–राज कुमार कार्की
आमा म त अब हस्ताक्षर गर्दै गर्दिन
गरिबको न्यायलाई कहिल्यै मार्दै मार्दिन
गरिबलाई दुःखका आँसु झार्ने अब पार्दिन
त्यसैले आमा म हस्ताक्षर कतै गर्दै गर्दिन !
तिमीले लगाएको त्यो फाटेको पटुकी
बाले शिरमा लगाएको त्यो फाटेको टोपी
हिँडिरहेको छु यी कुरा मैले मनमा नै बोकी
दुःख बुझेको छु त्यसै सही गर्न मैले रोकी !
तिमीले आशीर्वाद दिँदा भन्थ्यौ बन्नु असल
तिनले खाए गरिबका भए जति सारा फसल
सम्झेर मेरो मुटु कमजोर भएको छैन आमा
त्यसैले पत्थर जस्तो कठोर बने छैन कमसल !
आमा म गरिबको विरुद्धमा सही गर्दै गर्दिन
गरिबका ती सपनाहरूलाई त मार्दै मार्दिन
चित्र गुप्ताले हिसाब किताब राखिरहेका छन्
म सचेत छु यमराजको तातो कराइमा पर्दिन !
यमदूतहरू तयारी छन् हतकडी लाउन सिक्रीमा
त्यसैले मेरो हस्ताक्षर आमा कतै नि छैन बिक्रीमा
अपराधी चोख्याउन तिमीले दुःख गरेर पढाको हैन
आमाबाबुको फाटेको धोती टोपी इमान छैन बिक्रीमा !
गरिबका पेटमा लात हानेर अचम्म कस्तो हो क्रान्ति
उपचार गर्ने पैसो नभर गरिब मरे मिल्ला त अब शान्ति
क–कस्ले सही गरे स्वयं यमराज नेपाल आएर हेर्नुपर्छ
निर्णय जिउँदै सुनाइदिए स्वयं यमराजले रोक्न पर्छ क्रान्ति !
अहिलेसम्म गरिबको न्याय मरेको छैन मर्न नि दिन्न
गरिबको भोको पेट विरुद्ध सही गर्दा छैन लाज घिन
कसका लागि राजनीति गरेका हुन् सम्झौँ त एकछिन
न्यायका लागि श्रीकृष्णले आइसक्यो जन्म लिने दिन !
अपराध गर्ने अपराधीको जिन्दगी हुनुपर्छ सिक्रीमा
मेरो हस्ताक्षर अपराधीको पक्षमा छैन आमा बिक्रीमा
खानका लागि गरिबको विरुद्धमा हस्ताक्षर गर्नु अपराध हो
त्यसैले मेरो सही अर्थात् हस्ताक्षर छैन आमा बिक्रीमा !