अर्घाखाँची : छत्रदेव गाउँपालिका अर्घाखाँचीले ग्रामीण अल्ट्रासाउन्ड सेवा सञ्चालन गरेपछि गर्भवती महिलालाई निकै सहज भएको छ । चर्को शुल्क तिरेर अल्ट्रासाउन्ड गराउनु सन्धिखर्क जिल्ला अस्पताल धाउनुुपर्ने झन्झट हटेर गएपछि स्थानीय खुसी भएका छन् ।
गर्भवतीलाई चार वर्षअघिदेखि निरन्तर गाउँपालिका अन्तर्गत वडा कार्यालयमा रहने स्वास्थ्य चौकीमै निःशुल्क रुपमा अल्ट्रासाउन्ड सेवा प्रदान गर्दै आएको छ । स्थानीय तह लागू भएदेखि ठूलापोखरा स्वास्थ्य चौकी, छत्रगन्ज स्वास्थ्य चौकी, केरुङ्गा स्वास्थ्य चौकी, बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र चिदिका स्वास्थ्य चौकी, दुन्दुर्क स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी पुगेर अल्ट्रासाउन्ड सेवा प्रदान गरिएको र थप सेवा गाउँमा पुगेर दिन थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले जानकारी दिए ।
स्वास्थ्य शाखाका प्रमुख बुद्धिराम न्यौपानेले भने, ‘यसअघि बल्कोट प्राथमिक स्वास्थ केन्द्रमा सेवा विस्तार गरेका थियौं । यस वर्षदेखि आधारभूत सबै स्वास्थ्य संस्थामार्फत सेवा दिएपछि अब गाउँमा पुगेर सेवा दिन सुरु गरेका छौं । कार्यक्रम निकै प्रभावकारी छ ।’
न्यौपानेका अनुसार सेवा सञ्चालनका लागि स्वास्थ्य संस्थामा रहेका नर्सिङ कर्मचारीलाई आधारभूत तालिमसँगै पुनःताजगी तालिम दिइ दक्ष बनाइएकोले भिडियो ऐक्सरे गर्न सहज भएको छ ।
अल्ट्रासाउन्ड सेवा दुर्गम ग्रामीण क्षेत्रसम्म पुर्याएर मातृ शिशुको मृत्युदरलाई शून्यमा झार्न मद्दत पुगेको शाखा प्रमुख न्यौपानेको भनाइ छ । ‘गर्भमा रहेको शिशुको अवस्थाबारे अल्ट्रासाउन्डका माध्यमबाट सहजै पत्ता लाग्ने गर्दछ’, उनले भने,‘जोखिमा रहेको गर्भबारे गर्भवती आमासँगै अभिभावकलाई समयमै जानकारी गराइने भएकाले आमा र शिशुको ज्यान जोगउन सकिन्छ, विगतमा गर्भमा रहेको शिशुको अवस्था पत्ता नलाग्दा आमा र शिशुको ज्यान जाने गरेको थियो ।’ अल्ट्रासाउन्ड सेवा सञ्चालनले गर्भवती आमालाई निकै सहयोग पुर्याएकाले अल्ट्रासाउन्डको माध्यमबाट गर्भमा रहेको शिशुको अवस्था, तौल, गर्भको हप्ता, शिशुको वृद्धि विकास, प्लासेन्टको पोजिसन कस्तो छ ?, त्यो हेर्न सकिने न्यौपानेले दावी गरे ।
‘अल्ट्रासाउन्डका माध्यमबाट गर्भको जोखिमको पहिचान हुन्छ’, उनले भने,‘बच्चा गर्भाशयमा खेल्ने नखेल्नेबारे जानकारी हुन्छ, ‘एम्नियोटिक’ तरल पदार्थ कति छ भनेर हेर्न सकिन्छ, शिशुको मुटुको धड्कनबारे जानकारी हुन्छ ।’
अल्ट्रासाउन्ड सेवा दुर्गम ग्रामीण क्षेत्रदेखि सुगमका बजार क्षेत्रसम्मका गर्भवतीसम्म पुगेकाले महिलाले यही सेवाका लागि अर्घाखाँची अस्पताल खर्चनुपर्ने ठूलो धनराशी जोगिएको गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ बताउँछन् । ‘एक पटक अल्ट्रासाउन्ड गराउँदा निजी क्षेत्रका अस्पतालहरुले एक हजार छ सयसम्म शुल्क लिने गरेका छन्, पटक–पटक जाँच गराउनुपर्ने भएकाले निकै रकम खर्च हुन्छ’ छत्रदेव ६ का कल्पना पाण्डेले भनिन्, ‘टाढाका अस्पतालमा यातायातका साधन चढेर पुग्नुपर्ने हुन्छ, त्यसको खर्च थप हुन्छ, खर्चसँगै अस्पतालहरुमा पालो कुर्नुपर्ने हुन्छ ।’ गाउँपालिकाको सेवाले महिला दिदीबहिनी हर्षित भएको उनले तर्क गरिन् ।
अल्ट्रासाउन्ड सेवा ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरुमा निःशल्क उपलब्ध हुन थालेपछि गर्भवतीले अर्घाखाँची अस्पताल खर्चनुपर्ने रकम जोगिएको पाण्डेको भनाइ छ । ‘पालो कुर्नुपर्ने अवस्था पनि छैन, यातायातका साधन खाज्दै हिँड्नु पनि परेको छैन, घरदैलोमै सेवा पाउदा हामीलाई छत्रदेवबासीलाई निकै सहज भएको छ ।’
अल्ट्रासाउन्ड सेवा निकै प्रभावकारी देखिएकाले स्वास्थ्य शाखाले गाउँपालिकाका ८ वटै वडामा सेवा पुर्याउने लक्ष्य राखेको छ । त्यसका लागि गाउँपालिकाले गाउँसभाबाट बजेट विनियोजन गरी कार्यक्रमलाई निरन्तरता दिने तयारीमा छ ।