जनकपुरधाम : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा राजनीतिक स्थिरता ल्याउन, संविधानमा सुधार गर्न,सुशासन कायम गर्न र भ्रष्टाचारलाई नियन्त्रण लागि गठबन्धन सरकार बनाएको दाबी गरेका छन् ।
नेपाल प्रेस युनियन धनुषाले आइतबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले मुलुकलाई अप्ठ्यारो परिस्थितिबाट पार लगाउनको लागि कांग्रेस र एमालेको सहकार्य भएको बताए ।
उनले वर्तमान गठबन्धन सरकार दुई पार्टीको सहमतिको आधारमा बनेकाले अबको डेढ वर्षपछि एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने र कांग्रेसको नेतृत्वमा २०८४ को निर्वाचन हुने बताए ।
महोत्तरीको क्षेत्र नं.३ को भटौलियामा आयोजित क्षेत्रीय सम्मेलनको उद्घाटन गर्न शनिबार उनी त्यहाँ पुगेका थिए । सो क्षेत्रीय सम्मेलनमा कार्यकर्ताहरुको माझमा पाएको उत्साहका आधारमा नै हामी आगामी २०८४ मा हुने निर्वाचनमा नेपाली कांग्रेस पार्टी एक्लै लड्ने उनले बताए ।
उनले निजामती ऐन, शिक्षा ऐन,प्रहरी ऐन आउन नसकेकोले प्रदेशस्तरीय मन्त्रीको अधिनमा प्रमुख जिल्ला अधिकारी(सीडीओ)आउन नसकेकोप्रति दुःख व्यक्त गरे । मधेशको उब्जाउ क्षेत्रमा कृषि विकासका लागि समयमा मल, बिउ विजन पुर्याउनका लागि गठबन्धनको सरकार निर्माण भएको उनले बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामकृष्ण यादव, मधेश प्रदेशका सभापति एवं पूर्वभौतिक तथा पूर्वाधार मन्त्री श्रीकृष्ण याद, श्रममन्त्री कौशलकिशोर राय,अर्थ मन्त्री सुनिल यादव,नेता डा.चन्द्रमोहन यादव लगायत उपस्थित रहेको पत्रकार सम्मेलनमा उनले मुलुकका बैंकहरूमा वित्तीय तरलता बढेको र बैंकले व्याज दर घटाए पनि व्यवसायीले ऋण नलिएका कारणले अपेक्षा अनुसारको आर्थिक गतिविधि मुलुकमा बढ्न नसकेको बताए ।
उनले सरकारले लगानी कर्ता तथा व्यवसायीलाई थप विश्वासमा लिन जरुरी रहेको पनि बताए । नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो पूर्ण सहकार्य एवं समन्वय भएको बताउँदै पार्टीमा कुनै प्रकारको विवाद नभएको र सबै नेताहरूसँग आफ्नो सहकार्य भइरहेको दाबी समेत गरे । २०८४ को निर्वाचनमा कांग्रेस एक्लैले चुनाव लडेर जित्न सक्ने अवस्था भएपनि अहिलेको अवस्थामा गठबन्धन आवश्यक भएको र संविधान संशोधनको काम गर्दा नेकपा माओवादी केन्द्र, रास्वपा तथा मधेशवादी दलहरूसँग सहकार्य गर्नुपर्नेमा उनले जोड दिए ।
नेपाल प्रेस युनियनका सभापति राजन सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा नेता कोइरालाले पछिल्लो समय संविधान संशोधनसहितका मुलुकका विभिन्न समस्याहरूको समाधानका लागि कांग्रेस एमालेका बीचमा गहन संवाद सुरु भएको बताउँदै कांग्रेस संविधान संशोधनको पक्षमा रहेको स्पष्ट पारे ।
महामन्त्री गगन थापा आफूहरूसँग नै रहनु भएको दाबी गर्दै कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने विषयमा कुनै कुराकानी नभएको बताए । पार्टीमा १५ वर्षसम्म महाधिवेशन प्रतिनिधि भएका कुनै पनि नेता सभापति पदका लागि उम्मेदवार बन्न सक्ने वैधानिक व्यवस्था रहेको उनले स्पष्ट पारे ।