काठमाडौं : नेपालको राजनीतिमा पछिल्लो दशकमा निरन्तर चर्चामा रहेको नाम हो– कुलमान घिसिङ । घिसिङ आफैं राजनीतिमा संलग्न रहेका व्यक्ति होइनन् ।
तर, नेपाललाई लोडसेडिङमुक्त बनाउन उनले खेलेको भूमिका राजनीतिको केन्द्रमा छ । खासगरी घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाएको नाममा माओवादी केन्द्र उज्यालो नेपालको नेतृत्व गरेको भनेर नागरिक सामु प्रस्तुत हुँदै आएको छ ।
घिसिङले जनस्तरमा पारेको छापमा माओवादीले राजनीति गरेपछि नेकपा एमाले सुरुदेखि नै त्यसको विरोधमा छ । नेपालमा लोडसेडिङमुक्त बनाउन भारतबाट विद्युत् खरिद गरेको लगायतका विषय उठाउँदै एमालेले भारतसँग विद्युत् खरिद एमाले नेतृत्वको सरकारले गरेको भनेर जस लिन खोजिरहेको छ ।
एमाले र माओवादी केन्द्रका बीचमा नेपाललाई लोडसेडिङमुक्त बनाउन खेलेको भूमिकामा जस लिने होड चलिरहँदा कुलमान घिसिङ एक दशकदेखि नेपाली राजनीतिमा चर्चाका पात्र बनिरहेका छन् ।
घिसिङले २०७३ सालको तिहारको लक्ष्मीपूजाको दिनदेखि लोडसेडिङमुक्त बनाउने घोषणा गरेका थिए । त्यसभन्दा अगाडि नेपालमा १८ घण्टासम्म लोडसेडिङ थियो । १८ घण्टासम्म लामो लोडसेडिङ अन्त्य भएसँगै घिसिङले राष्ट्रिय/अन्तर्राष्ट्रिय चर्चा पाएका थिए । घिसिङको चर्चालाई माओवादीले राजनीतिक रूपमा प्रयोग गर्यो र २०७४ सालमा चुनावी एजेन्डा नै बनायो । त्यसपछि एमालेले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउन भूमिका खेल्न थालेको हो ।
घिसिङले पहिलो कार्यकाल सके । दोहो¥याउनुपर्ने कतिपयको मागका बीचमा २०७७ माघमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाए । ओलीले ल्याएका शाक्यलाई पछि शेरबहादुर देउवा नेतृत्वको सरकारले हटायो । माओवादीको प्रस्तावमा पुनः घिसिङलाई कांग्रेस नेतृत्वको सरकारले प्राधिकारीको कार्यकारी निर्देशक बनायो । त्यसपछि एमाले घिसिङसँग अझ रुष्ट भयो र विरोध गर्दै आएको छ ।
अहिले नेपाली कांग्रेससँगै सरकारमा रहेको नेकपा एमाले घिसिङलाई प्राधिकरणबाट हटाउन चाहन्छ । यसका लागि कांग्रेसले सहमति नदिँदा सरकारले निर्णय लिन नसकिरहेको नेताहरू बताउँछन् । यसरी राजनीतिको केन्द्रमा घिसिङ रहँदै आएका हुन् ।
१ दशकसम्म राजनीतिको चर्चाको केन्द्रमा रहेका घिसिङ रामेछापको दुर्गम गाउँ बेथानमा सामान्य पसिरवारमा जन्मिएका व्यक्ति हुन् ।
प्राथमिक शिक्षा गाउँमै लिएर ५ कक्षा पास गरेपछि दाजुहरूसँग काठमाडौं आएर बालसेवा माध्यमिक विद्यालयमा पढ्दै अस्कल क्याम्पसबाट आई. एस्सी. गरेका घिसिङले छात्रवृत्तिमा भारतको जम्सेदपुर गएर एलेक्ट्रिकल इन्जिनियरिङ गरे ।
काठमाडौंको पुल्चोक क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गर्दा ‘इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमान्ड साइड म्यानेजमेन्ट’मा थेसिस गरेका घिसिङले पोखरा विश्वविद्यालयबाट इएमबीए गरेका छन् ।
उनी २०५१ सालमा नेपाल विद्युत् प्राधिकरणमा सातौं तहको इन्जिनियर भएर सेवा प्रवेश गरेका थिए ।
प्राधिकरणमा काम गर्दागर्दै कुलमानले रसुवाको चिलिमे जलविद्युत् परियोजनाको जिम्मेवारी पाए । चिलिमे हाइड्रो पावरको प्रबन्ध निर्देशक भएर चिलिमेकै आम्दानीबाट ३ वटा अन्य आयोजनाहरूको निर्माण सुरु गराएका थिए । आफूले लिएको जिम्मेवारी कुशलतापूवर्क निर्वाह गरेको र प्रतिफल दिलाएको भनेर उनलाई विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक बनाइएको थियो ।
उनी प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका बेला सुख्खायाममा १८ घण्टासम्म पनि लोडसेडिङ थियो । लोडसेडिङ हटाउन सफल भएपछि घिसिङ राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमै चर्चाको शिखरमा पुगेका हुन् ।