सर्लाही : सर्लाहीको बरहथवा नगरपालिकाको नवौं नगर सभा शुरू भएको छ । नगर प्रमुख कल्पना कुमारी कटुवालको अध्यक्षतामा सभा शुरू भएको हो ।
बरहथवा-५, स्थित नगरपालिकाको नवनिर्मित सभा हलमा आयोजना गरिएको नगर सभालाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेपाल सरकारका रक्षामन्त्री हरि प्रसाद उप्रेतीले पानसमा बत्ति बालेर सभाको उद्घाटन गरेका छन् ।
सभामा नगरपालिकाका नगर उप-प्रमुख रामबाबु प्रसाद साहले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम, तथा बजेट प्रस्तुत गरेका छन् । नगरपालिकाको नवौं नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले बरहथवा-६, स्थित नवनिर्मित १५ बेडको नगर अस्पताललाई विशेष प्राथमिकतामा राखिएको बताएका छन् ।
सो अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको सुबिधा सम्पन्न शल्यक्रिया, भिडियो एक्सरे, प्रयोगशाला, ब्लडबैंक,आइ.सी.यु. सहितको अत्याधुनिक सुविधा सम्पन्न प्रस्तुतिगृह विषेश प्राथमिकताका साथ क्रमशः संचालनमा ल्याइने र नगर अस्पतालमा बिमासहितको फार्मेसी सेवा पनि संचालनमा ल्याइने बताएका छन् ।
नवौं नगर सभाको बन्दसत्र पनि आजैबाट शुरू भएको कार्यक्रमका संचालकसमेत रहेका नगरपालिकाका कानुनी सल्लाहकार महेश बरालले जानकारी दिए ।
यता नेपाली कांग्रेस तथा नेकपा माओवादीबाट निर्वाचित वडा अध्यक्षहरूले सभालाई बहिस्कार गरेका छन् । नेपाली कांग्रेसबाट निर्वाचित वडा नं.६ का वडा अध्यक्ष अफ्ताब आलम (मिस्टर) र वडा नं.१२ का वडा अध्यक्ष रामजी यादवले २०८० साल असोज ९ गते बसेको नगर कार्यपालिकाको बैठकले नगर अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गरि स्तरउन्नति गर्ने निर्णय कार्यान्वयन नभएको, चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट कुन् शीर्षकमा कति खर्च भयो र कति बाकी रहेको त्यसको विवरण सार्वजनिक नभएको र बजेटसहितको नीति तथा कार्यक्रम नगर सभामा प्रस्तुत नभएको भन्दै सभा बहिस्कार गरेको बताए ।
त्यस्तै नेकपा माओवादीबाट निर्वाचित वडा नं.९ का वडा अध्यक्ष तुल्सी लुइँटेलले पनि बजेटसहितको नीति तथा कार्यक्रम नगर सभामा प्रस्तुत गर्नुपर्ने माग राख्दै सभा बहिस्कार गरेका छन् । मध्यान्हकर्मीसंग कुरा गर्दै उनले भने `नगरपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम अनुसार बजेट विनियोजन नगरेकोले आगामी आर्थिक वर्ष २०८१/०८२ को निति तथा कार्यक्रम बजेट सहितको हुनुपर्ने हाम्रो माग छ।´
नगरपालिकाले हाम्रो माग सम्बोधन नगरेसम्म नगर सभामा सहभागी नहुने नगर सभालाई बहिस्कार गरेका वडा अध्यक्षहरुले बताएका छन् । नगरपालिकाको १८ वटा वडा मध्ये ७ वटामा नेपाली कांग्रेस र १ वटामा नेकपा माओवादीका उमेदवार निर्वाचित छन् । नेपाली कांग्रेसबाट निर्वाचित वडा नं.५ का वडा अध्यक्ष भने सभामा सहभागी भएका छन् ।