला ६० र सानो सुन्तला ३० रूपैयाँमा खरिद गरेर लैजाने गरेको र वार्षिक रूपमा ८० देखि ९० क्वीन्टल सुन्तला बिक्री हुने गरेको पौडलेको भनाइ छ । पौडेलले सुन्तला बिक्रीबाट करिब १० लाख रूपैयाँ प्रत्येक वर्ष आम्दानी गरेको बताए ।

उनकाअनुसार भूगोल र वातावरणीय हिसाबले हिमाल देखिने ठाउँ भएकोले पाणिनीमा सुन्तलाखेती राम्रो हुने गरेको छ । सुन्तलाबाट आम्दानी धेरै हुन थालेपछि बिगत केही वर्ष यता सुन्तलाखेती गर्नेको संख्या बढ्दो छ । अध्यक्ष पौडेलले भने, ‘एक दशक यता सबै घरपरिवारले सुन्तला खेती गर्न थालेका छन्, खेती नगरेर बाँझिएको जमिनमा पनि सुन्तलाका बिरुवा रोप्न थालिएको छ’, उनले भने ‘अहिले सुन्तला नलगाएको घर नै छैन मकै, धान र कोदो खेती गाउँबाट हरायो, सुन्तला खेतीबाट राम्रो आम्दानी हुने भएपछि सुन्तला लगाउनेको संख्या बढ्दो गतिमा छ ।’ 

गाउँको सबै जमिन खाली नराखी सुन्तला लगाउने अभियान चलाएको उनको भनाइ छ  । विगत १५ वर्षदेखि यहाँका किसानले सुन्तला खेती गर्दै आएका छन् । पछिल्लो समय सुन्तलाको माग बढेको र मूल्य पनि राम्रो पाउन थालेपछि पाखो बारी र खेत खाली नराखी सबै जमिनमा सुन्तलाका बिरुवा लगाउन थालेको अध्यक्ष पौडेलले बताए । वर्षमा मुस्किलले २ मुरी गहुँ, ५ मुरी मकै फल्ने बारीमा लगाएको सुन्तलाबाट वर्षमा ५ लाख भन्दा बढी आम्दानी भएको स्थानीय गनि मियाले बताए ।

सडक यातायातको सुविधा पुगेपछि बाँझिएका पाखो बारीमा झाडी फाँडेर सुन्तलाका बिरुवा रोप्ने अभियान कृषि ज्ञानकेन्द्रले चलाएको ज्ञानकेन्द्रका प्रमुख बुद्धिराज घिमिरेले  जानकारी दिए । केही वर्ष अघिदेखि स्थानीय पाणिनी गाउँपालिकाका अध्यक्ष तथा कांग्रेस नेता अच्युत गौतमको अगुवाइमा गाउपालिकालाई सुन्तला गाउँ बनाउने अभियान सुरु भएको थियो ।

कृषि ज्ञानकेन्द्र अर्घाखाँचीले गाउँपालिकाका ७ वटा वडामा सुन्तला खेती विस्तारका लागि नयाँ बिरुवा वितरण, किसानलाई बगैँचा र कीरा व्यवस्थापनसम्बन्धी तालिममा सहयोग गर्दै आएको छ । बेमौसममा सुन्तला बिक्री गर्नका लागि पाणिनीमा तत्कालीन कृषि विकास कार्यालयको सहयोगमा सुन्तला भण्डार गर्ने भवनसमेत निर्माण गरी सुन्तला भन्डारण समेत सुरु गरिएको छ । सुन्तलाबाट नै समृद्धि भित्रिन थालेपछि किसान उत्साहित देखिएका छन् । निर्वाहमुखी कृषिबाट व्यावसायिक कृषिको विकास भएसँगै जिल्लाका अन्य स्थानका किसानले समेत सुन्तलाखेती गर्न थालेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise