२०८१ पुष २४ गते बुधवार / Jan 08 , 2025 , Wednesday
२०८१ पुष २४ गते बुधवार
Ads

गाउँ नजाने नेता !

ADV
जानकी पाठक
२०८१ पुष २३ गते ०६:४५
गाउँ नजाने नेता !

काठमाडौं : २ प्रमुख कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) केन्द्रीय समितिको बैठकमा छन् । दुवै पार्टीमा मूल नेतृत्वले राजनीतिक प्रतिवेदन पेस गरेर केन्द्रीय सदस्यको धारणा लिइरहेका छन् । यस क्रममा एमाले र माओवादी केन्द्रका केन्द्रीय सदस्यहरूले पार्टी नेतृत्व काठमाडौं केन्द्रित हुने तर, गाउँ/टोलमा नजाने प्रवृतिले जनतासँगको सम्बन्ध टाढिन पुगेका समान निष्कर्ष नेतृत्वलाई सुनाएका छन् । 

नेताहरूका अनुसार माओवादी केन्द्रमा आइतबार प्रदेशगत समितिहरूले रिर्पोटिङ गरेका थिए । त्यसक्रममा उनीहरूले पार्टीको मूल नेतृत्व गाउँ÷टोलसम्म पुग्नुपर्ने माग राखेका थिए । 

सातै प्रदेशका अध्यक्षले पार्टी सदस्यता नवीकरण नसकिएको, सम्मेलन गर्नै बाँकी रहेका र यसको कारण नेतृत्व काठमाडौं केन्द्रित रहेको बताएका थिए ।

उनीहरूको माग थियो, ‘सिंगो पार्टी कमिटी र नेतृत्व वडा र टोलमा केन्द्रित हुन आवश्यक छ ।’ 

सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि बोल्ने क्रममा पनि नेताहरूले पार्टी उत्पादनसँग जोडिनुपर्ने र यसक्रममा गाउँ/टोल केन्द्रित हुन सकिने राय पार्टीमा राखेका छन् ।

माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार अध्यक्ष प्रचण्डसहितका सबै नेता÷कार्यकर्ताहरू श्रम र उत्पादनमा जोडिनुपर्ने धारणा केन्द्रीय सदस्यहरूले राखेका हुन् । 

केन्द्रीय सदस्यहरूले राखेको धारणाबारे उनी भन्छन्, ‘प्रचण्डसहितका सबै नेता, कार्यकर्ताहरू श्रम र उत्पादनमा जोडिनुपर्छ भन्ने आएको छ । उत्पादनमा जोडिँदा श्रम र जनता दुवैसँग जोडिन सकिन्छ ।’ 

एमालेका केन्द्रीय सदस्यहरूले पनि पार्टी नेताहरू काठमाडौं केन्द्रित भएको र जनतासँगको सम्बन्धमा दुरी रहन गएको निष्कर्ष नेतृत्वलाई सुनाएका छन् । 
सोमबार बोल्ने केन्द्रीय सदस्यहरूले पार्टी जनतासम्म पुग्ने कार्यक्रम ल्याएर प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्नेमा जोड दिए ।  

नेताहरूका अनुसार पार्टीले अघि सारेको विचार र सिद्धान्त राम्रो हुँदाहुँदै पनि परिणाम दिन नसक्नुको कारण वडा र टोलसम्म पार्टी पुग्न नसक्नु रहेको औंल्याइएको छ । पार्टीमा रहेको भनिएको गुटबन्दी हटाएर जाँदा पार्टी सफल हुने उनीहरूको राय छ । 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार केन्द्रीय सदस्यहरूले पार्टी निर्माणमा देखिएका समस्या समाधानमा विशेष जोड दिएका छन् । 

केन्द्रीय सदस्यहरूले राखेका धारणाबारे उनी भन्छन्, ‘पार्टी स्कुलिङलाई लगातार जिल्लासम्म संचालन गर्नुपर्ने विषय आएको छ । पार्टीलाई आधारभूत तहमा सबलीकरण गर्नुपर्नेमा एकमत देखिन्छ ।’ 

माओवादीमा विशेष महाधिवेशन माग

माओवादी केन्द्रभित्र विशेष महाधिवेशनको माग उठेको छ । सोमबार केन्द्रीय समितिको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनको माग राखेका हुन् । 

आइतबार केन्द्रीय समितिको बैठकमा उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन निकटका नेताहरूले विशेष महाधिवेशन माग गरेका हुन् । 

आइतबार माओवादी अध्यक्ष प्रचण्डले आफू नवौं महाधिवेशनबारे प्रस्ट रहेको बताएका छन् । यस सम्बन्धमा आफूसँग २ विकल्प रहेका भन्दै उनले प्रस्ट धारणा दिन आग्रह गरेका थिए ।

नवौं महाधिवेशनका लागि वर्तमान केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेर जाने कि ६ महिना अभियान चलाएर महाधिवेशनको विषयमा निर्णय लिने भनेर अगाडि बढ्ने विकल्प दिएका थिए । २ विकल्पमा राय राख्ने क्रममा नेताहरूले दुवैथरि मत प्रस्तुत गरेका छन् । यसक्रममा उपमहासचिवद्धय शर्मा र पुन निकटका नेताहरूले विशेष महाधिवेशन माग गरेका हुन् । 

पूर्वसभामुखसमेत रहेकी ओनसरी घर्तीले पनि विशेष महाधिवेशन मागेकी छन् । तर, प्रचण्ड पक्षधर नेताहरू भने अभियान चलाएर मात्र महाधिवेशनमा जानुपर्ने पक्षमा छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise