–लक्ष्मण सिटौला
र त घाम लागेको छ
नदी बगिरहेछ
हावा चलिरहेछ
शरदमा जुन हाँसेको छ
फूलहरू फुलिरहेछन्
चराहरू निर्भय उडिरहेछन्
एउटा पहाडबाट भुरुरु उड्दै
अर्को पहाडी टापुमा बस्छन्
नदीबाट उठेको चिसो बतास
माथि माथि लेकसम्म बगेको हेर्दै छु म ।।
कहिले बताससँग हुत्तिएर
कहिले घामसँग पग्लिएर
कहिले जुनसँग चिस्सिएर
कहिले नदीसँग मिस्सिएर
कहिले जिन्दगीसँग थिचिएर
कहिले व्यथासँग किचिएर
कहिले आफैसँग सिद्धिएर
ल्याङ ल्याङ गर्दै छ जिन्दगी !
आफैसँग घरी घरी ठुस्किएर ।।
न समस्याले कहिले छोड्यो
न दुःखले कहिले माफी माग्यो
न वेदना कहिले झुक्यो
न कहिले तिमीले रिसाउन बिर्सियौ ?
न कहिले आँखा र आँसुबिच प्रीति छुट्यो
न म दुनियाँको अगाडि त्यस्तो असल नै बन्न सकेँ
न त मेरो शिर कसैसँग झुक्यो ।।
हार्दिन कसैसँग
बरु पहाडसँग बेस्सरी रुन्छु
बरु सक्काइदिन्छु जिन्दगी
बरु दौडिन्छु गुर्जे भन्ज्याङको डाँडाकाँडा
बरु उड्छु काली गण्डकीको भिरैभिर
बरु मुक्त हुन्छु मुक्तिनाथतिर गएर
बरु भत्काइदिन्छु आफ्नै भविष्य
बरु सल्काइदिन्छु श्वासको सुल्को
बरु निभ्दिन्छु आफैसँग
सत्य छ र त ईश्वर पनि छ
भक्तिने र बनिने प्रक्रिया निरन्तर हुन्
भेटिने छोडिने हो, जिन्दगीको अर्को नाम
आफै आरोही हुँ म आफ्नै जिन्दगीको
सपनाको मलामी जान्छन् हरेक रात इच्छाहरू
र त सधैँ हल्ला छ छातीमा
यतिबेला म पर छु कोलाहलदेखि
शून्य छु र यस्तो लागिरहेछ
वेदनाले खनिरहेछ मेरो छाती
र त ईश्वरले सुम्सुम्याइरहेछन् ।।