काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आजदेखि सुरु भएको आठौं चरणको पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा संकटा र सातदोबाटोले १–१ गोल गरेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले खेलको पहिलो हाफमा एक एक गोल गरेका थिए ।
सातदोबाटोका लागि सुशील राईले गोल गर्दा उता संकटाका लागि जया गुरुङले बराबरी गोल फर्काएका थिए । खेलको २३औं मिनेटमा सुशीलले गोल गर्दै सातदोबाटोलाई १–० को अग्रता दिलाए । निरज बस्नेतको ब्याक पासमा गोलरक्षक राजाबाबु थापाले गल्ती गरेपछि राजाबाबुले क्लियर गरेको बल सुशीलको घुँडामा लाग्दै गोलमा परिणत भएको थियो ।
सातदोबाटोको १–० को अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ३२औं मिनेटमा संकटाका खेलाडी जयाले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । दीपेश आलेमगरको पासलाई उनले करिब ३० यार्डबाट प्रहार गरेको बलले जाली चुमेको थियो । खेलको दोस्रो हाफमा गोल हुन नसकेपछि खेल एक–एक गोलको बराबरीमा टुङ्गिएको हो । यस बराबरी खेलसँगै अपराजित रहेको संकटा ८ खेलबाट १४ अंक जोडेर अंकतालिकाको तेस्रो स्थानमा पुगेको छ भने समान खेल खेलेको सातदोबाटो ९ अंक जोडेर अंक तालिकाको आठौं स्थानमा पुगेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies