२०८१ माघ २ गते बुधवार / Jan 15 , 2025 , Wednesday
२०८१ माघ २ गते बुधवार
Ads

बौद्धगाथाको आख्यानीकरण

ADV
२०८१ पुष २७ गते ०६:२५
बौद्धगाथाको आख्यानीकरण

–धर्मराज भट्टराई

कुनै इतिहासविद्ले इतिहासका बारेमा व्याख्या गर्नु कुनै अचम्मको कुरा भएन । कुनै गीतकारले गीत रचनाका बारेमा लेख्नु, बोल्नुलाई सामान्य मान्न सकिन्छ । तर, जब कुनै आख्यानकारले इतिहास खोतल्न थाल्छन्, तब भने अचम्म मान्नुपर्ने देखिन्छ ।

त्यसमाथि संसारकै चर्चित, सबैका मार्गदर्शका बनेका आदर्श व्यक्तित्वमाथिको जीवनी लेखनलाई सामान्य रूपमा हेर्न सकिँदैन । यसमा ठूलो मिहिनेत, साधना तथा परिश्रम मात्रले पुग्दैन, जोखिम पनि वहन गर्न सक्नुपर्ने देखिन्छ । यस्तै जोखिम मोल्ने लेखकमा पर्नुभएको छ, शैलेन्द्र अधिकारी ।

पछिल्लो पटक प्रकाशित ‘अर्हत्’ उपन्यासमा अधिकारीले बुद्धगाथा र बुद्धका धर्मोपदेशलाई आख्यानीकरण गर्नुभएको छ । यति मात्र होइन, बुद्धकालीन समाज, राज्य व्यवस्था, राजनीतिक परिवेशका साथै तत्कालीन पारिवारिक पद्धतिका बारेमा समेत उपन्यासमा व्याख्या गरिएको देखिन्छ । 

सिद्धार्थ गौतमको सामान्य इतिहासका बारे नजान्ने विरलै होलान् । विद्यालयदेखि विश्वविद्यालयसम्मका पाठ्यपुस्तकदेखि विभिन्न लेख रचनाहरूमा उनका बारेमा वर्णन गरिएको पाइन्छ ।

उनको जन्म आजभन्दा करिब २ हजार ६०० वर्ष अगाडि लुम्बिनीमा भएको थियो । दरबारमा जन्मिएर सुख सयलमा हुर्किएका उनी संसार बुझ्न र ज्ञानको खोजीमा दरबार छाडेर निस्किए । कठोर तपस्यापछि उनमा अदभुत ज्ञान (बुद्धत्व) प्राप्त भयो । त्यसपछि उनी गौतम बुद्धका नामले परिचित हुन थाले । 

उनको महापरिनिर्वाण ८० वर्षको उमेरमा भारतको कुशीनगरमा भएको थियो । यिनै जानकारीहरूलाई आधार बनाएर धेरैले गौतम वुद्धका बारेमा आफ्नो धारणा राख्ने गरेका पाइन्छ । तथापि, यसरी बनेका धारणाहरू अपूर्ण रहेछन् भन्ने कुरा ‘अर्हत्’ उपन्यास पढेपछि अनुभव गर्न सकिन्छ । बुद्ध र बुद्धकालीन समयका बारेमा सामान्य अध्ययनबाट मात्र विश्लेष्ण गरियो भने ‘अर्हत्’माथि अन्याय हुने देखिन्छ ।

‘अर्हत्’ उपन्यासका लेखक अधिकारीले आफ्नो पुस्तकमा गौतम बुद्धको जन्मदेखि उनको महापरिनिर्वाणसम्मको करिब ८० वर्षको कालखण्डलाई सरल र सहज शैलीमा पस्किने प्रयास गरेका छन् । यस अवधिमा घटेका विभिन्न घटनाक्रमहरूलाई ४७ खण्डमा विभाजन गरिएको छ । हरेक खण्डलाई १ शब्दका उपशीर्षक दिएर कथाहरूको विस्तीर्णता तयार गरिएको छ । 

पहिलो खण्ड ‘आदाहनोत्सव’ बुद्धको मृत्यु तथा मृत्यु संस्कारसँग सम्बन्धित छ । यसैगरी दोस्रो खण्ड ‘संस्तवन’मा चैत्य निर्माण र उद्घाटनका प्रसंगहरू उलेल्ख छ । तेस्रो खण्डदेखि अन्तिमसम्म गौतम बुद्ध र भिक्षु आनन्दबीचको संवादले ठाउँ ओगटेको पाइन्छ ।

यी खण्डहरूमा सिद्धार्थ गौतम घर छाडेर हिँड्दाको अवस्था, बाटामा गरेको यात्रा, ज्ञानको खोजीमा गरेको कठिन तपस्या, ज्ञान प्राप्त भइसकेपछिका उपदेश यात्राका बारेमा वर्णन गरिएको छ ।

यसैगरी त्यति बेलाको समाजको अवस्था, उत्तर बिहारका विभिन्न राज्यहरू तथा बुद्धबाट प्रभावित भई संन्यास लिएर संघमा सामेल भएका उपासक, साधक, राजा, व्यापारी, डाका, विरहिणी स्त्री तथा अपराधीहरूसंग सम्बन्धित घटनाहरू समेटिएका छन् । उपन्यासमा बुद्धलाई मुख्य पात्र बनाएर उनकै मुखबाट सिंगो उपन्यासको कथा प्रस्तुत गरिएको छ । 

आख्यानकार अधिकारीले उपन्यासको नाम ‘अर्हत्’ राख्नुका पछाडिसमेत बुद्धगाथाको प्रभाव देखिन्छ । संस्कृत शब्द ‘अर्हत्’लाई ‘अरहन्त’को समानान्तर मानिएको छ । यसको अर्थ ठूलो ज्ञानी, आराध्य, पूजायोग्य, तीर्थंकर, पूर्ण मनुष्य, मोक्षप्राप्त व्यक्ति अर्थात् बुद्ध भन्ने रहेको छ ।

ज्ञानको अथाह सागरबाट पूर्ण भएर निर्वाणको विशिष्ट अवस्थामा पुगेको अवस्थालाई ‘अर्हत्’ भन्न खोजेको देखिन्छ । यसको भाव पूजनीय स्तुतियोग्य व्यक्तिलाई दिइने पदवी भन्ने जनाउँछ । उपन्यासमा बुद्ध र ‘अर्हत्’ प्राप्त गरेका उनका अनुयायीहरूको वर्णन पहिलो खण्डमा गरेको भेटिन्छ ।

यसैगरी सम्यक् दृष्टि प्राप्त भइसकेका बुद्धात्माहरूको समेत उपन्यासमा उल्लेख गरिएको छ । यस्ता व्यक्तिहरूले ३ महिना अगाडिदेखि नै आफ्नो मृत्युको पूर्वसंकेत प्राप्त गर्ने गर्छन् ।   तदनुरूप बुद्धले आनन्दसँग आफ्नै मृत्युको पूर्वघोषणा गरेका र त्यसलाई शोक–सुर्ताको समयको रूपमा होइन बरु नियमित प्राकृतिक प्रक्रियाको रूपमा लिन सुझाएका प्रसंगहरू ‘आयुसंस्कर’ खण्डमा उल्लेख गरिएका छन् ।

सिद्धार्थ गौतमको जन्म भएको ५ दिनका दिन दरबार आएका ८ ब्राह्मणहरू राम, भोज, ध्वज, लक्ष्मण, मन्त्री, कौण्डिन्य, सुयाम र सुदत्तले ‘यो बालक भविष्यमा कि त चक्रवर्ती सम्राट बन्छ कि त बुद्ध बन्छ’ भनेर घोषणा गरेका थिए ।

यो कुरा उनका पिता महाराज शुद्धोधन र माता महारानी प्रजावती गौतमी समक्ष राख्दा उनीहरूको मुहार निन्याउरो भयो । राजपरिवारले सिद्धार्थ गौतम चक्रवर्ती सम्राट बनून् भन्ने चाहन्थे । जब संन्यासी कौण्डिन्यले यो बालक चक्रवर्ती सम्राट नभई सत प्रतिशत बुद्ध बन्छ भनेर घोषणा गरे, त्यसपछि दरबारमा सन्नाटा छायो ।

यसको केही समयपछि दरबारमा ऋषि असितको आगमन भयो । जब उनले सिद्धार्थ गौतमलाई देखे, त्यसपछि सुँक्कसुँक्क रुन थाले । यो देखेर महाराजले ‘किन रुनुभएको ?’ भनेर सोध्दा ऋषि असितले न भूतो न भविष्यतिको कुण्डली लिएर यी बालकको जन्म भएको बताए ।

उनले यी बालकको व्यक्तित्वले जगत् झलमलाउने र यस्ता सम्यक सम्बुद्धको दर्शनबिना आफ्नो मृत्यु हुने भयो भनेर आँसु आएको बताए भन्ने कुरा उपन्यासको ‘मरुद्यान’ खण्डमा उल्लेख गरिएको छ ।

उपन्यासमा बुद्धले बताएका मुक्तिका मार्गहरूको पनि चर्चा गरिएको छ । मानव जातिले सांसारिक दुःखबाट मुक्ति प्राप्त गर्न बुद्धले अष्टांगिक मार्गको चयन गरेका छन् । यसलाई ज्ञान, शील र समाधि गरी ३ भागमा बाँडेको उनको भनाइ छ । यसमा ज्ञानअन्तर्गत सम्यक् दृष्टि (सही ढंगले बुझ्नु) र सम्यक् संकल्प (नियत राम्रो हुनु) परेका छन् भने शीलअन्तर्गत सम्यक् वाणी (भनाइ र गराइमा फरक नहुनु), सम्यक् कर्म (अरूलाई हानि हुने कर्म नगर्नु) र सम्यक् आजीविका (कसैलाई हानि नगर्ने पेसा वा व्यवसाय) परेका छन् ।

यसैगरी समाधिअन्तर्गत सम्यक् व्यायाम (धेरै परिश्रम र धेरै अल्छी नहुनु), सम्यक् स्मृति (सचेत र सतर्क भइरहनु) र सम्यक् समाधि (एकाग्र चित्त हुनु) समेटिएका छन् । 

मूर्ति पूजाभन्दा महान कार्य मानवता पूजा भएको बुद्धको धारणा थियो । शान्ति बाहिर होइन, आफूभित्रबाट नै खोज्न सकिन्छ र सांसारिक दुःख निवारणका लागि त्यसको कारणसम्म पुगेर उधिन्नुपर्छ भन्ने भाव बुद्ध दर्शनले अँगालेको देखिन्छ । संसार अतिसंग्रह, लोभ, डाह र इष्र्याको अग्निमा जलिरहेको छ, त्यसबाट मुक्ति पाउन अष्टांगिक मार्ग नै एक मात्र उपाय भएको बुद्ध विचारको भावलाई उपन्यासमा दुरुस्त उतारिएको छ ।

बुद्ध दर्शनले मानव जगत्लाई सही बाटोमा हिँड्न प्रेरित गरेका प्रसस्तै उदाहरणहरू लेखकले संकलन गरेका छन् । यसैगरी समाजलाई व्यवस्थित र मर्यादित बनाउनसमेत बुद्धका उपदेशहरूको महत्त्वपूर्ण भूमिका रहेको कुरालाई उपन्यासले दर्शाउने प्रयास गरेको छ । यसै कारण ‘अर्हत्’का पाठकले बुद्धकालीन इतिहास मात्र नभई बुद्धगाथा र बुद्धको धर्मोपदेशबारे समेत जानकारी प्राप्त गर्न सक्ने आशा गर्न सकिन्छ ।

ADVADV

सम्बन्धित खबर

Advertise