वीरगन्ज : गरिमा विकास बैंक लिमिटेडले घण्टाघर नजिकै रहेको ब्राइट प्लस टू कलेज, विज्ञान र व्यवस्थापन, वीरगन्जमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । विद्यार्थीहरूलाई आधारभूत बैंकिङ ज्ञान, बचतको महत्त्व र डिजिटल ठगीबाट जोगिने उपायबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रम कलेजका निर्देशक मनोज गुप्ताको अध्यक्षता र गोविन्दप्रसाद गुप्ताको संयोजनमा सम्पन्न भएको थियो । बैंकको वीरगन्ज शाखाका प्रबन्धक श्री राजीव कुमार झाको नेतृत्वमा लक्षण कुमार रौनियार, चन्दन साह, राजेश कुमार राउत, गुढिया गुप्ता, श्रवण कुमार साह, रुबियाना मलिक, र प्रवीणप्रसाद साह सहितको टोलीले कार्यक्रम गरेका थिए ।
कार्यक्रममा बैंक खाता खोल्ने प्रक्रिया, वित्तीय व्यवस्थापन र बचतको बानीको महत्त्वबारे जानकारी प्रदान गरिएको थियो । साथै, कार्यक्रममा डिजिटल ठगीको बढ्दो खतराबारे विद्यार्थीहरूलाई चेतना दिलाउँदै अनलाइन ठगी कसरी चिन्ने र त्यस्तो ठगीबाट कसरी सुरक्षित रहने भन्ने व्यावहारिक सुझावहरू दिइएको छ ।
कार्यक्रमका अध्यक्ष मनोज गुप्ताले गरिमा विकास बैंकको यो पहलको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई व्यवहारिक वित्तीय ज्ञान प्रदान गर्न मद्दत पुर्याउने बताए । उनले विद्यार्थीहरूलाई बचतको बानी बसाल्न र डिजिटल ठगीबाट सतर्क रहन प्रेरित गरे।
सत्रमा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाउँदै प्रश्नहरू सोधेका र छलफलमा सहभागी भएका थिए । कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूले सिकेको ज्ञानलाई आफ्नो जीवनमा लागू गर्ने र परिवार तथा समुदायमा बाँड्ने प्रतिबद्धता व्यक्त गरे।
गरिमा विकास बैंक लिमिटेडको यो प्रयासलाई युवापुस्तामा वित्तीय साक्षरता प्रवर्द्धन गर्ने महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ। कलेज र बैंकले आगामी दिनमा पनि यस्तै कार्यक्रमहरूको आयोजना गरी वित्तीय जागरुकता फैलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।