२०८२ कार्तिक २९ गते शनिवार / Nov 15 , 2025 , Saturday
२०८२ कार्तिक २९ गते शनिवार
Ads

आफ्नै अहम्‌ले जनमत सिध्याएका सिके

shivam cement
जीवन शर्मा
२०८२ कार्तिक २९ गते ०६:३५
Shares
आफ्नै अहम्‌ले जनमत सिध्याएका सिके

काठमाडौं : पृथकतावादी आन्दोलन त्यागेर वैधानिक राजनीतिमा अवतरण गरेका चन्द्रकान्त राउत ‘सिके’ २०७५ यता राजनीतिक चर्चाका पात्र बनेका छन् । सात वर्षअघि निकै उत्साहका साथ उनकै नेतृत्वमा जनमत पार्टी स्थापना भयो । उक्त दलप्रति एउटा समुदायको ठुलै अपेक्षा थियो भन्ने पुष्टि गत आमचुनावले ग¥यो । चुनावमा भाग लिएकै वर्ष जनमत राष्ट्रिय पार्टी बन्यो । मधेश आन्दोलनका शीर्ष नेता उपेन्द्र यादवलाई पराजित गर्दै सिके जबर्जस्त उदाए । नयाँ आशा लिएर त्यसरी उदाएको उनको दल एक कार्यकाल पूरा नगर्दै चार टुक्रामा विभाजित भएको छ । जतिसुकै पानीमाथि ओभानो बन्न खोजे पनि यसको मूल कारक स्वयं सिके राउत नै हुन् । 

मधेशलाई नेपालबाटै अलग गरेर स्वतन्त्र राज्यको पहिचान दिने पृथकतावादी नारा बोकेर राजनीतिमा आएका राउत लिखित दस्ताबेज लिएर राष्ट्रसंघसम्म पुगेका थिए । तर देशद्रोहको मुद्दामा पक्राउ परेपछि उनले पृथकतावादी आन्दोलन त्यागे । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ मा उनलाई मूलधारको राजनीतिमा अवतरण गराएको थियो । 

सरकारसँग ११ बुँदे सम्झौता गरेका उनले स्वतन्त्र मधेश गठबन्धनको नाम परिवर्तन गरी जनमत पार्टी गठन गरेसँगै स्वतन्त्र मधेशको नारा बिसाए । खुला राजनीतिमा फर्किएपछि उनले सुशासन र किसान आन्दोलनलाई आफ्नो अभियानका रूपमा अघि बढाए । त्यसले उनको पार्टीप्रति मधेशी समुदायको अपेक्षा बढ्यो । फलस्वरूप पहिलो निर्वाचनमै सिके राउतले अपेक्षाकृत सफलता हासिल गरे । स्थानीय चुनावमा कमजोर देखिए पनि प्रदेश र प्रतिनिधि सभातर्फ उत्साहजनक जनमत प्राप्त गर्‍यो । 

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी–२ बाट पराजित गर्दै संसद् भवन छिरेपछि उनको क्रेज अझै बढ्यो । प्रत्यक्षमा एकसहित ६ सिट जितेर सिके राउत प्रतिनिधि सभा प्रवेश गरेका थिए । मधेशमा चौथो ठुलो दल बनेको जनमत निर्णायक शक्तिका रूपमा उदाएको थियो । १ सय ७ सिट रहेको मधेश प्रदेश सभामा प्रत्यक्ष ६ र समानुपातिक ७ गरी १३ सिट छ । 

मधेशबाट उदाएका नेता राउतको दल संघ र प्रदेश सरकारमा सहभागी भयो । तर उनका अभिव्यक्ति सधैं प्रतिपक्षीय रहे । पछिल्लो समय एमाले–माओवादी केन्द्रको समर्थनमा संसदीय दलका नेतालाई पन्छाएर सतिशकुमार सिंहलाई मुख्यमन्त्री बनाए । तैपनि सरकारप्रति कोही धेरै असन्तुष्ट थियो भने स्वयं राउत नै थिए । अन्ततः उनले सिंहलाई पनि फिर्ता बोलाएर मधेश सरकारमा अस्थिरता निम्त्याए । मुख्यमन्त्री सतिशले छाडेयता धमिलिएको मधेश राजनीति अझै सग्लो भएको छैन ।

झट्ट हेर्दा क्रान्तिकारी देखिने तर भित्रभित्रै उपप्रधानमन्त्री बन्ने आकांक्षाले राउतमा उकुसमुकुस भइरह्यो । चुनाव जितेर आएपछि १० पुस २०७९ मा उनी एमाले–माओवादी गठबन्धन बनाउन एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगे । सरकारमा जाने पहिलो सहमति नै उनैले गरेका थिए । तर सम्झौताअनुसार मन्त्री नपाएपछि असन्तुष्टि पोख्दै कहिले मन्त्री फिर्ता बोलाउने त कहिले पठाउने गरिरहे । उनले राम्ररी पार्टी चलाउन पनि सकेनन् । समानुपातिक सांसद् फेर्न सभामुखसँग संघर्ष गर्दैमा उनले धेरै समय खर्चिए । विवाद बढ्दै जाँदा अध्यक्ष राउतले पार्टीका उपाध्यक्ष दीपक साह र कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई स्पष्टीकरण सोधे । उनीहरूले दिएको स्पष्टीकरणको जवाफ चित्त नबुझाएर पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरे । त्यसबेला खानेपानी मन्त्रीमा पठाएका नेता नेता अब्दुल खानसँग पनि उनको कुरा मिलेन । अहिले उनी पार्टी छाडेर रेशम चौधरी संरक्षक रहेको नाउपा नेपालमा गइसकेका छन् । अन्ततः उनको पार्टी विभाजन भई छाड्यो । पार्टीको अस्तित्व गुम्दै जाँदा उनी एक्लिएका छन् ।

‘सिकेजीको शैली, व्यवहार र ढंगले पार्टी संगठन चल्दैन भनेर हामी त्यहाँबाट अलगिएका हौं,’ खानले भने, ‘अध्यक्ष राउतको तानाशाही प्रवृत्तिले आफूहरू पार्टीमा बस्न नसकेर निस्किएका हौं ।’ गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि असोज १ गते उपाध्यक्ष खान, प्रवक्ता डा. शरतसिंह यादवलगायत नेताहरूले राउतलाई २४ घण्टाभित्र अध्यक्ष पदबाट राजीनामा दिन अल्टिमेटम दिएका थिए । तर राउतले उल्टै पार्टी छाडेर जान निर्देशन दिएपछि झगडा गरेर नबस्ने भन्दै उनिहरू पार्टीबाट बाहिरिएको उनी बताउँछन् । ‘जेनजी आन्दोलनको म्यान्डेटअनुसार हामीले उहाँलाई पार्टीको नेतृत्व अरूलाई सुम्पिन्न आग्रह गर्‍यौं,’ खान भन्छन्, ‘तर उहाँले हामीलाई नै पार्टी छाडेर जान भनेपछि हामी निस्किएका हौं । कारबाहीमा परेर निस्किनुभन्दा आफैं राजीनामा दिएर निस्कनु राम्रो ठानेर हामी जनमतबाट बाहिरिएका हौं ।’ 

जनमत पार्टीबाट विद्रोह गरेकाहरूले दीपक साहको नेतृत्वमा जनस्वराज पार्टी गठन गरेका छन् भने कैलाश महतोको नेतृत्वमा स्वाधीन मधेश जनअभियान बनाएका छन् । पूर्वमन्त्रीसमेत रहेका पार्टीका पूर्वउपाध्यक्ष अब्दुल खान अहिले बेग्लै छन् । उनी नयाँ दल बनाउने कि कुनै दलबाट चुनावमा जाने भन्ने विषयमा छलफल गरिरहेको बतउँछन् । ‘हामीले छुट्टै पार्टी गठन गर्न सक्छौं वा कुनै पार्टीमा सामेल हुन सक्छौं । त्यसबारेमा छलफल गरिरहेका छौं,’ खानले मध्यान्हसँग भने । 

खुला राजनीतिमा आएको तीन वर्षमै पार्टीमा एक्लिदै गएपछि राउतले पुरानै मुद्दा खोतल्न थालेका छन् । अहिले मधेश सरकार गठनमा भएको तनावप्रति लक्षित गर्दै राउतले ‘नेपाली उपनिवेशवाद’विरुद्ध मधेश स्वराजको नारा दिन थालेका छन् । यसले फेरि मधेशमा अशान्ति हुने खतरा बढेको मधेशको राजनीतिका जानकार बताउँछन् । वरिष्ठ पत्रकार राजेश कर्ण सिके राउतको पृथकतावादी आन्दोलनलाई ब्युताउन खोजे त्यसबाट मधेशमा केही असहज परिस्थिति निम्तिने बताए ‘मधेशमा पार्टीबाट विभाजन भएर गएकाहरूको भन्दा सिकेकै बढी बोलवाला चल्छ । फेरि पनि मधेशलाई स्वतन्त्र बनाउने कुरा उठाए भने केही न केही असहजता त पक्कै हुन्छ,’ उनले भने, ‘तर उनको तेज पहिलेजस्तो छैन ।’ 

ADV

सम्बन्धित खबर