प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपछि राजनीतिक दौडधुप ज्यादा देखिएको छ । हत्तपत्त अन्य राजनीतिक दलका नेताहरुसँग सम्वाद र भेटघाट नगर्ने नेपाली काँग्रेसका सभापति देउवा २९ असारमा सर्वोच्च अदालतको परमादेशअनुसार प्रधानमन्त्री नियुक्त भए । त्यसपछि प्रधानमन्त्री देउवा कहिले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वर, कहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगिरहेका छन् । विशेषगरी प्रधानमन्त्री देउवाका निम्ति एमाले नेता नेपाल र माओवादी अध्यक्ष प्रचण्डसँगको भेटवार्ता महत्वपूर्ण बनेको छ । हुनपनि देउवा जसरी प्रधानमन्त्री नियुक्त भएका छन्, त्यो संसदीय समीकरण नै दौडधुप र सहकार्यलाई बढी जोड दिनुपर्ने प्रकृतिको छ ।
तर एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विकसित परिस्थितिमा देउवा प्रधानमन्त्री बने । जबकी देउवा सभापति रहेको नेपाली काँग्रेससँग प्रतिनिधिसभामा ६१ सांसद मात्रै छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ सदस्यीय रहेकाले प्रधानमन्त्री बन्न १३६ सांसद आवश्यक पर्छ । तर काँग्रेस र माओवादी केन्द्र मिल्दा पनि यति संख्या पुग्दैनथ्यो । माओवादी केन्द्रका चार सांसद पदमुक्त भएकाले अहिले ऊसँग ४९ सांसद छन् । यो जोड्दा ११० मात्रै पुग्छ । राष्ट्रिय जनमोर्चाले साथ दिदा १११ सदस्यीय हुन्छ । देउवा प्रधानमन्त्री बन्न अझै २५ सिट पुग्दैन । जनता समाजवादी पार्टी (जसपा) एकमत नरहँदा अध्यक्ष उपेन्द्र यादवको पक्षमा १२ सांसद मात्रै थिए । पछि संसद् पुनस्र्थापना पछि २० पुगेको दावी गरेका छन् ।
तर एमाले नेता नेपाल पक्षका २३ सांसदले साथ दिदा देउवा प्रधानमन्त्री बने । विश्वासको मत लिनेबेला जसपाको महन्थ ठाकुर पक्षले पनि पक्षमा मत दिए । यसको अर्थ देउवा सरकार एउटा महागठबन्धनको जगमा उभिएको छ । त्यसैले अहिलेसम्म पाँच सदस्यीय मन्त्रिपरिषद्बाट देउवा सरकार चल्दै आएको छ । सत्ता समीकरणको सकस देउवाको दौडधुपले लुकेको छैन । अर्थात् फेरि पनि सत्ता संघर्ष चर्कने संभावना देखिन्छ । २०७४ को निर्वाचनबाट झण्डै दुई तिहाइ बहुमत पाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चर्किएको सत्ता संघर्षकै कारण अहिलेको परिस्थिति आएको पृष्ठभूमि समेत हामीसँग छ । अर्थात्, देउवा सरकारले त्यो गल्ती गर्नु हुन्न, जसले फेरि प्रतिनिधिसभा पूरा कार्यकाल नटिकोस् । बरु, सत्ता सहकार्यको न्यूनतम मानक निर्माण गर्ने र सहकार्यलाई विशेष जोड दिनु नै यो सरकारको प्राथमिकता हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies