कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ४, १० र ११ लाई कार्यक्षेत्र बनाइ कार्यक्रम सञ्चालन गरेको सिद्धार्थ सामाजिक विकास केन्द्र, कपिलवस्तुले आफ्ना उपलब्धिहरु प्रस्तुत गरेको छ ।
शैक्षिक कार्यक्रम अन्तर्गत २०२४ मा सम्पन्न गरेका कार्यक्रमहरूको लेखाजोखा र आगामी वर्ष २०२५ का शैक्षिक कार्यक्रमहरूबारे जानकारी गराएको हो ।
आफ्ना कार्यक्षेत्रभित्रका प्रधानाध्यापकहरूसँग आयोजित कार्यक्रममा संस्थाले २०२४ मा गरेका उपलब्धिहरू प्रस्तुत गरेको छ । संस्थाले शिक्षा निरन्तरता सुनिश्चित गर्न जोखिममा रहेका १९४ बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ । विद्यालयमा सुरक्षित सिकाइ वातावरण निर्माणका लागि ६ विद्यालयमा फर्निचर, जस्तापाता, शौचालय, तथा खानेपानीमा सहयोग गरेको छ ।
अतिरिक्त तथा सहक्रियाकलापमा सहजीकरण, बाल क्लबको कार्ययोजना कार्यान्वयनमा सहयोग, र बालमैत्री शिक्षण वातावरण निर्माणका लागि आवश्यक शिक्षण सामग्री समेत प्रदान गरिएको छ ।
शैक्षिक कार्यक्रम अन्तर्गत शिक्षण सिकाइ विधिमा शिक्षक प्रशिक्षित गर्न, बालबालिका तथा फोकल शिक्षकलाई प्राथमिक उपचार तालिम दिनुका साथै विद्यालय सुशासन सम्बन्धी विभिन्न क्षमता विकास तालिम पनि सञ्चालन गरिएको संस्थाले जनाएको छ ।
संस्थाका अनुसार, जुन ०१, २०२२ देखि डिसेम्बर ३१, २०२४ सम्म सञ्चालन भएको कार्यक्रमबाट ४१ लाख ५७ हजार रुपैयाँ शिक्षा क्षेत्रका गतिविधिमा खर्च गरेको छ ।
शिक्षा शाखाका दिनेश चौधरीले संस्थाले विद्यार्थीलाई समान शैक्षिक अवसर सुनिश्चित गर्न, सार्वजनिक गुणस्तरीय शिक्षामा पहुँच वृद्धि गर्न र विद्यालयको शैक्षिक स्तर सुधार गर्न महत्वपूर्ण योगदान दिएको बताए ।
कार्यक्रममा सहभागी प्रधानाध्यापकहरूले आफ्ना विद्यालयका समस्या तथा मागहरू राखेका थिए । त्यस्तै, संस्थाले सन् २०२५ का लागि दर्जनभन्दा बढी शैक्षिक कार्यक्रम तय गरेको जानकारी गराएको छ ।