-डा.स्वाती शर्मा-
स्त्री रोग तथा निःसन्तानपन विशेषज्ञ
निःसन्तानपनको समस्या महिलामा मात्र हुन्छ सोच्थे । महिलाकै टेस्ट गरूँ भन्ने धारणा थियो भने अहिलेको समयमा श्रीमान्, श्रीमती सँगै आएर छलफल गरेर दुवैको चेकअप गराउनुहुन्छ । पहिला पुरुषहरूले वीर्यको जाँच गराउन पनि मान्दैनथे भने अहिले मान्छन् ।
निःसन्तानको समस्या जो कोहीलाई पनि हुन सक्छ । विभिन्न शारीरिक समस्याका साथै आजभोलि बढिरहेको अस्वस्थ खानपिन, तनावपूर्ण जीवनशैली, प्रदूषणका साथै लागुपदार्थको सेवनले गर्दा यो समस्या व्याप्त छ । निःसन्तानपनको उपचारमा मुख्यतया औषधोपचार, सर्जिकल प्रक्रिया र सहयोगी गर्भाधान समावेश छन् ।
कुन दम्पतीमा कुन प्रक्रिया लागू गर्न उत्तम हुन्छ भन्ने कुरा निःसन्तान उपचार केन्द्रमा गरिएको परीक्षणको आधारमा तय गरिन्छ । तर, सबै दम्पतीहरूको प्रजनन समस्या एउटै नहुने भएकाले निःसन्तान उपचार प्रक्रिया पनि फरकफरक हुन आउने चिकित्सक बताउँछन् । यस्तै समस्याको कारणसँगै समाधान के छ भनी मध्यान्ह दैनिकका लागि अनु अर्पण र अस्मिता बमले स्त्री रोग तथा निःसन्तानपन विशेषज्ञ डा. स्वाती शर्मासँग गरेको कुराकानीको सम्पादित अंश :
निःसन्तानपन के हो ?
प्रजनन् स्वास्थ्यका दृष्टिकोणबाट सन्तान हुन नसकेका दम्पती वा जोडीको अवस्थालाई निःसन्तानपन भनिन्छ । अथवा, कुनै पनि दम्पतीबीच हरेक दिन परिवार नियोजनका साधनबिना शारीरिक सम्पर्क भएको १ वर्ष भइसकेको छ तर बच्चा भएको छैन भने त्यस्तो अवस्थालाई निःसन्तानपन भनिन्छ ।
पछिल्लो समय महिला र पुरुषमध्ये कसमा धेरै निःसन्तानपनको समस्या देखिने गरेको छ ?
अहिले आएर त बराबर छ महिला र पुरुषमा । अझै वैदेशिक रोजगारीका कारण श्रीमानहरूमा बढ्न थालेको छ । तनाव, खाना समयमा नखाने, अनुकूल वातावरण नभएका कारण त्यस्तो हुन्छ । ९ महिना पाठेघरमा राखेर बच्चा जन्माउने भएको भएर महिलालाई नै दोष दिने हो । तर, पुरुषमा पनि कतिपय समस्या हुन्छन्, जसले गर्दा उनीहरूमा पनि निःसन्तानपन हुन्छ ।
महिला र पुरुषमा के कारणले निःसन्तानपन हुन्छ ?
पाठेघरको दुवै साइडमा नली हुन्छ । त्यो नलीबाट जब अण्डा बन्छ अनि जब नलीले अण्डा टिपेर आफूभित्र राख्छ र शारीरिक सम्पर्क भएपछि वीर्यबाट शुक्रकीट मात्र पाठेघरभित्र गएर नलीसम्म पुगेर अण्डा र शुक्रकीटको मिलन त्यो नलीमा हुन्छ अनि बच्चा बन्दै गएर पाठेघरमा बिउ जस्तै रोपिन्छ । नली बन्द भयो भने अण्डा र शुक्रकीटको मिलन हुँदैन । महिलाको समस्या भनेको नली ब्लक भएर हुने हो ।
त्यसपछि समयमा अण्डा नबनिदिने कारण हो । कि त अण्डाको मात्रा एकदमै धेरै भएर समयमा नबनिदिने, पोलिसिस्टिक वरिज्, कि अण्डाको मात्रा एकदम कम हुने, इन्डोमेट्रेसिसहरूले गर्दा । वंशाणुगत खराबीका कारण अण्डाको मात्रा कम हुने, अण्डाको अपरेसन गरेको छ भने पनि अण्डाको मात्रा कम हुने, हर्मोनको गडबडीले अण्डा नबन्ने कारण र पाठेघर भित्र वा बाहिर मासु पलाउनाले पनि निःसन्तानपन हुन्छ ।
पुरुषहरूमा चाहिँ अण्डकोषको विकास राम्रोसँग नभएका कारण, हर्मोनको गडबडीले शुक्रकीट नबन्ने या शुक्रकीट त बन्ने तर शुक्रकीट आउने बाटो ब्लक हुने कारणले निःसन्तानपन हुन्छ । धुम्रपान, मद्यपानले पनि शुक्रकीटको मात्रामा कमी आउने हुन्छ । वंशाणुगत खराबीका कारण पनि शुक्रकीट नबन्ने हुन्छ ।
अहिले र पहिलेको समयमा निःसन्तानपन भएका महिलाहरूको धारणामा कस्तो परिवर्तन पाउनुहुन्छ ?
पहिलाचाहिँ निःसन्तान भएको महिलासँगै सासु, आमाजू गरी एक हुल भएर आउनुहुन्थ्यो तर श्रीमान् कहिल्यै नआउने । निःसन्तानपनको समस्या महिलामा मात्र हुन्छ सोच्थे । महिलाकै टेस्ट गरूँ भन्ने धारणा थियो भने अहिलेको समयमा श्रीमान्, श्रीमती सँगै आएर छलफल गरेर दुवैको चेकअप गराउनुहुन्छ । पहिला पुरुषहरूले वीर्यको जाँच गराउन पनि मान्दैनथे भने अहिले मान्छन् ।
पछिल्लो समय निःसन्तानपनको समाधान हुन्छ भन्ने कुराहरू पनि आइरहेका हुन्छन् । कस्ता मानिसहरूमा समाधान सम्भव छ ?
जबसम्म महिलामा पाठेघर छ, तबसम्म सम्भव छ । पुरुषमा भने वीर्यमा शुक्रकीट नदेखिए पनि अण्डकोषमा शुक्रकीट छ भने बच्चा पाउन सक्षम छ । त्यति पनि भएन भने पुरुषको शुक्रकीट नै छैन भने अरूको वीर्य दान लिएर पनि महिलाले आफ्नो अण्डासँग बच्चा बनाउन सक्छन् । डिम्ब महिला–पुरुष दुवैको छैन भने टेस्टट्युब बेबीको माध्यमबाट भ्रुण डोनेसन लिएर बच्चा पाउन सकिन्छ । महिलामा स्वस्थ्य पाठेघर छ भने यसरी नि सम्भव छ ।
कस्तो प्रकारको टेस्टट्युबमा बढी आकर्षण देखिन्छ ?
अरूको अण्डा डोनेसन लिएर आएर टेस्टट्युब गर्नेहरूको संख्या धेरै छ ।
कुन उमेर समूहका लागि टेस्टट्युब उपयुक्त हुन्छ ?
२२ वर्षदेखि ३५ वर्षबीचको उमेर समूह टेस्टट्युबका लागि उपयुक्त हो । ३५ पछि अण्डाको क्वान्टिटी र क्वालिटी घट्ने भएकाले उपयुक्त मानिँदैन ।
टेस्टट्युबका लागि खर्च कति लाग्छ ?
संसारभरिको तुलनामा नेपालमा टेस्टट्युब बेबी सस्तो छ । एउटा टेस्टट्युबका लागि सामान्यतया १ लाख ५० हजारदेखि १ लाख ८० हजार रुपैयाँसम्म खर्च लाग्छ । अण्डा निकाल्नका लागि महिनावारीको २ दिनदेखि इन्जेक्सन लगाउन सुरु गर्छौं । त्यसपछि मान्छेलाई कति इन्जेक्सन लाग्छ, त्यसमा भर पर्छ । मान्छेअनुसार फरकफरक इन्जेक्सन लाग्छ ।