२०८२ साउन १० गते शनिवार / Jul 26 , 2025 , Saturday
२०८२ साउन १० गते शनिवार
Ads

कविता : राजनीति र कृषक

shivam cement
२०८२ साउन १० गते ०६:०५
कविता : राजनीति र कृषक

– शम्भू पनेरु

माटोको मुहार चिन्छु म
घामको तापमा उब्जिन्छ मेरो पसिना
अन्नको बीउ जस्तै रोपिएको छु
तर, मेरो नाम छैन कुनै घोषणा—पत्रमा ।

बर्खाको प्रतीक्षा गर्दै
म आँखा गाड्छु आकाशतिर
राजनीतिक भाषण सुनिँदैन खेतको कानले
हिलोमा रुन थाल्छ मलिलो पीडा ।

उम्मेदवारहरू आउँछन्
चिउरा, चनासँग, हात हल्लाउँदै
म मुस्कुराउँछु
किनभने म जान्दछु—
बर्सेनि उस्तै छ झुटको बीउ
नतिजा उस्तै हुन्छ—
बाँझो सपना, रित्तो झोला ।

कहिले मेरी छोरीको किताब किनिदिन सक्दिन,
कहिले छोरो हिँड्छ सहरतिर
सपना बेच्न,
अनि म फर्कन्छु उही बारीमा
जहाँ हराएको छ मेरो भविष्य ।

म किसान हुँ,
म राष्ट्रको जरा हुँ भन्छन् कागजमा
तर जरा नै सुक्दैछ अब
किनकि पानी छैन
राजनीतिक आँखा ओभाएको छ ।

तर म त उस्तै छु—
जुन दिन ढल्छ, म फेरि रोप्छु
सपना, आस्था र अन्न ।।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise