२०८२ साउन १ गते बिहिवार / Jul 17 , 2025 , Thursday
२०८२ साउन १ गते बिहिवार
Ads

दुवाल र चन्दलाई प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार

shivam cement
मध्यान्ह
२०८२ असार ३२ गते २१:२४
दुवाल र चन्दलाई प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार

काठमाडौं : नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षको ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’ र ‘प्रज्ञा मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ । पुरस्कार मोहन दुवाल र वीरबहादुर चन्दलाई प्रदान गरिएको हो । 

दुवाल ‘जनमत’ साहित्यिक मासिकका प्रधान सम्पादक हुन् भने चन्द डोट्याली भाषाको साहित्यिक पत्रिका ‘गुगुल्डी’का सम्पादक हुन् । 

पुरस्कारको राशि ५०–५० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । पुरस्कार वितरण कार्यक्रमको प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले उद्घाटन गरेका थिए । 

कुलपति राईले साहित्यिक पत्रकारिता पनि बहुभाषिक हुनुपर्छ भन्नेमा जोड दिएका थिए । उनले यो पुरस्कारले भाषासेवी, सर्जक र पत्रकारहरूलाई बौद्धिक खुराक दिने विश्वास व्यक्त गरे । 

दुवालले आफ्नो जीवन साहित्यिक पत्रकारितामा समर्पित भएको बताउँदै यो सम्मानले जिम्मेवारी अझ बढेको महसुस भएको बताए । उनले राज्यका निकायहरूबाट साहित्यिक पत्रकारितामा हुने विभेदबारे बताउँदै प्रतिष्ठानले आफूलाई सम्झिएकोमा धन्यवाद दिए ।

चन्दले डोट्याली भाषा नेपाली भाषाकी आमा भएको बताए । ‘गुगुल्डी’ प्रकाशनमार्फत मातृभाषाको जगेर्नामा लागिरहने उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा वरिष्ठ साहित्यकार पुरुषोत्तम दाहालले नेपालका सम्पूर्ण भाषाको संरक्षण आवश्यक रहेको सम्झाए । 

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, प्राज्ञ परिषद् सदस्य अमर न्यौपानेलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन चेतनाथ धमलाले गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise