
                  
काठमाडौँ : डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका रुपन्देहीमा सञ्चालित चार उद्योगले सोमबार प्रिमियम महसुलको बक्यौता तिरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगले पहिलो किस्ताबापतको रकम तिरेका हुन् ।
भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लास्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र प्लास्टिकले बक्यौताको पहिलो किस्ताबापतको रकम तिरेका प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । उनका अनुसार पहिलो किस्ता तिरेपछि उद्योगको विच्छेद गरिएको विद्युत् लाइन जडान गरिएको छ ।
ती उद्योगले विसं २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगबापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका कार्यकारी निर्देशक सिलवालले बताए । प्राधिकरणका अनुसार पञ्चकन्या प्लाष्टिकको रु. २४ लाख ६३ हजार, पञ्चकन्या स्टिलको रु. ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको रु. एक करोड ८३ लाख र श्याम प्लास्टिकको रु. ४९ लाख १० हजार बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी उद्योगले पहिलो किस्ता तिरेका छन् ।