काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार सामाजिक सञ्जाल मार्फत् नै सचिवालय बैठकको माग राखे । मन्त्रिपरिषद र कोरोना रोकथाम, उपचार तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठक बसिरहेका भए पनि सचिवालय बैठकको आवश्यकता रहेको प्रवक्ता श्रेष्ठले उल्लेख गरेका छन् । प्रचार विभाग प्रमुख रहेका श्रेष्ठले पार्टी बैठकको माग गर्नुमा भने कोरोना रोकथाम प्रयासका क्रममा स्वास्थ्य सामग्री खरीद प्रक्रियामा सरकार विवादित बन्नु रहेको देखिन्छ ।
चैत १७ गते स्वास्थ्य मन्त्रालय र ओम्नी कम्पनी बीच सामग्री खरीदबारे भएको सम्झौता भंग गरी नेपाली सेनालाई चीनबाट सामग्री खरीद गर्ने जिम्मेवारी दिइएको थियो । तर, सेनालाई सामग्री खरीदको ठेक्का दिने निर्णयप्रति नेकपाभित्रै असन्तुष्टि बढेको छ । त्यसैले प्रवक्ता श्रेष्ठ सहित नेकपाका नेताहरुले सचिवालय बैठक माग गरेका हुन् । “स्वास्थ्य सामग्री खरीद प्रक्रिया मात्रै नभएर कोरोना महामारी रोकथामका समग्र विषयमा छलफल गर्न जरुरी छ”, उनले भने । प्रवक्ता श्रेष्ठले बैठक बोलाउने बारे अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँग समेत छलफल गरेका थिए । त्यसैअनुसार, अध्यक्ष ओलीले शनिबार नै सचिवालय बैठक बोलाउने बताएका थिए ।
तर, प्रधानमन्त्री ओलीले शनिबार सचिवालय बैठक बोलाएनन् । बरु, प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाए लकडाउनमा थप कडाई गर्ने लगायत केही निर्णय गराए । बरिष्ठ नेताहरु नै सरकारमा नरहेकाले पनि सचिवालय बैठक बोलाउन माग गरेका छन् । ९ सदस्यीय सचिवालयमा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा मात्रै सचिवालय सदस्य हुन् । त्यसबाहेक अध्यक्ष दाहाल, बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेब गौतम, प्रवक्ता श्रेष्ठ र महासचिव बिष्णुप्रसाद पौडेल सरकारमा छैनन् ।
स्थायी कमिटी सदस्य हरिबोल गजुरेल केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक बोलाउन माग नगरिएको तर, सचिवालय बस्न आवश्यक रहेको बताउँछन् । उनले भने, “पार्टी र सरकार बीच समन्वय हुँदा यो महामारी रोक्न विकल्पबारे छलफलमै सजिलो हुन्छ । नेकपा जस्तो कार्यकर्तामा आधारित पार्टीमा यो जरुरी हो ।” नेकपाका शीर्ष नेताहरुले नै सरकारले गरिरहेको कामबारे जानकारी नहुने अवस्था भएकाले पनि सचिवालय बैठक आवश्यक रहेको नेकपाका नेताहरुले बताउँदै आएका छन् ।
नेकपाका अर्का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे आपतकालीन् अवस्थामा सत्तारुढ पार्टीका नेतृत्व छलफलमा बस्नु आवश्यक पर्ने बताउँछन् । स्वास्थ्य सामग्री खरीद प्रक्रियाले उत्पन्न समस्याका कारण मात्रै नभएर बिपद व्यवस्थापनमा पार्टी भूमिका तय गर्न पनि बैठक बस्नुपर्ने उनको भनाइ छ । तर, सचिवालय बैठक बोलाउन प्रधानमन्त्री ओलीले नै रुचि देखाइरहेका छैनन् । शनिबार सचिवालय नबोलाउनुले पनि बैठक नरुचाएकै पुष्टि हुन्छ । यसमा उपप्रधानमन्त्री एवम् कोरोना रोकथाम, उपचार तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल समेत जोडिएकाले पनि सचिवालय बैठक बोलाउन माग गरिएको नेकपाका नेताहरु बताउँछन् । सरकारले महामारी रोकथामका लागि गएको चैत ११ गतेदेखि बन्दाबन्दी घोषणा गरेको छ ।
देउवाको पहल
कोरोना महामारी रोकथाममा सरकारको भूमिका प्रभावकारी नभएको प्रतिक्रिया दिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीहरुसँग सम्वाद गरेका छन् । आइतबार सभापति देउवाले पूर्व प्रधानमन्त्रीहरुसँग टेलिफोन सम्वाद गरेका हुन् । सभापति देउवाले महामारी नियन्त्रणबारे रणनीति तय गर्न पूर्व प्रधानमन्त्रीहरुसँग सम्वाद गरेको उनका स्वकीय सचिव भानु देउवाले बताए ।
सभापति देउवाले पूर्व प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपाकै बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपाकै बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द तथा मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसँग टेलिफोन सम्वाद गरेका छन् ।
कोरोना संक्रमणको महामारीबाट देशलाई जोगाउ गम्भीर भएर अगाडि बढ्नेबारे छलफल भएको सभापति देउवा निकट स्रोतले जनाएको छ । सभापति देउवाले सवै पूर्व प्रधानमन्त्रीहरुलाई चाँडै बैठक बसेर बिस्तृत छलफल गर्ने गृहकार्य समेत अगाडि बढाएका छन् । यसअगाडि नेपाली काँग्रेसले वक्तव्य मार्फत् सरकारले प्रभावकारी कदम चाल्न नसकेको प्रतिक्रिया दिदै आएको छ । तर, महामारी रोक्न आवश्यक सावधानी अपनाउन भने काँग्रेस आमसर्वसाधरणलाई पटक–पटक आग्रह गर्दै आएका छन् ।
आइतबार नै काँग्रेसका जिल्ला सभापतिले कोरोना परीक्षणको पहुँच सबै जिल्लामा विस्तार गर्न माग गरेका छन् । नेपाली काँग्रेसका ७७ जिल्ला सभापतिद्वारा जारी गरिएको संयुक्त विज्ञप्तीमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि बढ्नसक्ने भन्दै कोरोना परीक्षणको दायरा तत्काल सबैको सरल पहुँच हुनेगरी बढाउन माग गरेका हुन् ।
काँग्रेस जिल्ला सभापतिले देशभरका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत अत्यावश्यक सेवामा खटिने कर्मचारीलाई गुणस्तरीय व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) उपलब्ध गराउन सरकारको ध्यानाकर्षण समेत गरेका छन् । काँग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले भारत–नेपालको सिमानामा अलपत्र परेका नेपाली र तेस्रो मुलुकमा रहेका सबैलाई नेपाल ल्याई क्वारेन्टाइनमा राख्ने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।
मुलुकमा रहेका श्रमजीवी मजदुर र विपन्न वर्गलाई तत्काल खाद्यान्नलगायतका राहत सामग्रीको वितरणको व्यवस्था मिलाउन काँग्रेस जिल्ला सभापतिले माग गरेका हुन् । उहाँहरुले कोरोना भाइरस रोकथाम तथा उपचारका लागि सम्पूर्ण तहमा सङ्कलन गरिएको रकम ठीक ढङ्गले वितरण र उपयोग गर्नका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्रको गठन गर्नुपर्ने माग गरेका छन् । यसैगरी, स्वास्थ्य उपकरण खरिदका लागि नेपाली सेनालाई जिम्मेवारी दिने निर्णय खारेज गर्न माग गरिएको छ ।
काँग्रेस जिल्ला सभापतिले पार्टीका देशभरका कार्यकर्तालाई कोरोनाबारे देशभर जनचेतना फैलाउन र आइपरेको समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन् । उनीहरुले काँग्रेसका जिल्ला सभापतिले यस विषम परिस्थितीमा जनताको जिउधनको रक्षा गर्न र सूचनाको हक प्रदान गर्न निरन्तर क्रियाशील सबैलाई धन्यवाद दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies