२०८३ कार्तिक १२ गते बिहिवार / Oct 29 , 2026 , Thursday
२०८३ कार्तिक १२ गते बिहिवार

बढ्यो सिटी होटलको प्रतिसेयर नेटवर्थ

Nada
२०८२ कार्तिक ३० गते २०:४४
Shares
बढ्यो सिटी होटलको प्रतिसेयर नेटवर्थ

काठमाडौं : नेपालको पहिलो हायात सेन्ट्रिक ब्रान्डको होटल सञ्चालक सिटी होटल लिमिटेडको प्रतिसेयर नेटवर्थमा वृद्धि भएको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो त्रैमासको तुलनामा प्रतिसेयर नेटवर्थ ४ दशमलव १ रुपैयाँ बढेको हो ।

अघिल्लो त्रैमास (२०८२ वैशाख–असार)को प्रतिसेयर नेटवर्थ ८० दशमलव ८३ रुपैयाँ रहेको थियो । आइतबार सार्वजनिक चालु आर्थिक वर्षको पहिलो त्रैमास (२०८२ साउन–असोज)मा नेटवर्थ वृद्धि हुँदै ८४ दशमलव ९३ रुपैयाँ पुगेको छ । 

सिटी होटल लिमिटेडले हकप्रद सेयर जारी गरेसँगै प्रतिसेयर नेटवर्थ बढेको हो । हकप्रदबाट संकलित रकममार्फत बैंक ऋण तिर्ने कम्पनीको घोषणाले दोस्रो त्रैमासदेखि ब्याज खर्चमा उल्लेखनीय कमी आउने सञ्चालकको विश्वास छ । कम्पनीले गत आर्थिक वर्षमा २६ करोड ४३ लाख रुपैयाँ ब्याज तिरेको थियो । हकप्रद सेयरबाट संकलित रकममार्फत ब्याजमा ३० देखि ३५ प्रतिशत कमी आउनेछ ।

कम्पनीले पछिल्लो समय सञ्चालनमा सुधार गर्नुका साथै नयाँ व्यावसायिक पहलकदमी र वित्तीय भार न्यूनीकरणमा ठोस कदम चालेको छ । यसले कम्पनीको आम्दानी र नगद प्रवाहमा सकारात्मक प्रभाव पारेको जनाएको छ । कम्पनीले लाभको यात्रालाई थप सुदृढ बनाउन सुधारात्मक पहल र नयाँ आम्दानीका स्रोतको विस्तार गर्ने रणनीति तय गरेको देखिन्छ । पहिलो त्रैमासिक अवधिको प्रतिवेदनमा विभिन्न ११ वटा रणनीति उल्लेख गरिएका छन् । 

अधिक कर्पोरेट कार्यक्रम र निजी समारोह आकर्षित गर्न बैंक्वेट तथा खानपानका सुविधालाई सुधार गर्ने, गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा दूतावाससँग सम्बन्धित इभेन्ट तथा कार्यक्रम बढाई आम्दानीमा वृद्धि गर्ने, स्थानीय बजारबाट व्यापार बढाउन ध्यान केन्द्रित गर्ने, कम्पनीको व्यवसायलाई समयसमयमा समीक्षा गरी सेयरधनीलाई उच्च प्रतिफल प्रदान गर्ने, नेपालमा भविष्यमा अयोजना हुने भनिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलका महासंघ तथा क्लबसँग सहकार्य गर्नेलगायत रणनीति बनाइएको छ ।

कम्पनीले रणनीति कार्यान्वयन गर्ने क्रममा क्यासिनो सञ्चालनको तयारी गरेको छ । करिब दुई महिनाभित्र सञ्चालनमा आउने क्यासिनोबाट उच्च मार्जिन भएको राजस्व स्रोत थपिने भएकाले कम्पनीलाई निरन्तर लाभदायी बनाउने विश्वास गरिन्छ । होटल परिसरमा नयाँ जिम तथा स्पा सञ्चालनको तयारी पनि गरिएको छ । यसले होटलको सेवा दायरा बढाउनुका साथै उच्च श्रेणीका ग्राहकलाई आकर्षित गर्नेछ ।

सम्बन्धित खबर