२०८२ कार्तिक २० गते बिहिवार / Nov 06 , 2025 , Thursday
२०८२ कार्तिक २० गते बिहिवार
Ads

धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण

shivam cement
२०८२ कार्तिक २० गते ०८:२५
Shares
धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण

म्याग्दी : मंगला गाउँपालिका-५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा अवस्थित धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण भएको छ ।

समुद्र सतहदेखि दुई हजार ९३२ मिटर उचाइमा अवस्थित तिनचुले पुग्ने सडक, पदमार्ग, खानेपानी र आश्रय स्थलको व्यवस्था भएपछि त्यहाँको शिवालय मन्दिर, बराह तालमा पूजाआजा, हिमशृङ्खला, सूर्योदय र पहाडी भूगोलको दृश्यावलोकन गर्न आउनेको चहलपहल बढेको छ ।

पर्यटकीय क्षेत्र तिन चुले संरक्षण तथा प्रवर्द्धन समितिका अध्यक्ष धनबहादुर घर्तीले पूर्वाधार निर्माण भएपछि कात्तिक पूर्णिमाका दिन तिन चुले बराहमा तोरण तार्ने धार्मिक मेला भर्न र अन्य समय प्राकृतिक सौन्दर्यमा रमाउन आउनेको सङ्ख्या बढेको जानकारी दिए ।

“गण्डकी प्रदेश सरकार, ताराखोला, मंगला गाउँपालिका र समुदायको साझेदारीमा यहाँ पूर्वाधार निर्माण भएको हो”, उनले भने, “केही वर्ष अघिसम्म सुनसान तिन चुलेमा स्वदेशी पर्यटकको आगमन  बढ्न थालेको छ ।”

ताराखोला गाउँपालिकाको रु. २० लाख बजेटबाट गत आर्थिक वर्षमा तिन चुलेको शिवालय मन्दिर पुनर्निर्माणका साथै माझखर्कदेखि तिनचुलेतर्फ जाने २१० मिटर ढुंगा बिछ्याएर पदमार्ग निर्माण गरिएको थियो । 

स्थानीयले चन्दा संकलन गरेर माझखर्कमा वनभोज स्थल र आश्रय स्थल निर्माण गरेका छन् । अघिल्लो वर्ष ताराखोला गाउँपालिकाको रु. सात लाख बजेटबाट मन्दिर परिसरमा घेराबार पर्खाल र २०० मिटर पदमार्ग निर्माण भएको थियो । तिन चुलेमा दृष्यावलोकनस्थल निर्माणका लागि सामाजिक सञ्जाल फेसबुकमा सञ्चालन भएको अभियानबाट करिब रु तीन लाख सङ्कलन भएको थियो ।

गण्डकी प्रदेश सरकारको रु. ७५ लाख र तालाखोला गाउँपालिकाको रु. १० लाख लगानीमा ताराखोला गाउँपालिका–४ नागबेलीदेखि दावा हुँदै तिन चुले जोड्ने पाँच किलोमिटर सडक निर्माण भएको छ । सडक बनेपछि दुई घण्टाको बाटो २० मिनेटमा छोटिएको छ ।

यसैगरी, म.गला गाउँपालिका–५ देउरालीदेखि तिल चुले जोड्ने सात किलोमिटर सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको रु २१ लाख लगानीमा सौर्य ऊर्जाको प्रयोग गरी चैतेथरीको मुहानबाट दुई हजार २०० मिटर लामो पाइपबाट पानी लगेर पाँच हजार लिटर क्षमताको ट्यांकीमा संकलन र दुई वटा धारा बनाएर वितरणको व्यवस्था मिलाइएको छ ।

समुद्र सतहबाट दुई हजार ९२२ मिटर उचाइमा रहेको तिनचुलेबाट सिस्ने, चुरेन, गुर्जा, धौलागिरि, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । तिन चुलेको शिवालयमा पूजाअर्चना गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास जनविश्वास छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर