
काठमाडौं : नेपाली सेनामा सुबेदार रहेकी ४२ वर्षीया ईश्वरी भुजेल आफ्नै श्रीमान् कुमार थापाबाट २२ जेठ २०८३ मा मारिइन् । काठमाडौं जिल्ला प्रहरी कार्यालयका अनुसार करिब दुई दशकअघि भुजेल र थापाले प्रेम विवाह गरेका थिए । १९ वर्ष सँगै रहेका उनीहरूका बीचमा सम्बन्ध लामो समयसम्म राम्रै थियो ।
कुमार टिकटकमा ‘नेपाली ब्रो’ बनेर चर्चित भए । टिकटकबाटै कुमार थापाको प्रतीक्षा आचार्यसँग चिनजान र प्रेम भयो । त्यसपछि घरमा झगडा सुरु भयो । कुरा अदालतसम्म पुग्यो । वैवाहिक करणी र सम्बन्धविच्छेदको मुद्दा चल्यो । ईश्वरीले श्रीमान्विरुद्ध पाँचपटकसम्म प्रहरीमा उजुरी गरेकी थिइन् । एकपटक त छोरालाई लिएर बालाजु प्रहरी वृत्तमै गएकी थिइन् । तर हरेकपटक घरको कुरा घरमै मिलाउनुस् भनेर फर्काइयो ।
२२ जेठ २०८३ मा ड्युटी सकेर घर फर्किंदै गर्दा, घरनजिकैको बाटोमै कुमारले पछाडिबाट ईश्वरीलाई समातेर धारिलो चक्कुले घाँटी रेटेर बीभत्स हत्या गरे । ईश्वरीले घर पुग्नै लाग्दा ज्यान गुमाइन् । देशको रक्षा गर्ने सेनामा रहेकी उनले आफ्नै रक्षा गर्न सकिनन् । उनले पटकपटक ‘मलाई बचाउनुस्’ भन्दा पनि राज्यले सुनेन ।
गत कात्तिक २५ गते भाइटीकाको दिन चितवन भरतपुर महानगरपालिका ४ त्रिचोकमा बस्दै आएका ३० वर्षीय श्रीमान् सुमन राना मगर र उनका श्रीमान् ३२ वर्षीया सपना राना मगरको सामान्य घरायसी विवाद भयो । विवाद बढ्दै गएपछि सुमनले श्रीमतीको टाउकोमा फलामको रड प्रहार गरे । श्रीमती सपनाको घटनास्थल आफ्नै डेरामै ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यस्तै, मोरङको केराबारी गाउँपालिका– ७, दाहाल चोकनजिक शान्तिमार्ग टोलका ५० वर्षीय उत्तमकुमार लिम्बूले ४८ वर्षीया श्रीमती सञ्चमाया राई (लिम्बू)को मृत्यु भएको भन्दै उनले गत ८ असोजमा आफन्तलाई खबर गरे । मृत्यु स्वाभाविक भएको बताएपछि सामाजिक रीतिअनुसार उनको दाहसंस्कार गरे । किरियाकर्म पनि सके ।
त्यसलगत्तै उनले दोस्रो विवाह गरे । तर पोस्टमार्टम रिपोर्टले मृत्यु स्वाभाविक नभएको खुलाएपछि लिम्बू २४ दिनपछि श्रीमती हत्या आरोपमा पक्राउ परे ।
इलाका प्रहरी बेलबारीका अनुसार उत्तमलाई १ मंसिरमा पक्राउ गरेर कर्तव्य ज्यान आरोपमा अनुसन्धान अगाडि बढाएको छ । सोहीक्रममा क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शव परीक्षणका रिपोर्ट आयो । रिपोर्टमा मृत्युको कारण ‘कज अफ इन्जुरी’ अर्थात् घाँटी थिचेर भएको हुन सक्ने भनिएको थियो । त्यसपछि इलाका प्रहरी बेलबारीले अर्कैकी श्रीमती ल्याएर घरजम सुरु गरेका उत्तमकुमारलाई श्रीमतीको हत्या आरोपमा घरबाटै पक्राउ गरेको छ ।
आफन्तै बैरी !
तारकेश्वरकी ईश्वरी, सिन्धुलीकी सानुकुमारी र गौरीघाटकी विमला तीनैजनाको हत्या घर वा घरनजिकै भयो । हत्या गर्ने व्यक्ति पनि बाहिरको कोही होइन, आफ्नै श्रीमान् थिए ।
महिला अधिकारकर्मी मोहना अन्सारीले न्यायमा महिलाको पहुँच अझै नपुगेको बताउँछिन् । घरयासी घटना भनेर पन्छिने प्रवृत्तिले घरेलु हिंसा र अपराधको घटना घटाइरहेको उनलाई लाग्दछ ।
‘न्यायको लागि महिलाले कानुनी बाटो रोजे पनि न्याय पाउन सहज छैन,’ अन्सारीले भनिन्, ‘प्रहरीले पीडितलाई सुरक्षा दिन सक्दैन्, सकेसम्म मिलाउन खोजिन्छ, सामान्य हो घर गए मिल भन्नेजस्ता असंदेनशील सुझाव दिएर अनि महिलाको ज्यानसमेत जाने गरेको छ ।’
उनका नजरमा जब पीडित महिला न्यायका लागि कानुनी बाटोमा जान्छिन् तब उनी परिवार र समाजबाट एक्लो हुन्छिन् । अन्सारी थप्छिन्, ‘यस्तो अवस्थामा पीडा निराकरण हुँदै्न, झनै पीडकको मनोबल बढ्छ ।’
जब पीडित महिलाले आफू हिंसामा परेको कुरा बाहिर ल्याउँछिन्, यस्तोमा पटक–पटक मानसिक यातना दिएर दबाउन खोज्ने र त्यसो हुन नसके एउटा चरणमा हत्यासम्म पुग्ने उनको भनाइ छ । उनी दोहो¥याउँछिन्, ‘न्यायीक प्रक्रिया सधैं ओझेलमा पर्छ ।’
समाजशास्त्री डा. मीना पौडेल शक्ति असन्तुलनका कारण समाजमा अपराध हुने बताउँछिन् । अझै पनि पुरुषपधान समाज रहेको र पुरुष नै हावी हुने गरेको उल्लेख गर्दै उनी भन्छिन्, ‘अधिकांश महिलाहरूको अधिकार र न्याय माग्दा माग्दै ज्यान जाने गरेको छ । सरकारले अधिकार त दियो तर संरक्षण दिन सकेन ।’
नेपाल प्रहरीको पछिल्लो पाँच आर्थिक वर्षको प्रदेशगत तथ्यांकले अपराधको कुल संख्या घटबढ भइरहे पनि जबर्जस्ती करणी र मानव बेचबिखनजस्ता गम्भीर अपराधको जोखिम कायमै रहेको देखाएको छ ।
प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा जबर्जस्ती करणीका २ हजार २५३ घटना अभिलेख भएका थिए । आर्थिक वर्ष २०८२/८३ को उपलब्ध तथ्यांकमा यो संख्या २ हजार ३८० पुगेको छ । अघिल्लो वर्षको तुलनामा १२७ घटना अर्थात् करिब ५.६ प्रतिशत वृद्धि हो ।
त्यस्तै, मानव बेचबिखन तथा ओसारपसारका घटना पनि उल्लेख्य रूपमा बढेका छन् । आर्थिक वर्ष २०८१/८२ मा १५१ घटना अभिलेख भएकामा २०८२/८३ को तथ्यांकमा २१४ पुगेको छ । यो करिब ४१.७ प्रतिशत वृद्धि हो ।
तर तथ्यांकको अर्को पाटो अझ रोचक छ । घरेलु हिंसासम्बन्धी उजुरी भने अघिल्लो वर्षको तुलनामा घटेका छन् । आर्थिक वर्ष २०८१/८२ मा १७ हजार ४८२ घरेलु हिंसाका उजुरी दर्ता भएकामा २०८२/८३ को उपलब्ध तथ्यांकमा १४ हजार ८९३ छन् । अर्थात् २ हजार ५८९ ले कमी आएको छ ।
यद्यपि उजुरी घट्दैमा घरेलु हिंसा घटेको निष्कर्ष निकाल्न मिल्दैन । उजुरी गर्ने पहुँच, सामाजिक दबाब, आर्थिक निर्भरता र पारिवारिक प्रतिष्ठाका कारण धेरै घटना बाहिर नआएको हुन सक्ने पक्षलाई पनि विश्लेषण गर्न आवश्यक छ ।
३ वर्षमा १६९ महिलाले घरभित्रै ज्यान गुमाए
नेपाल प्रहरीको पछिल्लो तीन आर्थिक वर्षको तथ्यांकले तीन वर्षमा १६९ महिलाले घरभित्रै ज्यान गुमाएको देखाउँछ ।
नेपाल प्रहरीले मध्यान्हलाई उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा घरेलु हिंसाका कारण भएको कर्तव्य ज्यानका ८० जना महिलाले ज्यान गुमाएका छन् ।
त्यस्तै आर्थिक वर्ष २०८१/८२ मा यो संख्या घटेर ३८ मा झ¥यो तर त्यसपछिको आर्थिक वर्ष २०८२/८३ मा बढेर हिंसाका कारण ज्यान गुमाउनेको महिलाको सख्या ५१ पुगेको छ ।
प्रहरीले यसअघि घरेलु हिंसाको मात्रै तथ्यांक राख्ने गरेको थियो । हत्या पनि बढ्न थालेपछि प्रहरीले ‘घरेलु हिंसाका कारण भएको कर्तव्य ज्यान’ शीर्षक राखेर छुट्टै तथ्यांक राख्न थालेको छ । घरेलु हिंसाका कारण भएको कर्तव्य ज्यानका घटनाको संख्या मात्रै होइन, प्रहरीमा पुग्ने उजुरीको चापले पनि समस्या कति व्यापक छ भन्ने देखाउँछ ।
आर्थिक वर्ष २०८०/८१ मा घरेलु हिंसाका १६ हजार ४१६ उजुरी दर्ता भएका थिए । २०८१/८२ मा यो संख्या बढेर १७ हजार ४८२ पुग्यो । २०८२/८३ मा भने घटेर १४ हजार ८९३ मा दर्ता भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यसरी तीन आर्थिक वर्षमा मात्रै घरेलु हिंसाका ४८ हजार ७९१ उजुरी प्रहरीसम्म पुगेका छन् । यो दैनिक औसतमा करिब ४५ वटा उजुरी हो ।
नेपाल प्रहरीका प्रवक्ता अविनारायाण काफले घरेलु हिंसापछि कर्तव्य ज्यान हुनुमा मुख्य कारण पारिवारिक असमझदारी, आर्थिक अभाव, बेरोजगारी गरिबी र अत्याधिक मादकपदार्थ सेवन भएको बताउँछन् ।
‘घरेलुहिंसालाई धेरैजसो पारिवारिक झगडा, पति–पत्नीबीचको विवाद वा घरभित्रको निजी विषयका रूपमा बुझ्ने प्रवृत्ति अझै छ,’ उनले भने । नउजका नजरमा यस्तै प्रवृत्तिले पछिल्लो समय ठुला घटना निम्त्याएका हुन् । आर्थिक निर्भरता, सामाजिक प्रतिष्ठा, बालबालिकाको भविष्य, पारिवारिक दबाब र सम्बन्ध टुट्ने डरले कतिपय पीडित भने हिंसा सहेर बस्न बाध्य भइराखेको हुन सक्ने उनी बताउँछन् ।
सतर्क रेखा
समाजका कतिपय प्रतिष्ठित व्यक्तिसमेत महिला हिंसासँग सम्बन्धित घटनाबाट त्रसित रहेको बताउँछन् । नायिका रेखा थापा, जो आफैंमा फिल्मस्टार र राजनीतिकर्मी पनि हुन् ।
त्यसबाहेक उनी आमा पनि हुन् । कुनै समय छोरीहरूलाई समाजसँग लड्न–भिड्नका लागि प्रोत्साहन थर्ने थापा हिजोआज यही समाजसँग डर लाग्ने बताउँछिन् ।
मध्यान्हसँग उनले भनिन्, ‘कुनै प्लेटर्फममा आएका महिलाहरू कसैलाई राम्रो लाग्दासम्म मात्र राम्रो हो, राम्रो लाग्न छाड्यो भने व्यक्तिलाई होइन, छोरीहरूलाई ट्रोल बनाइन्छन् । जो मैले नै मेरा सहकर्मीहरूको देखेको छु ।’
रेखा फिल्म र राजनीतिसँगै उनी सामाजिक कार्यमा सक्रिय छिन् । छोरी वैभवी राज्यलक्ष्मी शाहीलाई पनि आफैंसँग लग्छिन् । तर छोरीको फोटो सार्वजनिक गर्न कसैलाई पनि अनुमति दिएकी छैनन् । कतिपय सेलेब्रेटीहरूले छोरीहरूलाई फिल्म, विज्ञापन आदिमा प्रयोग गरेर राम्रो आम्दानी गरेका छन् । तर रेखाको यो विषयमा फरक मत छ ।
छोरीको गोपनीयता र बालअधिकारलाई प्राथमिकता दिँदै उनको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक नगर्ने अडान लिएकी छन् । ‘समाज असंवेदनशील बन्दै गएको छ, मेरो विचार, व्यवहारप्रति कसैलाई असहमति होला, तर मसँग बहस गरिँदैन, मेरो छोरीलाई प्रयोग गरेर ट्रोल बनाउन सक्छन्, त्यसप्रति म सचेत छु,’ उनी भन्छिन्, ‘थाहा छैन कहिलेसम्म त्यस्तो समाजसँग जोगाउन सक्छु ।’
उनले छोरी जवान भएपछि मात्रै उनको तस्बिर सार्वजनिक गर्ने बताएकी छिन् । आफ्नो अनुमति र हस्ताक्षरबिना कसैले पनि छोरीको तस्बिर सामाजिक सञ्जालमा राख्न नपाउने उनको स्पष्ट भनाइ छ ।
रेखा भन्छिन्, ‘मेरो छोरी ठुली भएपछि, अनुमतिबिना मेरो फोटो किन सामाजिक सञ्जालमा हालिदिएको भनेर सोधी भने मैले के जवाफ दिने ? त्यसैले छोरी जवान भएपछि मात्रै उसको फोटो देखाउँछु, अहिले उसको बालअधिकार हनन हुन्छ ।’
अहिलेबाट छोरीलाई सेलेब्रिटी बनाउन आवश्यक नभएको उनी बताउँछिन् । छोरीले भविष्यमा आफ्नो निर्णयमाथि प्रश्न उठाउनुपर्ने अवस्था नआओस् र उनको व्यक्तिगत गोपनीयता सुरक्षित रहोस् भन्ने उद्देश्यले आफूले यस्तो निर्णय लिएको रेखाको भनाइ छ । अर्थात्, उनी सतर्क छिन् ।