-शम्भु घिमिरे
अहिले विश्वभरि नै अदृश्य सरुवा रोग फैलिएको छ । भाइरस फैलने डरले विश्वका धनी–गरिब सबै मानिस त्रसित छन् । संक्रमण फैलन नदिन जल, स्थल, वायुु मार्ग बन्द गरिएका छन् । एक ठाउँबाट अर्को ठाउँ जान पाइँदैन । विश्व नै ठप्प । कारोना भाइरस चीनबाट सुरु भई युरोप तथा अमेरिका बढी फैलिएको छ । विश्वभरि फैलिएको कोरोना विषाणुले लाखौंको ज्यान लिएको छ । अहिलेसम्म विषाणु रोक्न कुनै औषधि, खोप पत्ता लागेको छैन । सर्वत्र त्राहिमाम छ । संक्रमण फैलने डरले साथी, भाइ आफन्त भेट्ता डराउनुपर्ने अवस्था छ । सबै संशकित । एक घरबाट अर्को घर एक ठाउँबाट अर्को ठाउँ जान बन्छ । मान्छे आ–आफ्नै घरमा बन्दी भएका छन् । सरुवा रोग फैलन नदिने उद्देश्यले गरिएको लकडाउनले नेपालको आर्थिक, सामाजिक, शैक्षिक, क्षेत्रमा ठूलो क्षति भएको छ । स्वास्थ्य, पर्यटन क्षेत्र ध्वस्त छ । त्यति मात्र कहाँ हो र ? लकडाउनका कारण देशका करिब ३५ हजार विद्यालयमा अध्ययनरत ६३ लाखभन्दा बढी बालबालिका प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
एसईई परीक्षा रोकिँदा त्यतिमात्र कहाँ हो र एसईई परीक्षा रोकिँदा ५ लाख बालबालिका अन्योलमा छन् । ५ लाख बालबालिका अन्योलमा छन् । महाव्याधि कहिले नियन्त्रण हुने, विद्यालय कहिले खुल्ने, पढाइ कहिले हुुने ? अनिश्चित छ, जसका कारण बालबालिकाहरू शिक्षाको उज्यालोबाट वञ्चित भएका छन् । खेल्ने, चल्ने, विद्यालय जाने उमेरका कलिला नानीहरूलाई लकडाउनले सबभन्दा धेरै कठिनाइ भएको छ । घरभित्रै बस्नुको पीडा खपिसक्नु छैन । घरभित्रै छेकेर राख्दा चलिरहनुपर्ने चञ्चल बालस्वभाव कुण्ठित भएको छ । मुस्कुराइरहने अनुहारहरू मलिन छन् । साथीसँग भेटघाट गर्न, खेल्न नपाउँदाको पीडा हामी केवल अनुमान मात्र गर्न सक्छौं । खाऊँखाऊँ लाऊँलाऊँ गर्ने उमेरका बालबालिकासँग अहिले न पुस्तक, न स्कुल, न खेल सामग्री नै छ । त्यतिमात्र कहाँ हो र ? दिनभर काम गरी हातमुख जोड्ने गरिब, मजदुरका घरमा खाने कुरा सकिएको छ । तिनका बालबालिका भेकभोकै छन् । सरकारले राहत दिई मलमपट्टी लगाई थुमथुम्याउन खोजेको छ । तर, खाऊँखाऊँ लाऊँलाऊँ भन्ने उमेरका बालबालिकालाई त्यसबाट राहत भएन ।
लकडाउनकै बीचमा पनि अब बिस्तारै सुरक्षित तरिकाले आर्थिक गतिविधि सञ्चालन गर्दै जानुपर्छ । अन्यथा आगामी वर्ष झन् ठूलो समस्या उत्पन्न हुनेछ । भोकमरी लाग्न सक्छ । भौतिक दूरी कायम राख्ता संक्रमण फैलने सम्भावना कम हुन्छ । तर, विद्यालयमा सधैं भीडभाड हुने हुँदा दूरी कायम राख्न सकिँदैन । अतः विद्यालयहरू महाव्याधि नियन्त्रणमा नआउँदै शिक्षक–विद्यार्थीको प्रत्यक्ष उपस्थितिमा विद्यालय सञ्चालन गर्नु अत्यन्त जोखिमपूर्ण हुन्छ । स्थिति सामान्य हुन समय लाग्ने अनुमान गरेरै होला, शिक्षामन्त्रीले शैक्षिक सत्र भदौबाट सुरु गर्ने कुरा बताउनुभएको । मन्त्रीले भने पनि भदौबाट शैक्षिक सत्र सुरु गर्ने कुरा बताए पनि महाव्याधि कहिलेसम्म रहन्छ भन्न सकिँदैन । त्यसैले सरकारले विद्यार्थीलाई विकल्प दिई पढाई सुचारु गर्नुपर्छ । कोरोनाको कहरले अर्थतन्त्रमा पुगेको क्षतिको भरण हामी पछि पनि गर्न सक्छांै, तर विद्यार्थीको पढाइमा पुग्ने क्षति हामी कहिल्यै पूर्ति गर्न सक्तैनौं । त्यही कुरालाई ध्यानमा राखी शिक्षा मन्त्रालयले तत्काल वैकल्पिक विद्यालय शिक्षाको व्यवस्था मिलाउन जरुरी छ ।
ग्रामीण क्षेत्रका भन्दा सहरी क्षेत्रका विद्यार्थीको समस्या अलि भिन्न छ । सहरी क्षेत्रका बालबालिका कोठामा सीमित छन् । पढ्न–लेख्न, साथीसँग भेट्न, खेल्न, चल्न नपाउँदा टेलिभिजन, मोबाइल र कम्प्युटरमा दिन बिताइरहेका छन् । अपराधका दृश्य, अश्लील च्यानल, युट्युब तथा च्याटिङमा आकर्षित हुँदै गएका छन् । यसबाट भविष्यमा बालमनोविज्ञानमा कस्तो असर पर्दो हो ? त्यो पछि थाहा हँुदै जाने नै छ, तर अहिले नै उनीहरूमा बोलाउँदा झर्कने, रिसाउने जस्ता आक्रामक व्यवहार देखाउन थालेका छन् । यो राम्रो लक्षण होइन ।
अमेरिका, डेनमार्कजस्ता मुलुकका विद्यालयले अनलाइन माध्यमबाट आफ्ना विद्यार्थीहरूलाई पढाइरहेका छन् । विद्यार्थीहरू घरै बसी पढिरहेका छन् । गृहकार्य गरिरहेका छन् । तर, हाम्रा अलपत्र छन् । अब हामीले पनि देशभरका बालबालिकाहरूलाई तत्काल विद्यालयमा जम्मा गरी पढाउने परम्परागत पद्धतिको सट्टा दूर कक्षा सञ्चालन गरी पठनपाठनको व्यवस्था हामी सबै मिली गर्नुपर्छ । कोरोना संक्रमणको अन्त्य होला र विद्यालय सञ्चालन गरौंला भनेर कुरेर बस्न हँुदैन । त्रासको अन्त्य त्यति छिटो देखिँदैन । स्थिति सामान्य हुन समय लाग्न सक्छ । यसका लागि शिक्षा मन्त्रालयले पूर्वसक्रियता लिनुपर्छ । सम्बोधन गर्नैपर्छ । बालबालिकालाई घरैमा बसी पढ्न सक्ने व्यवस्था मिलाउनका लागि वैकल्पिक विद्यालय कक्षा सञ्चालन गर्न प्रस्ताव गरिएको छ ।
१. लकडाउनपछि सहरी क्षेत्रका केही सुविधासम्पन्न निजी विद्यालयहरूले अनलाइन कक्षाहरू सञ्चालन गर्न थालेका छन् । यो धेरै राम्रो सुरुवात हो । तर, सम्पूर्णतामा हाम्रो मुलुक त्यहाँसम्म पुगिसकेको अवस्था छैन । राजधानी काठमाडांैमा पनि सबै अविभावकसँग ल्यापटप, वाईफाई सुविधा छैन । ब्यान्डविथ कमजोर छ । बिजुली, वाईफाई घरी जाने घरी आउने गर्छ । ब्याकअप छैन । यसका लागि भरपर्दो बिजुली, वाईफाईसहित, विद्यार्थीसँग कक्षागत पाठ्यपुस्तक, रिफ्रेन्स पुस्तक, कक्षागत विद्यार्थी उपयोगी सिकाइ सामग्रीहरू अनलाइनमा उपलब्ध हुन जरुरी छ । त्यतिमात्रले पनि अनलाइन कक्षा सञ्चालन प्रभावकारी हुन सक्तैन । विद्यार्थी तथा अविभावक पनि प्रविधिमैत्री हुनपर्छ ।
लकडाउन सुरु भएपछि राजधानीका केही सुविधासम्पन्न कलेजले अनलाइन कक्षा सुरु गरे पनि विद्यार्थी सहभागी न्यून रह्यो । किनकि उनीहरूसँग या त पूर्वाधार थिएन वा चलाउन सक्ने खुबी । त्यसबाट के कुरा प्रस्ट हुन्छ भने अहिले नै गाउँगाउँका विद्यालयमा अनलाइन कक्षा सम्भव छैन । अब हामीले अनलाइन कक्षा सञ्चालन गर्न प्रोत्साहन दिँदै जाने र सो सुविधा उपलब्ध नहुने विद्यार्थीहरूका लागि अन्य विकल्प सुनिश्चत गर्नुपर्ने देखियो ।
२. टेलिभिजन विद्यालय कक्षा ः अहिले देशको प्रायः सबै भूभाग र धेरै जनसंख्यासम्म टेलिजिनको पहुँच छ । आज घरघरमा टेलिभिजन छ । वाईफाई सुविधा नभएको दुर्गम गाउँका घरमा पनि टिभी छ । डिस होम र अन्य स्याटेलाइटमा आधारित सेवाले पहुँचमा विस्तार गरेको छ । अब विद्यालय कक्षाहरू टेलिभिजनबाट पनि सञ्चालन गरौं । घरकै टिभीअगाडि बसी विद्यार्थीले पढ्न पाउँछन् । सोका लागि एउटा टेलिजिन च्यानलबाट एउटा कक्षा सञ्चालन गरौं । सो कामका लागि १० वटा टेलिभिजन च्यानललाई एक–एकवटा कक्षा सञ्चालनको जिम्मेवारी दिई टेलिभिजन कक्षा तत्काल सञ्चालन गरौं । सोका लागि शिक्षा मन्त्रालयले अग्रसरता लिई आवश्यक प्रबन्ध गर्नु उपयुक्त हुनेछ । टेलिभिजन कक्षामा दोहोरो संवाद नहुने भएकाले सरल भाषामा बिस्तारै दोहो¥याउँदै कक्षा सञ्चालन गरी सोको अडियो युट्युबजस्ता सोसियल साइटमा पनि राखौं । धेरै उपयोगी हुनेछ । नबुझेको कुरा विद्यार्थीहरूले पछि पनि दोहो¥याएर हेर्ने र बुझ्ने अवसर पाउनेछन् ।
३. रेडियो कक्षा : अहिले देशैभर एफएम रेडियोहरू सञ्चालनमा छन् । दुर्गममा रेडियोको आवाज सुनिन्छ । अतः अनलाइन कक्षा र टेलिभिजन कक्षाबाट पनि समेट्न नसकिने विद्यार्थीहरूका लागि रेडियो कक्षाले समेट्न सकिन्छ । अतः एफएम तथा अन्य रेडियोबाट पनि गरौं । जहाँ जे–जस्तो माध्यमबाट कक्षा सञ्चालन गर्दा विद्यार्थीसम्म पुग्न र सिकाउन सकिन्छ, त्यो गरांै । विद्यार्थीको ज्ञान बढाऊँ ।
४. वेबसाइट कक्षा सञ्चालन : सबैका लागि शिक्षा भन्ने नारा कार्यान्वयनका लागि शिक्षाको उज्यालोबाट कुनै पनि बालबालिकालाई वञ्चित हुन नदिन माथि प्रस्तुत विकल्पको अतिरिक्त वेबसाइटमार्फत पनि सरकारले अध्ययन–अध्यापन गराउन सक्छ । सोका लागि शिक्षा विभाग र शिक्षा मन्त्रालयमा विद्यालय शिक्षका लागि निर्धारित सबै कक्षाको पाठ्यपुस्तक, पाठ्यक्रम, अनलाइन तथा टिभी कक्षाको अडियो तथा विद्यालय शिक्षा उपयोगी अन्य सामग्रीहरू वेबसाइटमा राखी चाहेको बेला सबै विद्यार्थी तथा अभिभावकले हेर्न, पढ्न तथा डाउनलोड गर्न सक्ने व्यवस्था गर्नु जरुरी देखिन्छ । यस्तो सुविधा वेबसाइटमा उपलब्ध गराउँदा विद्यालय सञ्चालन भएपछि पनि शिक्षक, अविभावक तथा विद्यार्थी सबैका लागि निकै उपयोगी हुनेछ । वेबसाइट निर्माण र टेलिभिजन कक्षा सञ्चालन गर्दा ब्रेल लिपिबाट पनि कक्षा सञ्चालन गर्न भुल्न हुँदैन ।
शिक्षा मन्त्रालयले शिक्षाविद्हरूको विज्ञ समूह र आईटी विज्ञ समूह गठन गरी तत्कालै वैकल्पिक विद्यालय कक्षा सञ्चालन गरांै । विद्यार्थीसम्म पुग्न सम्भव सबै विकल्प उपयोग गरौं । अनलाइन, टिभी र रेडियोको माध्यमबाट शिक्षा प्रदान गर्दा लाखौ विद्यार्थी, अभिभावक प्रत्यक्ष लाभान्वित हुनेछन् । भविष्यमा पनि आइपर्ने संकट तथा व्याधिमा पनि विद्यालय सुचारु राख्न ठूलो सिकाइ हुनेछ । यस किसिमको सिकाइबाट मुुलुकले शिक्षाक्षेत्रमा गतिलो फड्को मार्न सक्ने देखिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies