रौतहट : रौतहट बृन्दावन नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । निःशुल्क एम्बुलेन्सले नगरवासीलाई ठूलो राहत प्रदान भएको छ । नगर प्रमुख विनोदप्रसाद कुर्मीले आफ्नो चुनावी प्रतिबद्धताहरू पूरा गर्ने क्रममा यो निर्णय गरेका हुन् ।
कुर्मीले आफ्नो चुनावी प्रतिबद्धता अनुरूप स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिँदै आएका छन् । कुर्मीले चुनाव जित्नु अघि नगरवासीसँग शिक्षा, स्वास्थ्य र खानेपानी क्षेत्रमा विशेष प्राथमिकता दिने बाचा गरेका थिए । तीनै प्रतिबद्धताहरूलाई चरणबद्ध रूपमा कार्यान्वयन गर्दै, गर्भवती महिलाहरूलाई सुत्केरी गराउन र आकस्मिक स्वास्थ्य सेवा आवश्यक पर्ने अवस्थामा अब एम्बुलेन्सको व्यवस्था निःशुल्क गरिएको हो ।
बृन्दावन नगरपालिकाको वडा नं. ७ मा आयोजित साना किसान कृषि सहकारी संस्था लि.को १९ औं वार्षिक साधारण सभा कार्यक्रममा नगरप्रमुख कुर्मीले भने, ‘नगरवासीको स्वास्थ्य सुरक्षित भयो भने मात्र नगर समृद्ध हुनसक्छ । स्वास्थ्यमा विशेष ध्यान दिनु हाम्रो पहिलो प्राथमिकता हो ।’
उनले गर्भवती महिलाहरूलाई विशेष सुविधा दिने उद्देश्यले यो निर्णय लिइएको बताए । यस कदमले विशेष गरी ग्रामीण क्षेत्रका महिलालाई सहज हुने विश्वास लिइएको छ । नगर प्रमुख कुर्मीले भने, ‘हाम्रो उद्देश्य नगरबासीलाई सहज स्वास्थ्य सेवा दिनु हो । यसले मातृ मृत्यु दर घटाउन र नवजात शिशुको स्वास्थ्य सुधारमा योगदान पुर्याउने छ ।’
कुर्मीका अनुसार पालिकाका गर्भवती महिलाहरूलाई सुत्केरी गराउन वीरगन्ज, गौर, वा अन्य ठूला स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता रहेको छ ।
यस क्रममा ४ देखि ५ हजार रुपैयाँसम्मको खर्च हुने गथ्र्यो । तर, अब नगरपालिकाले यो सेवा पूर्ण रूपमा निःशुल्क प्रदान गर्नेछ । गर्भवती महिलादेखि स्वास्थ्य समस्या भएका अन्य नगरबासीलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको हो । कुर्मीले आगामी दिनमा नगरपालिकाभित्र स्वास्थ्य सेवा थप प्रभावकारी बनाउने र अन्य सामाजिक सेवाहरूमा पनि सुधार ल्याउने योजना रहेको बताए ।