–रूपा अर्याल
नेपाल जस्तो मुलुकका निम्ति साना तथा घरेलु उद्योगको निकै महत्त्व छ । यस्ता उद्योगले पिँधदेखि नै हाम्रो अर्थ संरचनालाई बलियो बनाउन मद्दत गर्छन् । हामी अर्थतन्त्र उकास्न सहकारीको कुरा गछौं । सहकारीले तल्लो इकाइदेखि नै अर्थतन्त्रको संरचनालाई बलियो बनाउँदै आएको पाइन्छ ।
त्यस्तै, घरेलु तथा साना उद्योगले पनि तल्लो इकाइदेखि नै हामीलाई आत्मनिर्भरताको अभ्यासमा लैजान मद्दत गर्छ । ग्रामीण क्षेत्रले भरिएको र आर्थिक हिसाबले निम्न र मध्यम वर्गहरूको बाहुल्य रहेको हाम्रो जस्तो देशमा यसले निकै नै सहयोग गर्न सक्छ । अहिलेको अवस्थालाई हेर्यौं भने पनि ग्रामीण क्षेत्रको मुख्य आर्थिक आधारका रूपमा यी उद्योगहरू रहेका पाउँछांै । रोजगारी र स्थानीय उत्पादन प्रवद्र्धनमा यस्ता उद्योगहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
हस्तकला, धागो, काठका सामग्री, कृषि उत्पादनको प्रशोधन र घरेलु वस्त्र जस्ता उद्योगहरूले आर्थिक गतिविधि चलायमान राख्न सहयोग पुर्याएका छन् । राज्यले व्यवस्थित नगर्दा नगर्दै पनि यसबाट लाखौंले रोजगारी मात्र पाएका छैनन्, दिगो आर्थिक विकासमा पनि सहयोग पुर्याइरहेका छन् ।
अहिले हाम्रो अर्थतन्त्रमा विप्रेषणको विषय सबैभन्दा केन्द्रमा छ । हुन पनि विप्रेषणले हाम्रो अर्थतन्त्रको मुख्य हिस्सा ओगटेको छ । यद्यपि, अर्थतन्त्रलाई तत्कालका लागि राहतको रूपमा विप्रेषण सहयोगी भए पनि यसले दीर्घकालीन रूपमा हामीलाई सहयोग गर्दैन बरु यसले उल्टै हामीलाई परनिर्भर बनाउन भूमिका खेल्छ । विप्रेषणबाट आएको पैसा कहाँ गएको छ भन्ने खोजी गर्यौं भने भेट्न सक्छौं ।
यद्यपि, हामीले चर्चा गरिरहेको साना तथा घरेलु उद्योगले भने विप्रेषणले जस्तो तत्कालीन रूपमा मात्र लाभ नदिई दीर्घकालीन रूपमा हाम्रो अर्थतन्त्रलाई अगाडि बढाउन सहयोग गर्छ । यस्ता उद्योगहरू बलिया हुँदै गएमा हाम्रो अर्थतन्त्र पनि वास्तविक अर्थमा बलियो हुँदै जान सम्भव हुन्छ ।
आज किन हामी श्रीलंकाको कुरा गर्दै छौं ? किन हामी मध्यपूर्वमा संकट बढ्दै छ भनेर तर्सिन्छौं ? खासमा यसको कारण विप्रेषण हो । हाम्रो अर्थतन्त्रको तत्कालीन संरचना हो यो, जसले हामीलाई तर्साइरहेको छ ।
त्यस कारण दिगो आर्थिक विकासका लागि हामीले आत्मनिर्भर हुनेगरी अर्थतन्त्रको निर्माण गर्नुपर्छ, जसका निम्ति साना तथा घरेलु उद्योग नै हाम्रो सन्दर्भमा सबैभन्दा सहयोगी हुन सक्छन् । हामीले भारतमा गान्धीले चलाएको ‘चर्खा आन्दोलन’लाई बिर्सन हुँदैन ।
तर, यसो भनिरहँदा हामीले हाम्रा उद्योगहरूको अवस्था हेर्यौं भने निकै दर्दनाक भेट्छौं । हाम्रा यी उद्योगहरू चुनौतीहरूको पहाडले थिचिएका छन् । एकातिर यस्ता उद्योगमा वित्तीय स्रोतको चरम अभावमा छन् भने अर्कातिर आधुनिक प्रविधिको कमी मात्र छैन, बजार व्यवस्थापनमा पनि चाङका चाङ चुनौती छन् ।
साथै, बाह्य मल्टिनेसनल उद्योगहरूबाट भएको प्रतिस्पर्धाले पनि यी साना उद्योगहरू किचिएका छन् । साना उद्योगहरूको उत्पादनले बजार पाउने अवस्था बनिरहेको छैन । ‘कस्मेटिक’ हुन नसक्दा धेरै उत्पादन उपभोक्ताको बीचमा परिचित हुन सकिरहेका छैनन् ।
अहिलेको सन्दर्भमा यस्ता उद्योगको संरक्षण र प्रवद्र्धनका लागि सरकारबाट खास प्रयास हुन सकेको पाइँदैन । भएका प्रयासहरू प्रभावकारी छैनन् । सरकारले यस्ता उद्योगहरूको विकासका लागि रणनीतिक रूपमा कार्यक्रम बनाउनुपर्छ ।
रणनीतिक रूपमा यस्ता उद्योगहरूलाई विकास गर्न प्राविधिक सहयोग, वित्तीय सहायता र बजारीकरणको कार्यक्रम ल्याउनुपर्छ, जसमा सरकार देखिनेगरी आउन सकेको छैन । समग्रमा, यी उद्योगहरूलाई सही दिशामा प्रोत्साहन गर्न सकेमा ग्रामीण अर्थतन्त्र र राष्ट्रिय उत्पादनमा ठूलो योगदान गर्न सक्ने सम्भावना छ ।
साना तथा घरेलु उद्योगको महत्त्व
रोजगारी सिर्जना : साना तथा घरेलु उद्योगहरूले धेरै मानिसहरूलाई रोजगारी उपलब्ध गराएको छ । विशेषगरी ग्रामीण क्षेत्रमा खोलिएका यस्ता उद्योगहरूले बेरोजगारी समस्या समाधान गर्न पनि सहयोग पुर्याइरहेको छ ।
साथै, कच्चा पदार्थ पनि गाउँ ठाउँकै भरसक उपयोग गर्ने गरेको पाइन्छ, जसले थप अर्को रोजगारी सिर्जना गराउँछ । जस्तो : कपडा उद्योग खुलेमा त्यससँग सम्बन्धित अन्य कृषिजन्य कामहरू फस्टाउन सक्छन् । थुप्रैले कपासको खेती गर्न सक्छन् । यसबाट अर्को रोजगारीको शृंखला पनि सुरु हुन सक्छ ।
आर्थिक विकासमा योगदान : ग्रामीण क्षेत्रको आर्थिक गतिविधि बढाउन साना उद्योगहरूले महत्त्वपूर्ण भूमिका खेल्छन् । यसले स्थानीय स्रोतहरूको उपयोग गरी उत्पादनलाई प्रोत्साहन गर्छ, जसले दिगो स्वरूपमा पनि अगाडि लैजान मद्दत गर्छ ।
सँगै यस्ता उद्योगले गाउँ ठाउँमा आर्थिक गतिविधिलाई बढवा दिन्छन् । गाउँ ठाउँमै विकास निर्माणका कामहरू बढ्न थाल्छन् । आज हाम्रा गाउँहरू किन विकास भएनन् ? मानिसहरू किन शहर केन्द्रित बने भन्ने विषयको कारण खोज्यौं भने यी उद्योगहरूको संरक्षण गर्ने नीति अवश्य बनाउने छौं ।
गरिबी निवारण : आज नेपालको अधिकांश ग्रामीण भेगमा बस्ने नागरिकहरू आर्थिक हिसाबले निम्न स्तरका छन् । उनीहरूको वर्ग उत्थान अहिलेकै अभ्यासले हुन सम्भव छैन । यदि घरेलु उद्योगले व्यापकता पाएमा उनीहरूको जीवनस्तर उकास्न निकै मद्दत मिल्ने छ । न्यून आय भएका परिवारहरूलाई आयआर्जनको अवसर मिल्ने छ । यसले आयमा वृद्धि गरी गरिबी न्यूनीकरण गर्न मद्दत गर्छ ।
महिला सशक्तीकरण : हाम्रो नेपाली समाजको अवस्था केलायौं भने अधिकांश महिलाहरू घरकै काममा सीमित हुनु परिरहेको छ । साथै, उनीहरू देखिनेगरी आयआर्जनका स्रोतमा जोडिन सकेका छैनन्, जसका कारण उनीहरूको सशक्तीकरणको सवाल पनि गम्भीर बन्दै गएको छ ।
यदि घरेलु उद्योग फस्टाउन सकेमा त्यसले महिला सशक्तीकरणमा पनि भूमिका खेल्ने छ किनकि घरेलु उद्योगमा महिलाहरूको व्यापक सहभागिता हुन्छ । यसले महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर मात्र बनाउँदैन, सामाजिक रूपमा सशक्त पनि बनाउने छ ।
सांस्कृतिक संरक्षण : घरेलु उद्योगहरूले परम्परागत हस्तकला, कलाकृति र सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा पनि भूमिका खेल्छन् । आज हामी किन हाम्रै उत्पादन बिर्सिंदै गएका छौं ? किन हामी विदेशी उत्पादनलाई प्रयोग गर्न प्रोत्साहित छौं ? यसले एकातिर हाम्रै कलाकृतिलाई संरक्षण गरेको छैन भने अर्कातिर सो विषयसँग जोडिएका सांस्कृतिक गतिविधिलाई पनि कमजोर बनाएको छ । यदि घरेलु उद्योगहरू फस्टाउने अवस्था भएमा हाम्रा सांस्कृतिक धरोहरहरूको पनि संरक्षण हुने छ ।
समस्या र चुनौतीहरू
साना तथा घरेलु उद्योगहरूबाट थुप्रै फाइदाहरू छन् भन्ने व्याख्या गरिरहँदा अहिलेको सन्दर्भमा भएका समस्या र चुनौतीलाई पनि बेवास्ता गर्न मिल्दैन । यसका समस्या र चुनौतीहरूलाई जबसम्म सम्बोधन गर्दैनौं, तबसम्म यो क्षेत्रलाई अगाडि बढाउन सक्दैनौं । यसका निम्ति उल्लेखित विषयहरूलाई सम्बोधन गर्न आवश्यक देखिएको छ ।
अहिले घरेलु तथा साना उद्योगहरूकम पुँजी र वित्तीय स्रोतको चरम अभाव छ, जुन विषयलाई सम्बोधन नगर्दासम्म उद्योगहरू फस्टाउने अवस्था रहँदैन । यसका निम्ति राज्यले नै विशेष कार्यक्रम नै बनाउनुपर्ने देखिएको छ ।
हाम्रा परम्पराको संरक्षणको कुरा गरिरहँदा आधुनिक प्रविधिलाई पनि बिर्सन हुँदैन । हामी आधुनिकतासँगै अगाडि बढेमा मात्र अगाडि बढ्न सम्भव छ । यसका निम्ति आधुनिक प्रविधिलाई उपयोग गर्ने अवस्था बन्नुपर्छ । घरेलु उद्योगहरूको विकास गर्न प्रविधिलाई पनि सँगै जोड्ने कार्यक्रम बनाउन आवश्यक छ ।
अहिले हाम्रो अर्को ठूलो समस्या बजार व्यवस्थापनको पनि हो । घरेलु तथा साना उद्योगका उत्पादित वस्तुहरू ‘कस्मेटिक’ खालका नहुनु र लागत बढी हुँदा सामान्य मानिसले खरिद गर्ने अवस्था नहुनु समस्याको रूपमा रहेको छ । साथै, यसको ‘नेटवर्क’ राम्रो नहुँदा पनि समस्या छ, जसलाई बजारीकरण गर्ने सन्दर्भमा सरकारले सहयोग गर्नुपर्छ ।
निष्कर्ष
नेपालमा साना तथा घरेलु उद्योगहरूको विकासले ग्रामीण र समग्र राष्ट्रिय विकासलाई गति दिन्छ । तसर्थ, सरकार, निजी क्षेत्र र गैरसरकारी संस्थाहरूले सहकार्य गरी यी उद्योगहरूको प्रवद्र्धन गर्न आवश्यक छ ।
विशेषगरी वित्तीय सहयोग, प्राविधिक तालिम र बजार विस्तारमा ध्यान दिनु जरुरी छ । सरकारले रणनीतिक रूपमा यस्ता उद्योगहरूको विकास गर्नेगरी कार्यक्रम बनाउन आवश्यक छ । यदि तल्लो इकाइदेखि नै विकासको एजेन्डामा काम गर्ने हो भने सरकारले स्पष्ट भएर घरेलु तथा साना उद्योगलाई अगाडि बढाउने नीति अगाडि सार्नुपर्छ । यो क्षेत्रमा भएका समस्यालाई हटाउँदै अगाडि बढ्नुपर्छ ।