२०८१ माघ ३ गते बिहिवार / Jan 16 , 2025 , Thursday
२०८१ माघ ३ गते बिहिवार
Ads

वैदेशिक रोजगारीका बाध्यता

hardik ivf
२०८१ माघ ३ गते ०६:१०
वैदेशिक रोजगारीका बाध्यता

–ईश्वर बुढाथोकी

बेरोजगार व्यक्तिले अरू कुरा सोच्न सक्दैन । उसको बाध्यता नै रोजगारीको खोजी हुन जान्छ । नेपालको सन्दर्भमा अधिकांश युवाहरूका लागि वैदेशिक रोजगारी निर्विकल्प बनेको छ । विदेशिने कुरा बाध्यकारी विकल्प बनिरहेको छ ।

यदि स्वदेशमै पर्याप्त रोजगारीका अवसरहरूको सिर्जना हुन सकेको भए अवस्था त्यस्तो हुने थिएन । घरदेशमै रोजगारीको सम्भावना र भविष्य देखाउन नसक्नु राज्यको कमजोरी हो । 

तर, वैदेशिक रोजगार आफैंमा नराम्रो होइन । यस क्षेत्रमा देखापरेका जोखिम तथा चुनौतीलाई कम गर्दै अवसरहरूबाट बढी मात्रामा कसरी लाभ लिन सकिन्छ भन्ने विषयलाई सकारात्मक रूपमा लिइनुपर्छ । वैदेशिक रोजगारी नेपालीहरूका लागि आर्थिक समृद्धिको अवसर हो र यसबाट नेपालले मनग्य फाइदा लिन सक्नुपर्छ । यद्यपि, यसलाई दीर्घकालीन रूपमा बुझ्नु सही हुँदैन ।

नेपालीहरू विश्वका विभिन्न १११ मुलुकमा वैधानिक हिसाबले गएका छन् । कतिपय अन्य मुलुकमा पनि नेपालीहरू रोजगारी खोज्दै गएका छन् । नेपालले अधिकांश मुलुकसँग श्रम सम्झौता गर्न सकेको छैन, जसका कारण रोजगारीमा गएका नेपाली श्रमिक जोखिममा पर्ने गरेका छन् ।

वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष २०६५÷०६६ पछिको यो अवधिमा वैदेशिक रोजगारीका क्रममा १४ हजार २१३ जनाको मृत्यु भएको छ भने ३ हजार ४४० जना श्रमिक बिरामी तथा अंगभंग भएर फर्किएका छन् । विदेशमा अलपत्र परेका श्रमिकको समस्याको सुनुवाइपछि सम्बोधन गर्दै तिनलाई जोखिमपूर्ण अवस्थाबाट मुक्त गर्न राज्यकै जबाफदेहिताको खाँचो हुन्छ । 

एकातिर भाषा र सीपको व्यवस्था नहुँदा अधिकांश युवा वैदेशिक रोजगारीमा ठगिने गरेका छन् भने अर्कातिर राज्यले श्रम सम्झौता नगर्दा समस्या बनेको छ । कम्तीमा पनि आफू काम गर्न जाने देशका बारेमा अध्ययन गर्ने र त्यहाँको भाषा जान्ने विषय निकै नै महत्त्वपूर्ण हुन्छ । सँगै, सीप सिक्नु त निकै नै आवश्यक कुरा हो ।

सरकारले नीतिगत रूपमा उल्लेखित विषयलाई सम्बोधन गर्न खोजेको छ तर व्यवहारगत रूपमा सम्बोधन गर्न सकेको छैन । यसका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरू जोखिममा छन् । समस्यामा परिरहेका छन् ।

आज हामीले भन्नै पर्छ, मुलुकको अर्थतन्त्र चलाउने आधार नै रेमिट्यान्स हो । यसले आर्थिक संकट टार्न ठूलो सहयोग गरेको छ । तर, रेमिट्यान्सको आर्थिक प्रवाहले सिर्जना गरेको नवसम्पन्नता दिगो रहन भने सक्दैन ।

नेपालीहरू सधैं रोजगारीका लागि विदेश जान पाइरहन्छन् भन्ने कुनै सुनिश्चितता छैन । कथं कदाचित् भोलि विदेश जाने प्रक्रियामा पूर्ण बिराम लाग्यो भने नयाँ खालका असन्तुष्टि र तनाव बढ्न सक्छन् । त्यसैले रेमिट्यान्सबाट प्राप्त रकम सकेसम्म बढी उत्पादनशील क्षेत्रमा प्रयोग गर्नु जरुरी छ ।

रेमिट्यान्सले थेगेको अर्थतन्त्र दीर्घकालीन हुँदैन । विश्वमा कहीँ पनि रेमिट्यान्सबाट समृद्धि प्राप्त गरेको उदाहरण छैन । यो तत्कालीन राहतको विषय हो । यसबाट उच्च लाभ लिन सक्नु मुलुकको हितमा हुन्छ ।

आज ८० प्रतिशत कृषिमा आधारित भनिने हाम्रो अर्थतन्त्रमा अहिले झण्डै ५६ प्रतिशत घरधुरीले रेमिट्यान्स प्राप्त गर्न थालेका छन् । हाम्रो कृषिप्रधान अर्थतन्त्र अहिले रेमिट्यान्सप्रधान बन्दै गएको छ ।

आत्मनिर्भर अर्थतन्त्र निर्माणको दिशा र गतिलाई रेमिट्यान्सको प्रवाहले बिथोलेको छ । स्वदेशको विकासमा समर्पित हुनुपर्ने युवा जनशक्ति बिदेसिन बाध्य छ । यो स्थिति देशको निम्ति चिन्ताको विषय हुनुपर्छ ।

यसमा मूल दोष शासन प्रणाली चलाउने शासकहरूकै थाप्लोमा जान्छ भने अंशतः दोष हामी जनताको पनि छ । हामीले नै अहिलेको शासन प्रणाली र शासकहरू रोजेका हौं । विश्वका विकसित देशको आर्थिक विकास त्यसै भएको होइन । काम गर्न खोज्नेलाई राज्यले काम उपलब्ध गराउनुपर्छ । काम गरेर नै देश विकास हुने हो । श्रम गर्नेलाई राज्यले उत्साह र प्रोत्साहन दिनुपर्छ ।

ADVADV

सम्बन्धित खबर

Advertise