–अनिता कोइराला
नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ हलमा छु । युवराज नयाँघरेको ‘आगोको बीउ’ कृतिको विमोचन कार्यक्रम छ । पाठकीय प्रतिक्रिया लिएर बसेकी छु, अग्रजहरूको निकट । प्रमुख अतिथि हुनुहुन्छ, बरिष्ठ निबन्धकार, आख्यानकार, मदन पुरस्कार विजेता कृष्ण धरावासी ।
मुटु ढक्क फुलेको छ । उहाँसँगै बसेकी छु, एउटै मञ्चमा । घाँटी शुष्क भएको छ । हातमा चिसो पसिना आएको छ । समीपमा हुनुहुन्छ, लोकप्रिय समालोचक ज्ञानु अधिकारी, जसले मलाई हात समातेर, भरोसा दिएर किताबको पाठकीय प्रतिक्रिया दिनका लागि घरबाट बाहिर ल्याउनुभयो । मलाई विश्वास गरेर बोल्न लगाउनुभयो, आफ्नै कृतिमाथि । मप्रति विश्वासको पुल गाँसेर मलाई मेरो क्षमतासँग परिचित गराइदिनुभयो । हिजो भर्खर हो मैले बोलेको । उहाँले नै मलाई यहाँसम्म तानेर ल्याउनुभएको हो । मनमा यस्तै कुराहरूको मदानी घुम्दो छ ।
सभा हल भरिएको छ । देख्दै छु अग्रजहरूलाई । धरावासी सरलाई हेर्छु, पुलुक्क । उहाँका धेरैजसो पुस्तक पढेर साहित्यको कखरा सिक्दै छु म । आज उहाँसँग नजिक हुन पाउँदा हर्षित भएकी छु । छक्क परेकी छु, समयको यो संयोग देखेर । रातो खादाले म पनि उहाँहरू जसरी नै रंगिएकी छु । पठन, अध्ययन र लेखनको फराकिलो मार्गलाई बुझ्दै छु अनि साहित्य संसारलाई नमन गर्दै छु ।
निबन्धकार, समालोचक कुमारी लामा, कवि भारती न्यौपाने र कार्यक्रम संचालक हेम भण्डारी हुनुहुन्छ, नयाँघरेको ‘आगोको बीउ’ खोतल्ने अभियानमा । बोल्ने पालो मेरै अगाडि आउँछ ।
उभिन्छु ड्यासमा गएर । ‘आगोको बीउ’भित्र प्रवेश गर्छु । आमा भन्नुहुन्थ्यो, ‘नानी एक सरो रोटी कहिल्यै पाक्दैन, एक हातले ताली कदापि बज्दैन ।’ आमा ठीक भन्नुहुन्थ्यो । तर, म अहिले साहित्यको त्यो उर्वर सांग्रिलामा उभिएकी छु, जहाँ सम्भावनाको मूल निरन्तर फुट्छ । यहाँ असम्भव केही छैन । एकसरो रोटी, एक हातको ताली मात्र होइन, उज्यालो औंसी पनि देखिन्छ यहाँबाट ।
२०६५ सालमा ‘नयाँघरेको एक हातको ताली’ यसरी गुञ्जियो कि मदन पुरस्कारले सम्मान ग¥यो । यस्ता दिग्गज निबन्(धकारको कृतिमा आफ्नो पाठकीय प्रतिक्रिया भन्नुपर्दा थोरै दकस पनि लागेको छ । नेपाली साहित्यमा नयाँघरेका कलमको मसी निकै अर्थपूर्ण छ । नयाँघरेद्वार लिखित पुस्तकहरूको सूची लामो छ । उनले प्राप्त गरेका पुरस्कारहरू पनि दर्जनौं छन् । ‘आगोको बीउ’ उनको १९औं कृति हो ।
नयाँघरेका निबन्धहरू निजात्मक अनुभवमा आधारित छन् । आफूले देखेको ठाउँ, घटना, विषयवस्तु र भूगोलले जब हृदय छुन्छ, तब लेख्छन् पाठकलाई मोहित पार्ने निबन्ध नयाँघरे । सिर्जनशील निबन्धकार प्रकृतिप्रेमी छन् । प्रकृतिलाई नै ज्ञानको स्रोत मान्छन् । माटोसँग अगाध स्नेह राख्छन् । भुइँ मान्छेका कुरामा उनको रुझान देखिन्छ । त्यसैले उनको लेखनी माटो सुहाउँदो छ । जीवन्त छ । समसामयिक छन्, विषयहरू ।
अनुकरणीय र पठनीय हुन्छन्, उनका भाषा र भाव । सरलतामा विराटता, विविधतामा एकता नयाँघरेको विशेषता नै रहेछ । सुशब्दका शिल्पी नयाँघरे, गौंथलीले झैं सुन्दर गुँड निर्माण गर्छन् वाक्यहरूको । कालीगढलेझैं शब्दलाई जोखेर, तौलिएर, बडो मिहीन पाराले काँटछाँट गरेर वाक्यमा टाँस्छन् । त्यसैले निबन्(धमा प्रयोग भएका वाक्यहरू पढ्दा बडो आनन्द लाग्छ । अर्थपूर्ण छोटो छरितो वाक्यले हृदयलाई छुन्छ । हरेक निबन्धमा गहिरो सन्देश सम्प्रेषित भएको छ । प्रत्यक्ष कथनभन्दा परोक्ष कथनमा रमण गर्छन् नयाँघरे ।
यी निबन्धमा आफ्नै घर आँगनका विषयलाई टपक्क टिपेर, माटो सुहाउँदो बिम्बको जादूमा दर्शन, विचार, समाज, सम्बन्ध र सत्तालाई प्राथमिकतामा ल्याएका छन् । समयको आवाज बोल्छन् नयाँघरे ।
नवीनतम् कृति ‘आगोको बीउ ।’ कति आकर्षक छ शीर्षक नै । बडो कौतूकमय छ शीर्षक । विविध अर्थलाई सम्बोधन गर्छ ‘आगोको बीउ’ले । कोही मान्छे घरमा आएर तुरुन्तै फर्किन लाग्यो भने आमा भन्नुहुन्थ्यो, ‘के आगो लिन आएको जस्तो गरेको ?’ केटाकेटी उमेरमै बुझेकी थिएँ, कसैको घरमा गएर हतारमै फर्किए आगोको बीउ लिन गएजस्तै हुने रहेछ ।
आखिर नयाँघरेको ‘आगोको बीउ’ कुन सन्देश लिएर आएको छ ? अहिलेको पुस्तालाई थाहा छैन, आगोको बीउको प्राकृतिक विशेषता । मेरो पुस्तालाई थाहा छ, कुनै समय अँगेनामा खरानीले छोपेर राख्नुपथ्र्यो आगोको बीउ । धुपौरो लिएर गाउँ नै हिँड्थ्यो आगोको बीउ खोज्न । गाउँमा सलाई उपलब्ध थिएन । सलाई पनि आगोको बीउ हो । आगोको बीउले भात पनि पाक्छ । डडेलो पनि लाग्छ ।
आगो प्रतीक हो विद्रोहको । आगो प्रतीक हो ज्ञानको । नेपाली साहित्य जगत्का वरिष्ठ नियात्राकार, निबन्धकार नयाँघरेले २६ वटा निबन्धहरूको संग्रहमा बिम्बका रूपमा ‘आगोको बीउ’ भर्खरै सार्वजनिक गरेका छन् । मौलिक बिम्बमा जीवन दर्शन भेट्छन् नयाँघरे । आफ्नै घर आँगनमा ज्ञानको मार्ग भेट्छन् । अनि, उत्साही भएर गाउँले परिवेशमा उभिएरै दार्शनिक निबन्ध लेख्छन् । आफ्नै आँगनसँग पाठकलाई पुनः परिचित गराउन सफल छन् उनी ।
पुस्तक सार्वजनिक हुनुभन्दा केही दिन अगाडि नयाँघरेले ‘आगोको बीउ’ लिन मलाई पनि पुतलीसडक बोलाउनुभयो । साथमा कवि भारती न्यौपानेलाई पनि आमन्त्रित गर्नुभएको रहेछ । जिम्मेवारी पाएका छौं, स्थापित साहित्यकारको पुस्तक विमोचनमा पाठकीय प्रतिक्रिया दिनका लागि । हामीले स्वीका¥यौं उहाँको प्रस्ताव । दुवै जना जाने भयौँ पुलतीसडक ।
खुसी भएका छौं, गम्भीर जिम्मेवारी पाएर । हामीप्रतिको विश्वास ऊर्जा भएको छ हामीलाई । अक्करमा रमाउने स्रष्टाको निबन्धहरू छिचोल्नु छ घरमा आएर । समय निकै कम छ । साइत जु¥यो, दिउँसो ३ बजेपछि भेट्ने । मलाई सहज भएन त्यो समय । अनि, अनुरोध गरेँ भारती दिदीलाई, ‘दिदी, मलाई त ३ बजे आउन सहज भएन । मलाई त नैकापबाटै पुस्तक लिन सहज हुन्छ । म नैकापबाटै किताब लिन्छु नि हुन्न ?’
मेरो मनको कुरा कवि दिदीले नबुझ्ने कुरै भएन । निर्धारित समयमा पुगेँ नैकाप चोक । कहिल्यै उक्लिएकी थिइनँ, नैकाप चोकमाथिको चौतारामा । ठीक १० बजे पुगेकी छु । नयाँघरे पनि टुप्लुक्क आइपुग्नुभयो, समयमै । उज्यालो मुहार अझ पनि उस्तै प्रशन्न छ । हस्ताक्षरसहित उहाँले ‘आगोको बीउ’ दिनुभयो । हामीलाई पुनः आगोको बीउ नै लिनु थियो अर्थात् हतारहतार हिँड्यौं आ–आफ्नो गन्तव्यतिर ।
किताब अक्षरशः पढेँ । छोटो मीठो वाक्य लोभलाग्दो छ । गहन शब्द अनि छनोट कलापूर्ण छ । भावको गहिराइ वजनदार छ । बडो बौद्धिक छ लेखनी । वैचारिक र दार्शनिक छन् निबन्धहरू । अप्रकट भाव, सन्देश र भाषा बिम्बित छन् । कथानकको आँगनमा विचारका बिस्कुन छन् ।
समाज, देश राज्य र प्रशासनको फितलोपन चिच्याएको छ । स्वार्थले गाँजेको सत्ता छ । छन् बग्रेल्ती अगस्तिका पेट लिएर बसेका शासकहरू । भ्रष्टचारका अनेकौं दुला देखिएका छन् यत्रतत्र । अदृश्य छन् नेपाली समाजका विशृंखलित नीति, नियम, कानुन र प्रशासन । बदलिँदा छन् समाज, सम्बन्ध, संस्कार र संस्कृति ।
राजनीतिले डोजर लगाएका सम्भावनाका पहाडहरू बग्रेल्ती छन् । सुशासन मृतप्रायः छ । अराजकता उत्कर्षमा छ । अव्यवस्थामा अभ्यस्त हुँदै छन् समाज, सत्ता र सरकार । नागरिक अभ्यस्त छन् बेथितिमा बाँच्न । दाउमा छ देश । संकटमा छ देश । धमिलो छ राजनीति ।
नयाँघरे आक्रान्त हुन्छन्, छातीमा देश दुःखेर । नयाँघरे यसरी पिरोलिन्छन्, ‘म यतिखेर देशमा हरेक जडता र तरलतामा धमिलिएको वातावरणले आक्रान्त छु, आकुलव्याकुल छु, आहत छु (पृष्ठ : १५२) ।’ मस्तिष्क चलाएर प्रदूषित पारिँदै छ देशको अंगअंग । शालीन विद्रोह गर्छन् नयाँघरे । सस्तो नारा छैन कुनै निबन्धमा तर विचारको बुलेट चलाएका छन् नयाँघरेले ।
चाल्दैचाल्दै जीवनको धुलो सकिन्छ व्यर्थको प्राप्तिमा । समयले चालेर सफा पारिदिएको जीवनमा मिसाउँछ मान्छे आफ्नै हातले बियाँ र ढुंगा । पिल्सिन्छ मान्छे आफ्नै आन्तरिक कुनिउँलाई व्यवस्थाप गर्न नसक्दा । रङको अलमलमा हराउँछ मान्छे दिनदिनै । भोगका लागि बौलाउँछ मान्छे । देख्दैन रगतको युद्ध ।
बिँडो थाम्ने हतारमा छन् पुस्ता । जिम्मेवारी रुचाउन्नन् आजका मान्छे । जताततै अथकित छ थुक । प्रशासन थुक्छ सडकमा । विश्वविद्यालय थुक्छ ऊर्जावान् काँधमा । समय चिन्तन छ नयाँघरेका निबन्धहरूमा । अग्ला आलिशानमा उज्यालो चम्किँदा दृष्टिभ्रम छ अल्गाइमा । रुमल्लिएको छ मानव उचाइमा । जब प्रकृतिले फेदमा खँदार्छिन्, तब आलिशान अन्धकारमा छट्पटाउँछ । पालमा बल्छ बत्ती । जमिनमा उभिन बिर्सिएकाहरू निर्माण गर्छन् छुट्टै भूगोल आलिशानमा । प्रकृतिले समानताको पाठ घोकाउँदा पनि विवेक निदाएको छ आलिशानमा । घटना प्रधान भएर आएका छन् कति निबन्धहरू ।
महाव्याधिले जीवनबोध सिकाएको छ । देशभित्र बसेर झिँगाको थोप्ले बिष्टा गन्न आह्वान गरेको छ समयले । मानवीय संवेदना बामपुड्के भएका बेला काउलीका बोट र पात अग्लिएका छन् काउलीबारीमा । आर्यघाटमा जीवन र मृत्युको मसिनो डोरी देखेर पनि दौडन्छ मान्छे आगोको बीउ लिन । असिनाको भाग(बन्डाले देश थिलथिलो भएको छ । बालिकाहरू बटुल्दै छन् आफ्नै पिताको आँगनमा असिनाको भाग ।
निबन्धकार भन्छन् , ‘असिना– परिवर्तनको एउटा नमुना हो । असिना– रूप र सारको एउटा संयोग हो । असिना– रूपान्तरणको एउटा प्रमाण हो । असिना– विजयको एउटा आधार हो (पृष्ठ : १६१) ।’ नयाँघरेलाई असिना र देश उस्तै लाग्छ र भन्छन्, ‘एउटै हबिगतमा छ अहिले मेरो देश (पृष्ठ : १६६) ।’
आमाको मस्तिष्कमा टम्म अटाएको बुबाको ठूलो गोजी देख्छु म निबन्धमा । आमाको अवसानपछि बाबुको गोजीमा साँघुरिएको छ संसार । बुबाको गोजीले समयको कोर्रा खाएपछि सबैको संसार एउटा सानो ग्याजेटमा अटाएको छ ।
निबन्धकारको मन रोएको छ देशको वास्तविक ऐना देखेर । विशृंखलित समय बोलेको छ नयाँघरेका निबन्धमा । गिलिपित्ती भएको राजनीतिले आकुलव्याकुल पारेको छ निबन्धकारलाई । खुट्टामा ठेला उठाएर यात्रा गर्ने नियात्राकारले मस्तिष्कमा ठेला उठाएर लेखेका छन् ‘आगोको बीउ ।’ त्यसैले नयाँघरेको लेखनीले तरंग ल्याउँछ पाठकको मस्तिष्कमा । आफ्नै माटोमा फर्काउँछन् नयाँघरे बिम्बको कोलाज समेट्न छनोट । यो कलापूर्ण निबन्धहरूले प्रत्येक पाठकको हृदय अवश्य छुन्छ ।