
उदयपुर : उदयपुरमा प्रहरीले अवैध रूपमा लगाइएको २६ हजार ७७० बोट गाँजा फडानी गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को मंसिर ९ गतेसम्मको विवरणअनुसार जिल्लाका विभिन्न स्थानमा गरिएको अभियानबाट उक्त परिमाणमा गाँजा नष्ट गरिएको हो ।
कटारी, बेलका, लिम्चुङबुङ र ताप्लीका विभिन्न क्षेत्रमा स्थानीयले लगाएको गाँजा खेती प्रहरीले फडानी गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक गणेश बमले जानकारी दिए ।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय कटारीको संयुक्त टोलीले कटारी नगरपालिका–८ का मर्जेपुर, बलौटे, टाटरी र सेउरिनीलगायत स्थानबाट १० हजार ६०० बोट गाँजा नष्ट गरेको छ। सोही वडाको टाटरीमा इलाका प्रहरी कार्यालय कटारीले थप १ हजार ५०० बोट गाँजा फडानी गरेको जनाएको छ ।
त्यस्तै, इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थायी प्रहरी पोस्ट मैनामैनीको संयुक्त टोलीले बेलका नगरपालिका–७ का पावला र तिलितलेबाट ६ हजार ३०० बोट गाँजा नष्ट गरेको छ ।
लिम्चुङबुङ गाउँपालिकाका विभिन्न स्थानबाट इलाका प्रहरी कार्यालय लिम्चुङबुङले १ हजार ९५० बोट गाँजा फडानी गरेको छ। गाउँपालिका–२ को जिमिगाउँ, बाराहा–३ र ४ का माझगाउँ तथा बलम्तालगायत स्थानमा लगाइएको गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ ।
ताप्ली गाउँपालिकाको मादले, पिपलभञ्ज्याङ, कटहरे, दंगले, निगालवास र शिखरपुरलगायत स्थानबाट प्रहरी चौकी स्पाटार र रामपुरझिल्केले क्रमशः ६२५ र १२५ बोट गाँजा नष्ट गरेका छन् ।
यसैगरी, प्रहरी चौकी सोरुङछविसेले कटारी नगरपालिका–९ को कालिखोलाबाट २० बोट गाँजा फडानी गरेको छ । अस्थायी प्रहरी पोस्ट मैनामैनीले बेलका नगरपालिका–७ का खमारे, पित्लास र केक्रालगायत स्थानबाट ३ हजार १५० बोट गाँजा नष्ट गरेको छ ।
अस्थायी प्रहरी पोस्ट बेतिनीले कटारी नगरपालिका–८ का भण्टाबारी, आहाले र मरुवाखानीबाट २ हजार ५०० बोट गाँजा फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालयको विवरणमा उल्लेख छ ।
अवैध गाँजा खेती नियन्त्रण गर्ने अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानमा प्रहरी टोली परिचालन गरी खेती फडानी तथा नष्ट गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।