२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

पदमार्ग गन्तव्यको पहिचान बनाउँदै थाहा नगरपालिका

ADV
राजकुमार के.सी.
२०८१ असार ११ गते १७:३८
पदमार्ग गन्तव्यको पहिचान बनाउँदै थाहा नगरपालिका

मकवानपुर : बेमौसमी तरकारी खेती र सुन्दर पर्यटकीय क्षेत्रका कारण छुट्टै परिचय बनाएको मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिका रमणीय, प्राकृतिक र सहासिक पदयात्रा गन्तव्यको रुपमा पनि परिचित हुन थालेको छ ।

संघीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी हेटौंडाको समदुरीमा रहेको थाहा नगरमा खुलेका विभिन्न पदमार्ग र ती पदमार्गहरुमा अउने पर्यटकहरुको संख्याले थाहा नगरलाई पर्यटकीय पदमार्ग गन्तव्यको छुट्टै पहिचान दिन थालेको हो ।

नेपालको पहिलो राजमार्ग त्रिभुवन राजपथ (बाइरोड)सँग जोडिएको थाहा नगरमा हालसम्म खुलेका ७ वटा पदमार्ग र त्यहाँ आउने पदयात्रीहरुका कारण थाहा नगर पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको स्थानीय युवा कृषक निरोज प्रधानले बताए ।

थाहा नगरको ७ वटै पर्यटकीय पदमार्गका परिकल्पना थाहा नगरका युवा फोटोपत्रकार गणेश विष्टले गरेका हुन् । पर्यटकीय क्षेत्रहरुमा घुम्न, विभिन्न धार्मिक, सांस्कृतिक, ऐतिहासिक, कृषि, रमणीय वातावरण र स्थानीय जीवनशैलीको फोटो खिचेर त्यसको प्रचारप्रसार गर्न सक्रिय विष्ट फुर्सद हुनेबित्तिकै थाहा नगरको विभिन्न स्थानको अध्ययन, अवलोकन र प्रवर्द्धनमा पुगिहाल्छन् । विष्टलाई स्थानीय युवा कृषक निरोज प्रधान, युवा व्यवसायी श्रीराम कार्की, युवाउद्यमी माधव कार्की, अनिता विष्ट, नरहरि पौडेलले भरपुर साथ दिएका छन् ।

थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्ट, उपप्रमुख भरत गोपाली, वडा नं. २ का अध्यक्ष बमबहादुर सिन्तान, ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी, ४ का अध्यक्ष नारायण तामाङ, ७ का अध्यक्ष शिवराज थिङ, ११ का अध्यक्ष दिनेश बललगायतका जनप्रतिनिधि र स्थानीयले पर्यटकहरुलाई गर्ने स्वागत सत्कारका कारण पनि पदयात्रीहरु थाहा नगरका पदमार्गहरुमा पदयात्रा गर्न उत्साहित भएको युवा उद्यमी माधव कार्कीले बताए ।

पछिल्ले समय गणेश विष्टलगायतका युवाहरुले परिकल्पना गरेको ‘टिष्टुङ–पालुङ’ पदमार्गमा काठमाडौं ह्याप्पी हाइकरका ३२ जना र स्थानीय ८ जना गरी ४० जना पदयात्रीको टोलीले पदयात्रा गरेको छ । करिब १७ किलोमिटर लामो पदयात्रामा प्राकृतिक मनोरमताका साथै गाउँले जीवनशैली बुझ्दै, रमाउँदै गाउँ, जंगल, पाखा, सिम, चौर छिचोल्दै अग्ला डाँडा उक्लँदै, ओर्लिंदै यात्रा गर्नु यो पदयात्रा रुटको प्रमुख विशेषता हो । 

पदयात्राका क्रममा भेटिने खुकुरी पार्क, खेल मैदान, मुस्कान झरना, नर्बेढुंगा, चिया बगान, दमार, कुईभिर, नाँगेचुली असाध्यै रमाइलो र अदभूत रमणीय क्षेत्रहरु हुन् । टिष्टुङबाट पालुङ निस्कने यो पदमार्गको ठाउँ-ठाउँमा भेटिने डाँडाकाँडाले प्रकृतिक भ्यूटावरको अनुभूति दिन्छ । 

यो रुटमा तामाङ जातिको बाहुल्यता रहेको छ । टिष्टुङको नर्बेचोकबाट शुरु हुने यात्रा भाँङखोरियामा पुगेर पालुङसँग भेट हुन्छ । सोल्टु हुँदै फाँटबजारको होमस्टे पुगेर स्थानीयपनको आभास पदयात्रीहरुले गर्न पाउँछन् । होमस्टेमा पुग्दा ‘टिष्टुङ–पालुङ’को पदयात्रा त सकिन्छ, तर ‘पालुङ–आग्रा’ पदमार्गको अर्को ढोका खुल्छ । फाँटबजारको यो होमस्टे क्षेत्र ‘पालुङ–आग्रा’ पदयात्राको बेसक्याम्प पनि हो । होमस्टेमा बास बसेर बिहान पालुङगढी, गोरखनाथ, पाण्डुकेश्वर, शंखमुल त्रिवेणीधामलगायत क्षेत्रको भ्रमण गर्न पनि सकिन्छ ।

पदयात्रामा अत्यन्तै रुची भएका ह्याप्पी हाइकरका टिम लिडर राजाराम फुयाँलले थाहा नगरका पदमार्गहरुमध्ये ‘टिष्टुङ–पालुङ’ पदमार्ग उत्कृष्ट भएको र पर्यटन प्रवर्द्धनका लागि यस रुटले भविष्य बोकेको बताए । गाउँले परिवेशमा मौसम अनुसारको फलफूल र कन्दमुल खाँदै यात्रा गर्दा आनन्दित तुल्याएको फुयाँलको प्रतिक्रिया छ । 

थाहा नगरका युवा फोटो पत्रकार गणेश विष्टले परिकल्पना गरेका पदमार्गहरुमा विभिन्न क्षेत्रहरुबाट दुई हजार बढी पर्यटकहरुले यात्रा गरिसकेका छन् । संघीय राजधानी काठमाडौंको भिडभाड र कोलाहलबाट मुक्त भइ थकान मेट्न र प्रदेश राजधानी हेटौंडालगायत तराई क्षेत्रका अत्यधिक गर्मीबाट शितलताको महशुश गर्नका लागि पनि थाहा नगरका पदमार्गहरु उपयुक्त गन्तव्य भएको पदयात्रीहरुले बताएका छन् । यस्ता पदमार्गलगायत पर्यटकीय क्षेत्रको विकासका लागि स्थानीय सरकारले विशेष योजनासहित व्यवस्थित र प्रवर्द्धन गर्नुपर्ने फोटो पत्रकार विष्टको सुझाव छ ।

ADVADV

सम्बन्धित खबर

Advertise