२०८१ पुष २२ गते सोमवार / Jan 06 , 2025 , Monday
२०८१ पुष २२ गते सोमवार
Ads

कथा : मीतबाको चौतारी

ADV
२०८१ पुष २० गते ०६:२०
कथा : मीतबाको चौतारी

–रामशरण कोइराला 

ध्वनि प्रदूषणग्रस्त इलाकाको एउटा फोहोरको थुप्रो नजिकै एक वृद्ध उभिएका छन् । अलिक पर केटाहरूको हल्ला चर्को सुनिएको छ । जिन्दगीका सयौं हिउँदहरू छिचोलेर आएका वृद्ध दौरा, सुरुवाल र कोट लगाएर उभिएका छन् । उनी हातले संकेत गर्छन्, म स्कुटी रोक्छु ।

‘कहाँसम्म जाने बा ?’, म सोध्छु ।

‘सुन्धाराको संकटा मन्दिरसम्म’ भन्दै वृद्ध हतारहतार स्कुटीमा बसिहाल्छन् । म बिस्तारै स्कुटी अगाडि बढाउँछु । बाटोमा सवारीको चाप छैन बरु नजिकै अष्टनारायण हलतिर मानिसहरूको घुइँचो बाइपाससम्म फैलिएको छ । दक्षिण भारतीय सिनेमा ‘डियर कमरेड’ हलमा लागेकाले मानिसहरूको घुइँचो बढेको थियो । म बाइपास आएपछि वृद्धसँग केही संवाद गर्न खोज्छु ।

‘अनि, बाको घर कहाँ ?’

‘भट्ट गाउँ बाबू !’

‘कहाँको भट्ट गाउँ बा ?’

‘नुवाकोटको भट्ट गाउँ बाबू !’

‘मेरो पनि घर उतै हो बा ! भट्ट गाउँमा मेरा आफन्तहरू पनि थिए । अहिले थुप्रै भो उता नगएको ।’

बूढा बोलेनन्, सायद हल्लाको कारण मैले बोलेको सुनेनन् ।

सुन्धारा पुगेपछि म चिया खाने प्रस्ताव राख्छु । बूढा मेरो प्रस्तावलाई स्वीकार्छन् । संकटा मन्दिर आएपछि त्यहाँको तातो समोसा, मीठो चिया र सुन्धारा पेटीतिर देखिइरहने दृश्यले मलाई छुन्छ, खास लाग्छ ।

पत्रकारिताको विद्यार्थी भएकाले पनि हरेक कुरामा फिचर देख्छु । हरेक घटनाभित्र समाचार सल्बलाइरहेको पाउँछु । दिदीको चिया पसल पुगेपछि २ वटा औंला उठाएर भन्छु, ‘दूध चिया, चिनी कम ।’

म बूढातिर फर्केर आफ्नो कुरा राख्न थाल्छु, ‘भट्ट गाउँमा मेरा एक जना मीतबा थिए । हेर्दा साह्रै हठी लाग्थे, व्यवहारमा साह्रै नरम थिए । बाल्यकालमा उनैले हो मलाई स्कुल भर्ना गराएको र पढ्नुपर्छ भनेर चेतना जगाइदिएको । अहिले त उनले मलाई बिर्से होलान् । काठमाडौंमा छन् भन्नेसम्म सुनेको छु । कता बस्छन्, थाहा पनि छैन । एक पटक भेट्न खुब मन छ ।’

बूढा ट्वाल्ल परेर मेरो अनुहारतिर हेर्छन् । ‘तिमी लाम्छाने नाति प्रभुराम हौ कि ...?’, बूढा सोध्छन् ।

‘हजुर हो, लाम्छानेकै नाति हुँ’, म सहज जबाफ दिन खोज्छु ।

‘साँच्चै ?’

‘साँच्चिकै ।’

‘ए भगवान् ! तिम्रो लीला पनि बुझी नसक्नु छ । मलाई मेरै मीतछोराको बाइकमा चढाएर कस्तो लीला ग¥यौ नि प्रभु ? बाबू प्रभुराम, म तिम्रो मीतबा हितप्रसाद भट्ट हुँ । मलाई चिन्यौ बाबू ?’

यसो भन्दा बूढाको गहभरी आँसु टिलपिलाउन थालिसकेका थिए । म पनि भावुक हुन थालेको थिएँ । वातावरणमा ध्वनि प्रदूषण प्रादुर्भाव भइरहेकै थियो ।

‘मीतबा, नमन ! म प्रभुराम नै हुँ । तपाईंकै आशीर्वचनले म पत्रकार भइटोपलेको छु । बाग्मती मिडियाको पत्रकार भएर काम गर्दै छु । मलाई हजुरको आशीर्वाद लागेको छ । संयोगले आज ईश्वरसँग भेटेँ ।’

ममा पनि भावुकता उम्लियो । हामी दुवैका आँखा टिल्पिलाउन थाले ।

उहाँ विगततिर फर्किन थाल्नुभयो ।

‘मीत हजुर सानैमा बित्नुभयो । मितिनी तिमीहरूलाई छाडेर कता हराउनुभो । मलाई मितिनी पोइल जानुभो भनेर एक छेउ पनि विश्वास छैन बाबू ! मितिनी हराउनुभएको हो । तिमी र तिम्री दिदी त मेरा छोरा–छोरी हौ जस्तो लाग्छ । मलाई आज पनि उत्तिकै माया लाग्छ’, बूढाले पुराना दिन सम्झिँदा म विगतमा डुब्न थाल्छु ।

‘तपाईं ईश्वर हो मीतबा’, म सम्मानभाव प्रकट गर्छु ।

‘आज धेरै कुरा नगरौं । छोरा, तिम्लाई अफिस जान ढिला भयो होला, जाऊ’, उहाँमा भावुकता मात्र देखापरिरह्यो ।

बूढा चियाको पैसा तिर्न खोज्छन् । म तिर्न दिन्नँ । हतारहतारमा हामी आ–आफ्ना फोन नम्बर लिएर छुट्टिन्छौं ।

...

पञ्चायतकालको कठिन समय थियो । जनताका आधारभूत अधिकारसम्म स्थापित हुन सकेका थिएनन् । नुवाकोट खुर्साने खोलाका लामिछाने परिवार त्यो समयको निम्न स्तरको परिवारमा गन्ती हुन्थ्यो ।

हितप्रसाद भट्ट जिम्दारका नाति थिए । बेंसीको खेतमा १२० मुरी धान फल्ने हितप्रसादले गरिबीको आहालमा डुबिरहेका मेरा बा लाम्छाने माइलासँग मीत लगाएका थिए । गरिब भए पनि आफ्नो इमानको अंश–अंशलाई स्वाभिमानका निम्ति खर्चेका मेरा बासँग भट्ट बा प्रभावित थिए । उनी ‘इमान के हो, त्यो मेरो मीतसँग बुझ्नू’ भनेर फुइँ लगाई हिँड्थे ।

‘मीत, तपाईं छोरालाई स्कुल हाल्नुस् । ईश्वर दाहिना भए भने कतै छोराको भाग्यले प्रगति पनि हुन सक्छ । शिक्षाको ज्योति घामको ज्योतिभन्दा पनि चम्किलो हुन्छ क्यारे !’, बालाई यसरी सम्झाएको पर्सिपल्ट उनै हितप्रसादले डोहो¥याउँदै मलाई स्कुल पुर्‍याएका थिए । मेरो नाम प्रभुशरण लामिछाने भनेर उनैले भर्नाको कपीमा टिपाइदिएका थिए । 

एवं रीतले समय साइकलको पांग्रा जस्तो घुमिरह्यो । म पढाइमा अब्बल हुँदै गएँ । विधिको विडम्बना ! एक समय पहाडी गाउँहरूमा दादुराको प्रकोप फैलियो । ज्वरो र दादुरा आएको निहुँमा बा बिते । बासँग बाले हिँडिआएको एउटा युग बित्यो । समयको चिसो हावाले हाम्रो मुटु अँठ्यायो । गरिबी नामक गोमन सापले हामीलाई फेरि डस्न थाल्यो ।

आमाको थाप्लोमा घर व्यवहार मात्र परेन, हामी ३ छोरा–छोरीको भार पनि पर्‍यो । आमालाई दुःखमाथि दुःख थपियो । आमा सधैं उदासी देखिन थाल्नुभो । आमाको विरक्तिलाई स्पष्ट बुझ्न सक्ने भइसकेको थिएँ म ।

गरिब भएकै कारण हाम्रो परिवारलाई गाउँलेहरूले अनेक लाञ्छना लगाउन थाले । त्यसको प्रतिवाद मीतबाले गरिरहनुभो । मीतबाका कारण हामीलाई बाँच्ने हिम्मत मिलिरह्यो । 

तर, लाञ्छनाहरूको स्वर मत्थर भएन ।

गरिबी, अशिक्षा र प्रतिस्पर्धाको भावनाले ग्रस्त समाजमा निरीह नारी थिइन् आमा, जो तत्कालीन समाज व्यवस्थासँग जुध्न त के आँखासम्म जुधाउने हिम्मतसमेत उनीसँग थिएन ।

एक साँझ हामीलाई आमाले मीतबा हितप्रसाद भट्टको घरमा लैजानुभयो । त्यतिबेला चराहरू बास बसिसकेका थिए । बुहारीहरू बुहार्तनमा व्यस्त भइसकेका थिए । दिदीलाई त्यतिबेला नै मावली पठाइसक्नुभएको थियो आमाले ।

मीतको पिँढीमा पुगेर सुकुलमा गएर साह्रै असजिलोसँग बस्नुभयो आमा । ‘मितिनी हजुर, के कामले पाल्नुभएको ?’, हितप्रसाद भट्टले सोधे ।

‘म त्रिशूलीमा फाल हालेर मर्छु मीत ! यी २ चिचिलालाई दया राखेर पाल्दिनुहोला । धर्म लाग्ला । ईश्वरले तपाईंलाई पुण्यको लेखाजोखा गर्दै स्वर्गमा बास बसाउलान्’, आमाको बोलीमा लाचारी, आत्मसमर्पण र गलित भाव व्यक्त भएको थियो । 

त्यो साँझ हितप्रसादले धेरै कुरा सुनाए । संघर्ष, पीडा, आक्रोशलाई झेल्ने उपाय सिकाए ।

त्यो मध्यरात आमा बेपत्ता हुनुभो । त्यसपछि आमा कहिल्यै फर्किनुभएन ।

दिदीले मामाघर बसेर पढिन् । अहिले शिक्षिका छन् । भाइ र मलाई छोराकै प्यार दिएर मीतबाले शिक्षाको उज्यालो घामले हाम्रो ढाड सेकिदिनुभयो । हामी धन्य भयौं । भाइ पनि सानोतिनो काम गर्छ । म पत्रकार भएको छु ।

म जस्तै मान्छेका दुःखका समाचार लेख्छु । तर, त्यो १० वर्ष म नुवाकोट फर्कन नसक्नुको कारण मलाई लागेको ऋण नै हो । काठमाडौं आएका दिनहरूमा एउटा कुल्ली थिएँ म । कसरी गाडी भाडा पु¥याउनु, कसरी बिहान–बेलुका टारूँ जस्तो लाग्थ्यो । अहिले सम्झिँदा आफूलाई स्वार्थी पाउँछु । मीतबाको गुन भुल्ने स्वार्थी लाग्छ आफूलाई ।

म मितिनी आमालाई खुब मिस गर्छु । मितिनी आमा सम्झिँदा मलाई आफ्नो पूरै बाल्यकाल सम्झेजस्तो लाग्छ । उनको मायाको सहाराले मलाई आमा बिर्साएको नै हो ।

तर, आमा हराएका पलहरूले हामी केटाकेटीको मनमा ठूलै शूल रोपिरह्यो । कहिलेकाहीँ आमा सपनामा आउनुहुन्थ्यो । झोलाबाट झिकेर गहुँका रोटी दिनुहुन्थ्यो । सपना देखेको बिहान खुब रुन्थें एकान्तमा । कस्तो दर्दनाक थियो त्यो पल ! भो, नसम्झिऊँ अब त्यो पल ।

भोलिपल्ट म मीतबालाई लोलाङ वरिपरि नै भेट्छु । उहाँ मलाई देख्नेबित्तिकै भावुक हुनुहुन्छ । एउटा चिया पसलमा हामी चिया खान्छौं । बात मारिरहन्छौं । नियमित चिया खान थाल्छौं । आत्मीयताले नूतन आकार बनाउँदै जान्छ । नयाँ परिवेशमा नयाँ सम्बन्ध बन्दै जान्छ ।

चिया पिउन निस्केको प्रत्येक बिहान जस्तो मीतबाले कहिले बिस्कुट ल्याइदिनुहुन्छ, कहिले गुँदपाक, कहिले स्याउ ल्याउनुहुन्थ्यो, कहिले दुनोट ।

त्यो बेला पनि मीत छोराहरूले खान्छन् भनेर त्रिशूली बजारबाट बिस्कुट–पुरीहरू ल्याइदिएको सम्झन्छु । म दालमोठ खुब मनपराउँथेँ, मीतबाले पोकाका पोका दालमोठ ल्याइदिनुहुन्थ्यो । भाइ सातु मनपराउँथ्यो । गाउँको पुछारमा रहेकोे घट्टमा मीतबा सातु पिस्न महिनैपिच्छे झर्नुहुन्थ्यो । चिया–सातु हाम्रो नियमित खाजा हुन्थ्यो ।

मीतबाका लागि म त्यस्तै बालक नै थिएँ, जो बाल्यकालकै प्रभुशरण थियो अहिले पनि । सायद बाहरूका आँखामा छोरा–छोरी सधैं बालखै हुन्छन् ।

मीतबा कहिले ठूला र जेठीको घरमा पूजा लगाएको कुरा सम्झिनुहुन्छ । कहिले आमभञ्ज्याङको वनमा बाख्रा चराउन गएको कुरा कोट्याउनुहुन्छ । हामी चिया पसलमा विगतकै पुराण सुनेर भावुक भई बस्छौं ।

मीतबाको एउटा सानो घर रहेछ लोलाङमा । उहाँले मलाई त्यहाँ पटकपटक खाना खान लैजानुभयो । आफैंले पकाएर खुवाएपछि उहाँले भन्नुभयो, ‘एउटी बुहारी चाहियो बाबू !’

एक दिन मीतबाले भावुक हुँदै भन्नुभयो, ‘बाबू, तिम्री मीतआमा, भाउजू अनि दाइ अस्ट्रेलियामा छन् । बोलाएका छन् । अर्को महिना जसरी पनि जानुपर्छ म । त्यो पनि १ वर्ष बस्नेगरी ।’

मन भारी बनाएर भन्छु, ‘हजुरले फोन कलचाहिँ दैनिक गर्नु है बा ! मलाई नियास्रो लागिरहन्छ ।’

समय बित्छ । १ महिनापछि मीतबा अस्ट्रेलिया उड्नुहुन्छ । म भारी मन लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्छु ।

सामाजिक संजालमा हाम्रो नियमित सम्पर्क भइरहन्छ । उहाँको हँसिलो चेहरा देख्दा मेरो दिन नै उज्यालो हुन थाल्छ ।

एक दिन समाचार पाउँछु । मीतबालाई काम ज्वरो आएको खबरले मन भत्भती पोल्छ । उहाँ भिडियो कलमा समेत आउन नसक्ने हुनुहुन्छ ।

म सामाजिक संजालमा ‘मेरो जीवनको भरोसा मीतबालाई शीघ्र स्वास्थ्यलाभको कामना !’ लेख्छु ।

मीतबाप्रति असीमित श्रद्धा जागेर आउँछ । खासै धार्मिक स्वभाव नभएको म देवालयमा पुगेर पूजा गर्छु । कल्पनाकै सही, ईश्वरसँग म मीतबाको स्वास्थ्यलाभको कामना व्यक्त गर्छु । मलाई मीतबाप्रति झनै माया उम्लेर आउँछ । मीतबालाई अँगालोमै बेरूँ जस्तो हुन्छ ।

म त्यो समय कहिलेकाहीँ मीत दाइ–मीत भाउजू, अक्सर मीतआमासँग भिडियो कलमा बोलिरहेँ । मीतआमासँग वर्षौंपछि ममतामय संवाद भइरह्यो । आमा–छोराले भावुक संवाद गरिरह्यौं ।

केही दिनपछि मीतबाको आईडीबाट भ्वाइस म्यासेज आउँछ, ‘म निको भएँ बाबू !’

मलाई झन् खुसी लाग्छ । भावुकता आँसु बनेर खस्न खोज्छ । 

बिरामीबाट तंग्रेको १ महिनापछि नेपाली मञ्च अस्ट्रेलियाले आयोजना गरेको ‘बुढेसकालमा विगत सम्झँदा’ शीर्षक कार्यक्रममा मीतबाले आफ्नो अनुभव राख्नुभएको भिडियो प्राप्त गर्छु । त्यो भिडियोभरि मीतबाले छोरा प्रभुशरण भनेर बोल्नुभएको रहेछ । सुन्दा पनि आँखाबाट बर्बर आँसु झरे तर मीतबालाई केही भन्न सकिनँ । 
...

सधैं राजनीतिक समाचारले उथलपुथल भइरहने समाचार कक्षमा छु । यस पटक म कुनै मन्त्रीले प्रहरी चौकी उद्घाटन गरेको समाचार लेख्ने छैन । कुनै फिल्मी कलाकारको अर्को कलाकार प्रेममा फसेको न्युज लेख्ने छैन । आज म मीतबाको बुढेसकालको अनुभवलाई मुख्य समाचारका रूपमा छाप्ने छु ।

ADVADV

सम्बन्धित खबर

Advertise