काठमाडौं : नेपाल साहित्यिक पत्रकार संघले १९औं स्थापना दिवसको अवसरमा आयोजना गरेको विशेष कार्यक्रममा दुई जना साहित्यिक पत्रकारलाई सम्मान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले 'हाम्रो पुरुषार्थ' साहित्यिक त्रैमासिकका सम्पादक शशी पन्थी र 'भोजपुरिया माटी'का सम्पादक रामप्रसाद साहलाई सम्मानित गरे । पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गर्दै कुलपति राईले साहित्यिक पत्रकारिताले नेपाली साहित्य र सर्जक उत्पादनमा महत्वपूर्ण योगदान पुर्याएको बताए ।
‘बौद्धिक कृत्रिमता अर्थात् एआईमा संस्कृतिको अभाव छ,’ राईले भने, ‘तर लेखक, साहित्यकार र पत्रकार त्रसित हुनुपर्ने अवस्था छैन । यसको प्रयोग सजगतापूर्वक गर्नुपर्छ ।’
सम्मानित दुवै व्यक्तित्वलाई प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले दोसल्ला ओढाएर सम्मान प्रकट गरेका थिए ।
कार्यक्रममा वरिष्ठ समालोचक ईश्वरचन्द्र ज्ञवाली, पत्रकार पुरुषोत्तम दाहाल, भाषा आयोगका सदस्य मातृकाप्रसाद पोखरेललगायतका वक्ताहरूले साहित्यिक पत्रकारिताको योगदानको चर्चा गरे । संघका वरिष्ठ उपाध्यक्ष वियोगी बुढाथोकी, उपाध्यक्ष रामप्रसाद पन्त र उपमहासचिव नवराज रिजालले सम्मानित व्यक्तित्वहरूको योगदान स्मरण गरे ।
कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष मोहन दुवालले गरेका थिए । उनले संघले साहित्यिक पत्रकारिताको विकासमा खेलेको भूमिकालाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा महासचिव चेतनाथ धमलाले स्वागत मन्तव्य, सचिवालय सदस्य गणेश राईले धन्यवाद ज्ञापन र कोषाध्यक्ष सूर्यप्रसाद लाकोजूले उद्घोषण गरेका थिए ।