२०८२ कार्तिक २९ गते शनिवार / Nov 15 , 2025 , Saturday
२०८२ कार्तिक २९ गते शनिवार
Ads

आधा कार्यकालमै तितरबितर 

shivam cement
जनक नेपाल
२०८२ कार्तिक २९ गते ०६:२५
Shares
आधा कार्यकालमै तितरबितर 

काठमाडौं : वैकल्पिक राजनीतिबारे राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रको सटिक टिप्पणी छ, ‘नेपालीले मेन्यु ओल्टाइपल्टाई हेर्छ । लास्टमा मःम र चाउमिन अर्डर गर्छ ।’ 

नयाँ दलप्रति रुचि राख्ने तर चुनावका बेला पुरानै दल कांग्रेस, एमाले वा माओवादी केन्द्रलाई भोट हाल्ने प्रवृत्ति रहेको अर्थमा उनले त्यसो भनेका हुन् । उनी स्वयं पनि बिबिसीको लामो जागिर छाडेर वैकल्पिक राजनीतिमा होमिएका थिए । सुरुमा साझा पार्टीबाट राजनीति सुरु गरेका मिश्रले विवेकशील पार्टीसँग एकता गरेर विवेकशील साझा पार्टी बनाए । तर न पार्टीलाई एक ढिक्का राख्न सके, न त विचारमै अडिए । अन्ततः १२ असोज २०७९ मा वैकल्पिक राजनीति छाडेर ‘विचारभन्दा माथि देश’को नारासहित दक्षिणपन्थी दल राप्रपामा पुगे ।

स्विकारिसकेको गणतन्त्रबाट पछाडि फर्किए, जसलाई उनी मध्यम दक्षिणपन्थी भन्दै आएका छन् । दुवैपटक चुनाव लड्दा उनी दुई भिन्न दलबाट सहभागी भए । अर्थात् उनको राजनीति एक आवधिक चुनावी कार्यकालसम्म पनि टिकेन ।  

मिश्र मात्र होइन, नेपालमा वैकल्पिक राजनीतिको फसल खासै फस्टाएको छैन । विवेकशील नेपाल सानो दबाब समूहमै सीमित भयो । मिश्रसँग एकता, विवाद र विभाजनपछि सो पार्टी लगभग तितरबितर भइसकेको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुरु गरेको नयाँ शक्ति दुई पात नलाग्दै ओइलायो । माओवादी सशस्त्र विद्रोहका प्रमुख नेतामा पर्छन्, भट्टराई । संविधान सभाबाट ३ असोज २०७२ मा नयाँ संविधान जारी हुँदा उनी संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापति थिए । तर संविधान घोषणापछि ‘रातो स्टिकर टाँसेको घर’ भन्दै ९ असोजमा सांसदबाट राजीनामा दिएर माओवादी केन्द्र छाडे । 

३० जेठ २०७३ मा दशरथ रंगशालामा ठुलै तामझामसहित नयाँ शक्ति घोषणा पनि गरे । उनको वैकल्पिक दलमा हालका अर्थमन्त्री रामेश्वर खनालसहित पूर्वप्रशासक, कलाकार र थुप्रै विश्लेषकहरू थिए । तर उनको पार्टी शक्ति आर्जन नगर्दै जसपा बन्यो । त्यहाँबाट पनि छुट्टिएर महिन्द्राराय यादवलाई सहअध्यक्ष राखेर नेपाल समाजवादी पार्टी बनाए । श्रीमती हिसिला यमी उपाध्यक्ष र छोरी मानुषीलाई केन्द्रीय सदस्य राखे । उनको दलले गत आमचुनावमा माओवादी केन्द्रको चुनाव चिन्हबाट उम्मेदवारी दियो । त्यो पार्टी न माओवादी केन्द्रमा मिल्यो न त सग्लो रह्यो । झन्डै एक्लिएका भट्टराईले सहअध्यक्ष दुर्गा सोबलाई संयोजक बनाएर नेतृत्व छाडेका छन् । तैपनि उनको राजनीतिक आकांक्षा भने पूरा भएको छैन । शुक्रबार मात्रै उनले माओवादी केन्द्र छाडेको जनार्दन शर्मा–सुदन किराँती समूह र रास्वपा छाडेका सन्तोष परियारसँग नयाँ सहकार्यका लागि सहमति गरेका छन् ।

गत आमचुनावबाटै उदाएका वैकल्पिक दलको हालत पनि भट्टराई र मिश्रभन्दा खासै भिन्न छैन । दल खोलेको छोटो समयमै रवि लामिछाने नेतृत्वको रास्वपाले माओवादी केन्द्र हाराहारीमै मत ल्याएर राष्ट्रिय राजनीतिमा उदाएको थियो । पृथकतावादी बाटो त्यागेर मूलधारमा फर्किएका सिके राउतको जनमत पार्टीले मधेस आन्दोलनबाट उदाएको जसपालाई टक्कर दिएको थियो भने पश्चिम तराईमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी उदाएको थियो । तर यी तीनवटै दल तीन वर्षमै अस्तित्व रक्षाको संकटमा पुगेका छन् । 

ADV

सम्बन्धित खबर