२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बरहथवाको नवौं नगरसभा : कांग्रेस र माओवादीका वडा अध्यक्षद्वारा बहिस्कार 

ADV
लक्ष्मण यादव
२०८१ असार १० गते २१:५७
बरहथवाको नवौं नगरसभा : कांग्रेस र माओवादीका वडा अध्यक्षद्वारा बहिस्कार 

सर्लाही : सर्लाहीको बरहथवा नगरपालिकाको नवौं नगर सभा शुरू भएको छ । नगर प्रमुख कल्पना कुमारी कटुवालको अध्यक्षतामा सभा शुरू  भएको हो । बरहथवा–५, स्थित नगरपालिकाको नवनिर्मित सभा हलमा आयोजना गरिएको नगर सभालाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेपाल सरकारका रक्षामन्त्री हरि प्रसाद उप्रेतीले पानसमा बत्ति बालेर सभाको उद्घाटन गरेका हुन् । 

सभामा नगरपालिकाका नगर उपप्रमुख रामबाबु प्रसाद साहले आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति, कार्यक्रम, तथा बजेट प्रस्तुत गरेका छन् । नगरपालिकाको नवौं नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले बरहथवा–६, स्थित नवनिर्मित १५ बेडको नगर अस्पताललाई विशेष प्राथमिकतामा राखिएको बताएका थिए । 

सो अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको सुबिधा सम्पन्न शल्यक्रिया, भिडियो एक्सरे, प्रयोगशाला, ब्लडबैंक,आइ.सी.यु.सहितको अत्याधुनिक सुविधा सम्पन्न प्रस्तुतिगृह विषेश प्राथमिकताका साथ क्रमशः सञ्चालनमा ल्याइने र नगर अस्पतालमा बीमासहितको फार्मेसी सेवा पनि सञ्चालनमा ल्याइने बताएका छन् ।

नवौं नगर सभाको बन्दसत्र पनि सोमबारबाट शुरू भएको कार्यक्रमका सञ्चालकसमेत रहेका नगरपालिकाका कानूनी सल्लाहकार महेश बरालले जानकारी दिए । यता नेपाली कांग्रेस तथा नेकपा माओवादीबाट निर्वाचित वडा अध्यक्षहरूले सभालाई बहिस्कार गरेका छन् । नेपाली कांग्रेसबाट निर्वाचित वडा नं.६ का वडा अध्यक्ष अफ्ताब आलम (मिस्टर) र वडा नं.१२ का वडा अध्यक्ष रामजी यादवले २०८० साल असोज ९ गते बसेको नगर कार्यपालिकाको बैठकले नगर अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गरी स्तरउन्नति गर्ने, निर्णय कार्यान्वयन नभएको, चालु आर्थिक वर्ष २०८०-०८१ को बजेट कुन शीर्षकमा कति खर्च भयो र कति बाँकी रहेको त्यसको विवरण सार्वजनिक नभएको र बजेटसहितको नीति तथा कार्यक्रम नगर सभामा प्रस्तुत नभएको भन्दै सभा बहिस्कार गरेको बताए ।

त्यस्तै नेकपा माओवादीबाट निर्वाचित वडा नं.९ का वडा अध्यक्ष तुल्सी लुइँटेलले पनि बजेटसहितको नीति तथा कार्यक्रम नगर सभामा प्रस्तुत गर्नुपर्ने माग राख्दै सभा बहिस्कार गरेका छन् ।  मध्यान्हसँग कुरा गर्दै उनले भने,‘नगरपालिकाले चालू आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम अनुसार बजेट विनियोजन नगरेकोले आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम बजेट सहितको हुनुपर्ने हाम्रो माग छ।’

नगरपालिकाले हाम्रो माग सम्बोधन नगरेसम्म नगर सभामा सहभागी नहुने नगर सभालाई बहिस्कार गरेका वडा अध्यक्षहरुले बताएका छन् । नगरपालिकाको १८ वटा वडा मध्ये ७ वटामा नेपाली कांग्रेस र १ वटामा नेकपा माओवादीका उमेदवार निर्वाचित छन् । नेपाली कांग्रेसबाट निर्वाचित वडा नं.५ का वडा अध्यक्ष भने सभामा सहभागी भएका छन् ।
 

ADVADV

सम्बन्धित खबर

Advertise