-देवेन्द्र अर्याल ‘आँसु’
कुनै बेला चुलो र चौकामा सीमित रहने महिलाहरूको श्रम र सीप अहिले विश्ववजारमा बिक्न थालेको छ । चौघेरामा बाँधिएका नारीहरू अहिले विश्वभरि नै आफ्नो श्रम र सीप खर्चन पुगेका छन् । त्यसैले अहिले उनीहरू घरभित्रमात्र सीमित छैनन् । अहिले विश्वका थुप्रै देशमा पुगेर अर्थतन्त्र मजबुत पार्नका लागि प्रयासरत छन् । आफ्ना परिवारको भविष्यको चिन्ताले पनि उनीहरूको मन बढी कठोर र संघर्षशील बनेको छ । भिन्न संस्कृति, भाषा र परिवेशमा पुगेर पनि नेपाली महिलाले आफ्नो श्रम र सीपलाई विदेशी भूमिमा खर्चिरहेका छन् । त्यसैले दिन–प्रतिदिन वैदेशिक रोजगारीका लागि बिदेसिने महिलाको सङ्ख्या बढिरहेको छ । तर, वैदेशिक रोजगारीमा जाने महिलाहरूको दक्षता, अनुभव र सीपमा कमी भएका कारण उनीहरूलाई वैदेशिक रोजगारी थप चुनौती र सकसपूर्ण बनेको छ । तर, सरकारले सीपमूलक जनशक्ति तयार पार्न प्राथमिकता दिए पनि त्यो त्यति प्रभावकारी बन्न सकेको छैन ।
विदेश जाने अधिकांश महिला सीपबिना नै जाने गरेका छन्, जसका कारण उनीहरूमा समस्या परेको देखिन्छ । वैदेशिक श्रममा जाने महिलाहरूमा पुरुषको तुलनामा सीप र दक्षता कमी भएको देखिन्छ । जबकि वैदेशिक रोजगारीमा जाने महिलाहरू ५९ प्रतिशत अदक्ष रहेका छन् । कुल महिला श्रमिकमध्ये ५८ दशमलव ८४ प्रतिशत त कुनै सीपबिना नै विदेश गएको तथ्य प्रकाशमा आएको छ । त्यसमा उच्च दक्षता भएका महिलाको सङ्ख्या शून्य दशमलव शून्य ६ प्रतिशतमात्र रहेको छ । उच्च दक्षतायुक्त सीप भएका पुरुषको सङ्ख्या पनि शून्य दशमलव शून्य ५ प्रतिशत रहेको देखिन्छ । बितेका तीन वर्षमा पेसाविद्का रूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका महिलाहरू शून्य दशमलव ३० प्रतिशत छन् भने सोही पेसामा जाने पुरुषको सङ्ख्या शून्य दशमलव ११ प्रतिशत रहेको छ ।
वैदेशिक रोजगारीका लागि नेपाली महिलाको प्रमुख गन्तव्य स्थल नै कुवेत हो । वैदेशिक रोजगार विभागको आर्थिक वर्ष २०७५÷७६ को प्रगति प्रतिवेदनअनुसार गत वर्ष सबैभन्दा धेरै महिला कामका लागि कुुवेत गएको देखिन्छ । वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृतिको प्रमुख गन्तव्यमा कतार, साउदी अरब, यूएई, मलेसिया पर्छन् । महिलाका लागि कुबेतपछिको प्रमुख गन्तव्य जर्मनी, माल्दिभ्स, माल्टा, डेनमार्क, जर्मनी र इजरायल बनेका छन् । उक्त देशमा व्यक्तिगत रूपमा श्रम स्वीकृत लिनेमा ८० प्रतिशतभन्दा बढी महिलाहरू रहेका छन् ।
उक्त प्रतिवेदनअनुसार व्यक्तिगत श्रम स्वीकृति लिने कुल १ लाख १५ हजार ३ सय ९८ मध्ये २७ दशमलव ६ प्रतिशत अर्थात् ३१ हजार ८ सय २० महिला रहेका छन् । पुनः श्रम स्वीकृति लिनेमा महिलाको सङ्ख्या कुल श्रम स्वीकृत लिनेकै हाराहारीमा अर्थात् ४५ प्रतिशत देखिन्छ । कुल १५ लाख ८७ हजार ६५४ पटक पुनः श्रम स्वीकृति लिएकामा महिलाको सङ्ख्या ६४ हजार ५ सय ७ रहेको छ । कुबेतमा हालसम्म संस्थागत रूपमा श्रम स्वीकृतिमा ५ हजार ४१ महिला गएको देखिन्छ भने व्यक्तिगत रूपमा जानेको सङ्ख्या २० हजार २ सय ७८ देखिन्छ । भारतसहित ६५ भन्दा बढी देशमा १ लाख ५० हजारभन्दा बढी महिला वैदेशिक रोजगारीमा आबद्ध छन् । नेपाल भित्रने कुल विप्रेषणको ११ प्रतिशत विप्रेषणमा महिला श्रमिकको योगदान रहेको देखिन्छ ।
नेपाली महिलालाई सुरक्षाका दृष्टिले चुनौती देखिएका देशमा संस्थागत रूपमा भन्दा व्यक्तिगत रूपमा श्रमस्वीकृति दिलेको सङ्ख्या बढी देखिन्छ । प्रायः नेपाली महिला विदेशमा घरेलु कामदारका रूपमा वा केयरगिभरका रूपमा त्यहाँ जाने गरेको पाइन्छ । वैदेशिक रोजगारीको जिल्लागत विवरण हेर्दा झापा, मोरङ, सुनसरी, चितवन र सिन्धुपाल्चोक श्रम स्वीकृत लिनेमा अगाडि छन्; जसमा ५० प्रतिशत महिला नै झापाका छन् । वैदेशिक रोजगारीमा जाने महिलाको कुल संख्या विश्लेषण गर्दा वाग्मती प्रदेशका जिल्लाका महिलाको नै बाहुल्यता पाइन्छ । संस्थागत तवरले श्रम स्वीकृति लिने कुल १ लाख ३२ हजार ९ सय ९५ महिलामध्ये ९२ दशमलव ३ प्रतिशत त केवल दशवटा जिल्लाले नै ओगट्छ, जसमध्ये काठमाडौँ र मकवानपुर जिल्लाबाट १५÷१५ प्रतिशत रहेका छन् भने झापाबाट १७ दशमलव ३४, सिन्धुपाल्चोकबाट १३ दशमलव ९४ प्रतिशत रहेको पाइन्छ ।
कुबेतमा हालसम्म संस्थागत रूपमा श्रमस्वीकृति लिने ५ हजार १ सय ५१ महिला भएकोमा व्यक्तिगत रूपमा त्यहाँ काम गर्न जाने महिला कामदारको सङ्ख्या २० हजार २८७ रहेको छ । कुबेतमा घरेलु श्रमिकका रूपमा जाने नेपाली महिलाहरूको सङ्ख्यालाई छाड्ने हो भने त्यसपछि जर्मन, डेनमार्क, माल्टा, माल्दिभ्समा बढी मात्रामा श्रमस्वीकृति लिएर जानेको सङ्ख्या देखिन्छ । स्वीडेनमा व्यक्तिगत तवरले जाने महिलाहरू बढी रहेका छन् । कुबेत, डेनमार्क, जर्मनी र इजरायलमा व्यक्तिगत श्रम स्वीकृति लिनेमा महिला ८० प्रतिशत भन्दा बढी रहेको पाइन्छ ।
नेपाली महिलाका तुलनामा अन्य देशका महिला श्रमिक तालिम प्राप्त, अनुभवी र सीपयुक्त भएका देखिन्छन् । सीप नभएका कारण एउटा कामका लागि स्वीकृत लिएर अर्कै कामका लागि अर्को कुनै देशमा जानुपर्ने बाध्यता नेपाली महिला श्रमिकको छ, जसका कारण महिलाहरू बढी हिंसामा पर्नुपरेको देखिन्छ । त्यसो त जोखिम मानिएका देशमा व्यक्तिगत श्रम स्वीकृतिमा जाने महिलाको सङ्ख्या ज्यादा रहेको छ ।
गत वर्षको वैदेशिक रोजगार बोर्डको प्रतिवेदनमा समेत सबैभन्दा बढी महिलाको मृत्यु हुने देश कुबेत र युएई देखिन्छ । त्यहाँ महिला कामदारलाई मालिकहरूले मानसिक र शारीरिक यातना दिने गरिएको पाइन्छ । रातदिन काम गरेर पनि उनीहरूले तलब पाउन सकेको देखिन्न । वैदेशिक रोजगारमा जानेहरू म्यानपावर कम्पनीबाट नै ठगिएको समेत घटना सार्वजनिक भएका छन् । घरमालिकले जथाभावी यातना दिँदा पनि उनीहरू यातना सहन बाध्य भएको नै पाइन्छ । त्यसैले, विदेशमा वस्तुसरह मोलमोलाइमा नेपाली महिला कामदारहरू बेचिएका छन् । विश्वका कतिपय देशमा उनीहरू तड्पिएर बाँच्न विवश छन् । विरानो देश, विरानो परिवेश, न भाषा, न संस्कृति न कानुन नै मिल्छ, त्यस्तो देशमा पनि भगवान् भरोसामा रहेर नेपाली महिला श्रमिकहरू सङ्घर्ष गरिरहेका छन् । दुःखकष्ट भोग्न विवश छन् । ज्यादै कष्टकर जीवन बिताइरहेका छन् । आफ्नो काम गरेको पारिश्रमिक नपाउनुको पीडा एकातिर छ भने पारिश्रमिक माग्दा उल्टै यातना पाउने गरेबाट पनि नेपाली महिला कामदारको विदेशमा ज्यादै दयनीय अवस्था रहेको प्रतीत हुन्छ । कति ठाउँमा नेपाली महिला श्रमिकको भविष्य सुनिश्चित छैन । थुप्रै नेपाली महिला श्रमिकहरू कतै केयरगिभर त कतै बार डान्सर वा घरेलु कामदारका रूपमा कार्यरत् छन् ।
विश्वमा नेपालीहरू रोजगारीका लागि जाने क्रम दिनप्रतिदिन बढदै गएको देखिन्छ । विदेशका थुप्रै मुलुकमा नेपाली कामदारहरू विभिन्न रूपमा कार्यरत छन् । उनीहरू बढीभन्दा बढी हिंसामा परेका छन् । त्यहाँ भएका नेपाली राजदूतावास, महावाणिज्य दूतावास तथा श्रमसहचारीले पनि ध्यान नदिएको उनीहरूको गुनासो रहेको छ । साउदी अरब, ओमान, युएई, कतार, कुबेतमा श्रमसहचारीमात्र छन् भने कतार, साउदी अरब, युएईमा भने कन्सुलरमात्र रहेका छन् । जोर्डन, इराक, टर्की, सिरिया, साइप्रस, यमन, बहराइन, इरान, इजरायल, लेबनान आदि देशमा कुनै पनि राजदूत, श्रमसहचारी, महावाणिज्य दूतावास, स्थायी नियोग, कन्सुलर र श्रमसहचारी नहुँदा त्यहाँ नेपाली श्रमिकलाई ठूलो समस्या परेको छ ।
पछिल्लो समयमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले वैदेशिक रोजगारका क्रममा अंगभंग भएका, मृत्यु भएका र गम्भीर प्रकृतिका बिरामी भएका परिवारका एक सदस्यलाई निःशुल्क प्राविधिक शिक्षा वा तालिम दिने व्यवस्था गरेको छ । यसबाट वैदेशिक रोजगारीका लागि जानेका परिवारलाई केही भए पनि राहत मिल्ने देखिन्छ । वैदेशिक रोजगारमा जानुपूर्व विभिन्न तयारी गरेर जाने गर्दा वा सम्बन्धित म्यानपावरबाट सबै कुरा बुझेर जाने हो भने पनि केही हदसम्म महिला श्रमिकले पाउने सास्ती वा पीडा न्यून हुन पुग्छ । वैदेशिक रोजगारीका निहुँमा झट्टै फाल हाल्नु हुँदैन भन्ने कुरा वैदेशिक रोजगारीमा पुगेका महिला श्रमिकको समस्या र उनीहरूले भोग्नु परेका पीडाका खबर वा समाचारबाट पनि बुझ्न सकिन्छ । त्यसैले वैदेशिक रोजगारीका लागि विदेश जानुपूर्व सबै कुरा राम्रोसँग बुझेर जानुपर्छ । फस्नुभन्दा पहिले नै सर्तकता अपनाउनु जरुरी छ । त्यस्तै सीप र दक्षताबिनै वैदेशिक रोजगारीमा जाँदा महिलाहरूले निक्कै सास्ती खप्नुपर्ने हँुदा आगामी दिनमा वैदेशिक रोजगारीका लागि जानेलाई सोहीअनुरूपको तालिम, सीप र दक्षता प्रदान गर्नुपर्ने देखिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies